• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: राष्ट्रिय टोपी दिवस

राष्ट्रिय टोपी दिवस विशेष झिल्का लेखन शृङ्खला सम्पन्न 

  • १८ पुष २०८०, बुधबार ०८:५९ मा प्रकाशित
  • राष्ट्रिय टोपी दिवसको अवसरमा झिल्का लेखन विशेष शृङ्खला गत सोमवार  सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा आयोजित उक्त कार्यक्रममा नेपाल, भारत, भुटान लगायत विश्वभरका लगभग ५ दर्जन साहित्यप्रेमी झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    पछिल्लो समय लामा लामा विधाले भन्दा छोटा छोटा अर्थात् लघुतम विधाहरूले सर्जक एवम् पाठकहरूको ध्यान आकृष्ट गर्ने गरेको पाइन्छ । तदनुरूप थुप्रै नवीनतम विधाहरू उम्रने, बढ्ने र फस्टाउने क्रम चलिरहेको छ । तिनै नवीनतम विधाहरूमध्ये झिल्का (नौ शब्दको कविता) पनि  एक हो । 

    झिल्का नेपाली माटोमा उम्रिएको, अर्थपूर्ण संरचनायुक्त सरल, लघुतम एक मौलिक नवीनतम काव्य विधा हो। जुन तीन हरफमा लेख्ने गरिन्छ । यसका प्रत्येक हरफमा तीन तीन शब्दहरू रहेका हुन्छन् । तसर्थ यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    यसका तीन हरफहरू मध्ये पहिलो र  तेस्रो हरफहरूको अन्तमा तुक (अनुप्रास) अनिवार्य गरिएको छ । यसमा शब्दानुप्रास र एकाक्षरी तुकान्त पनि स्वीकार गर्ने गरिन्छ । तर अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । यसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रोले समर्थन गर्दै विस्तार र तेस्रोले भावलाई उत्कर्षमा पुर्‍याउँदै समापन गर्दछ । यी तीनवटै हरफमा परस्पर प्रगाढ सम्बन्ध हुनुपर्छ ।

    झिल्का लेखन अभ्यास शृङ्खला- २ (राष्ट्रिय टोपी दिवस विशेष)

    #सङ्कलन/सम्पादन/संयोजन- वसन्त अनुभव 

    ~~~~~~~~~~~~~~~~~~

    [१]

    १)

    संसारको विचित्र देश

    पाल्पाली ढाका टोपी

    संस्कृति नेपाली परिवेश !

    ✍️

    साहित्य प्रेमी सलिन 

    ~~~~~~~~~~~~~~~~~~

    [२]

    १)

    मनको स्वच्छ भावना

    जहाँ छौ नेपाली 

    टाेपी दिवसको शुभकामना !

    २)

    लगाऔंं ढाका टाेपी

    नेपालीको हुन्छ पहिचान 

    शिरलाई हल्का छाेपी !

    ३)

    टाेपी दिवस मनाउने 

    भानुभक्तको देश नेपाल 

    बिर्के टाेपी लगाउने !

    ✍️

    राज कुमार राजभण्डारी “खाेटाङ्गे”

    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।

          २०८०पुस१६

    ~~~~~~~~~~~~~~~~~~

    [३]

    १)

    हाम्रो टोपीको शान

    राखौँ है सबैले

    मिलेर यसको मान !

    २)

    टोपी दिवस मनाउने

    विदेशमा पनि हाम्रो

    चलन टोपी लगाउने !

    ३)

    नेपालीको हो चिनारी

    राख्ने हो सबैले

    ढाका टोपी स्याहारी !

    ✍️

    नीमा छिरिङ भोटिया

    जलढका कालेबुङ

           भारत

    ~~~~~~~~~~~~~~~~~~

    [४]

    १)

    दिवस ढाका टोपी

    लगाउँन हिचकिचाहट नगरौँ

    बचाउॅंछ निधार छोपी !

    २)

    नेपाली हुँ भन्ने

    टोपीको वास्ता नगरी

    कसले होला गन्ने ?

    ३)

    गरौँ यसको सामना

    जहाँ बस्छौँ नेपाली

    टोपी दिवसको शुभकामना !

    ✍️

    अर्जुन प्रसाद चौलागाई

    रामेछापः-सुनापति-१

    हालः-अमेरिका,बोस्टन।

    ~~~~~~~~~~~~~~~~~~

    [५]

    १)

    राष्ट्रिय ढाका टोपी

    नेपाली मौलिक संस्कृति 

    लगाउँछौ शिर छोपी !

