
दाङमा वैशाख १७ गतेदेखि ९ दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ। प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा घोराहीमा मंगलबार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले वैशाख १७ गते बिहानदेखि २५ गते बेलुका ६ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
जिल्लामा कोरोना भाइरसको संक्रमन तीव्र गतिमा बढ्दै गएपछि नियन्त्रण र रोकथाम गर्नका लागि ९ दिन निषेधाज्ञा घोषणा गरिएको हो।
यो निषेधाज्ञाका क्रममा बिहान ७ बजेदेखि ८ बजेसम्म खाद्यान्न पसल सञ्चालन गर्न पाइने भएको छ।
बैठकले तुलसीपुर र घोराही उपमहनगरपालिकामा अक्सिजनसहितको ४०/४० बेडको आइसोलेसन र जिल्लाका अन्य ८ वटा पालिकाहरूमा २०/२० बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन निर्माण गर्ने निर्णय गरेको छ।
बैठकले बेलझुण्डी कोरोना विशेष अस्पतालाई ६५ बेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १०० बेडको बनाउने निर्णय पनि गरेको छ।
निषेधाज्ञाका क्रममा एम्बुलेन्स, प्रेस, सुरक्षा लगायत अत्यावश्यक सवारीसाधनबाहेक अन्य साधन सञ्चालन गर्न नपाइने भएको छ।
बैठकले बेलझुण्डी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूलाई खाना खुवाउन आवश्यक पर्ने रकम तुलसीपुर र घोराही उपमहानगरपालिकाले समान डेढ/डेढ लाख, बंगलाचुली, बबई, शान्तिनगर र दंगिशरण गाउँपालिकाबाट समान एक/एक लाख रकम दिने निर्णय पनि गरेको छ ।

