उर्लाबारी घटनाः मेहरमान दर्जीलाई थुनामा राख्न आदेश

  • १३ फाल्गुन २०७७, बिहीबार १८:५७ मा प्रकाशित
  • काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बाँस्तोलाको हत्या आरोपमा उपस्थित गराइएका दुईजना मध्ये एकजनालाई अदालतले थुनामा पठाएको छ ।  बिहिबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो । जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले अर्का आरोपी कुमार राईलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । कुमार स्थानीय सौरभी होटलका सञ्चालक हुन् ।  ईलाका प्रहरी कार्यालय उर्लाबारीले प्रवीणको हत्या आरोपमा स्थानीय सौरभी होटल सञ्चालक कुमार राई र रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई पक्रेर अदालतमा उपस्थित गराएको थियो । सौरभी होटलका सञ्चालक कुमार उर्लाबारी–७ का स्थानीय हुन् । पुस ४ मा साथीहरुसँग मदिरा सेवन गरेका प्रवीण बिहान अचेत अवस्थामा भेटिएका थिए ।  उर्लाबारी–७ का रमेश गिरीको घरमा  साथीको डेरामा अचेत अवस्था भएपछि उनलाई स्थानिय गोदावरी अस्पालमा पुर्याइयो । पुस ५ मा बिहान डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । घटनामा संलग्न ६ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । तर, जिल्ला सरकारी वकिल कार्यालयको निर्देशनमा उनीहरु छुटे । मृतकका आफन्तले आरोपीलाई छाडेको विरोधमा आन्दोलन गरेपछि सरकारी वकिल कार्यालय मोरङले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको थियो । घटनामा संलग्न अन्य चारजनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर उद्धव पोखरेलले रातोपाटीलाई बताए । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रविणको ‘निसास्सिएर मृत्यु’ भएको पोष्टमार्टम रिपोर्ट दिएको छ । भिसेरा परीक्षणबाट विष खुवाएको अथवा खाएको पुष्टि भएको छैन । 

    मृत्यु भएको दिन प्रविण आफ्ना साथी सुदिप परियार, मेहरमान दर्जी र दिलिप पौडेलको डेरामा सुतेका थिए । पुस ४ मा राती उनीहरुसँग ३१ वर्षीय राजेश रणपहेली पनि सँगै थिए । उनीहरु एउटै कोठामा सुतेका र प्रविन अचेत भएपछि एम्बुलेन्समा अस्पताल लगेको बताइएको छ । 

    जिल्ला सरकारी वकिल कार्यालय मोरङका प्रमुख मनोजककुमार आचार्यले घटनामा संलग्न ६ जना विरुद्ध मुद्दा दर्ता गरेको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने–‘जन्म कैदको मागदावी लिएका छौं ।’ 

    फोटो फेरेको देखिएन एसपी खड्का

    पीडित परिवारले इलाका प्रहरीका कार्यालय उर्लाबारीका इन्सपेक्टर उद्धव पोखरेलले मृतकको फोटो परिवर्तन गरेको आरोप लगाएका छन् ।  तर, प्रारम्भिक छानबिनबाट फोटो फेरेको नदेखिएको मोरङका एसपी सन्तोष खड्काले बताए । 

    जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राई सहितका ३ जनाको छानविन समितिले सो घटना अनुसन्धान गर्नेहरूमाथि छानविन गरिरहेको छ ।  ‘प्रारम्भिक छानबिनबाट फोटो परिवर्तन गरेको देखिएन’ एसपी खड्काले रातोपाटीसँग भने– ‘अनुसन्धानमा ढिलाई किन भयो भनेर समितिले छानविन गरिरहेको छ ।’

    सक्कल फाईल सरकारी वकिल कहाँ पठाउनुपर्ने हुनाले मृतकका परिवारले दाबी गरेजस्तो प्रवीण बाँस्तोलाको नाम र तस्बिर मिसिलमा तोडमोड गरेको नदेखिएको खड्काको दाबी छ ।  ल्याव रिपोर्ट र पोष्टमार्टम रिपोर्टका आधारमा अनुसन्धान केही ढिला भएको हुनसक्ने खड्काले बताए । 

    Leave a Reply