
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत ३ गते केन्द्रीय सदस्यहरुका लागि चियापान कार्यक्रम आयोजना गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रम राखिएको हो।
चैत ७ गते बस्ने १२ औं केन्द्रीय कमिटीको बैठकको सन्दर्भमा चियापान कार्यक्रम आयोजना गरिएको हो। ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले एसएमएसमार्फत सो कार्यक्रममा उपस्थित हुन निम्तो पठाएको नेपाल पक्षका एक केन्द्रीय सदस्यले जानकारी दिए।
यसअघि १० औं र ११ औं बैठक नेपाल पक्षलाई थाहै नदिई राखेका ओलीले १२ औं बैठकमा भने सो पक्षलाई उपस्थित हुन खवर गरेका छन्। अघिल्ला बैठकका निर्णयलाई नै आधार बनाएर १२ औं बैठक आयोजना गरिको ती सदस्यले बताए।
‘१० औं र ११ औं बैठक नै अवैधानिक हो, हामीलाई थाहै नदिई बसेको बैठकलाई आधार बनाएर यो बैठक बसाउन खोजिएको छ’ नेपाल पक्षका ती केन्द्रीय सदस्यले भने ‘पार्टी मिलाउन वा अनौपचारिक छलफल गर्नका लागि भन्दा पनि आफूले गरेको अवैधानिक कामलाई नै मान्यता दिलाउन कोसिस गरिएको छ, हामी त्यसलाई स्वीकार गर्न सक्दैनौं।’

