
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको विभिन्न मानपदवी तथा पदकहरू विवादमा परेको छ । उनले वितरण गरेको तक्मा पदकको बीच भागमा रहेको नेपालको नक्सामा सुदूरपश्चिम प्रदेशमा रहेको लिपुलेक,लिम्पियाधुरा समेटिएको भूभाग सहितको चुच्चे नक्सा गायव भएपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ । २०७६ साल भदौमा सरकारले ४ सय ५२ मानपदवीसहित ६ सय ३३ जनालाई गरेको विभूषण सिफारिसका आधारमा राष्ट्रपतिले गरेको पदक वितरणमा त्रुटी भएको हो ।
कतिपयले सो पदक फिर्ता गर्ने घोषणा समेत गरेका छन् । पत्रकार महासंघकी पूर्व सचिव समेत रहेकी पत्रकार लक्ष्मी पुनले नेपालको भूभाग गायव गरेर पदकमा नक्सा छापिएकोमा आपत्ति जनाउँदै आइतबार गृहमन्त्रालय गएर पदक फिर्ता गर्ने घोषणा गरेकी छिन् ।