    ✍️

    हरिनारायण चौधरी 

    ~~~~~~~~~~~~~~~~~~

    [६]

    १)

    टोपी हो सान

    नेपालीको यो पहिचान

    शिरको शोभा जान !

    २)

    टोपी लगाऊ हजुर

    शरीर मन्दिर हो

    टोपी हो गजुर !

    ३)

    शिरमा टोपी राम्रो 

    हामी गौरव गरौँ

    भनौँ टोपी हाम्रो ।

    ✍️

    बिके माकजू , भक्तपुर ।

    ~~~~~~~~~~~~~~~~~~

    [७]

    १)

    टोपी हाम्रो पहिचान 

    केवल एकदिन लगाउँदैमा

    कहाँ जोगिन्छ सान ?

    ✍️

    जि.बि.चिन्तन 

    ~~~~~~~~~~~~~~~~~~

    [८]

    १)

    शिरमा मेरो टोपी

    गौरवको सुन्दर चिनो

    राख्छु शिर छोपी ।

    २) 

    नेपालीको ढाका टोपी

    वीरताको शान बोकी

    एकताको बाटो छोपी ।

    ३) 

    हिमाली शिर टोपीमा

    ताकेर बोकी हिँडेको

    युद्धको देश खोपीमा ।

    ✍️

    इन्दिरा देवकोटा 

    कपिलनस्तु न पा ३

    ~~~~~~~~~~~~~~~~~~

    [९]

    १)

    पट्याएको टोपी झिकियो

    आज टोपी दिवस

    यसरी शिरमा सजियो ।

    २)

    आज टोपी दिवस

    ठाँउ अनुसार लगाऔँ

    बाँझै टाउको नबस ।

    ३)

    टोपीले शिर ढाकेर

    तिमी आऊ प्रियतम 

    दुई चुल्ठो बाटेर ।

    ✍️

    धुर्व श्रेष्ठ 

    टोपी दिवस विशेष झिल्का कविता लेखन अभ्यास:-

    ~~~~~~~~~~~~~~~~~~

    [१०]

    १)

    शिरको हाम्रो टोपी

    विश्वमा छ नामी

    लगाऔँ शिर छोपी ।

    २)

    सभ्यताको प्रतिक हाम्रो

    विश्वमै कहीँ नभएको

    टोपी कति राम्रो ।

    ३)

    नेपालीको हो पहिचान

    संसारमै यो अनौठो

    राख्छ यसले सम्मान ।

    ✍️

    राजेशराज गड्तौला

    कॅाडाघारी, काठमाण्डौ

    ~~~~~~~~~~~~~~~~~~

    [११]

    १)

    टोपी शिखर सगरमाथा 

    विश्वमा सान हाम्रो 

    इतिहास नेपालीको गाथा ।

    २)

    टोपीले चिनाउँछ नेपाललाई 

    मेची अनि महाकाली 

    हिमाल पहाड तराई ।

    ३)

    नरूनु आँखा छोपी

    सङ्घर्षमय यो जीवन 

    शिरमा ढाका टोपी ।

    ✍️

    शरद प्रधानाङ्ग, विराटनगर – ७

    ~~~~~~~~~~~~~~~~~~

    [१२]

    १)

    शिरमा ढाकाको टोपी 

    सगरमाथाझैँ टक्क उभिएको

    विश्वमा नेपाल खोपी ।

    २)

    मनको स्वभाव बोकेर

    नेपालको शिर उचाइमा

    लाओस् टोपी देखेर ।

    ✍️

    एवाइ प्रभात

    सहिदभुमि -३,छेन्ताङ धनकुटा

    ~~~~~~~~~~~~~~~~~~

    [१३]

    १)

    ढाका टोपीको गरिमा

    नेपालीको गौरव सान,

    पहिचान हाम्रो विश्वभरिमा !

    ✍️

    सुर्य रेग्मी 

    ~~~~~~~~~~~~~~~~~~

    [१४]

    १)

    शिरमा टोपी लगाएका

    संसारमा छुट्टै नेपाली

    आफ्नो पहिचान झल्काएका !

    २)

    पृथक नेपाली टोपी

    कसैसँग जुध्दैन झन्

    जनको शिर छोपी !

    ३)

    नेपाल नेपालीको प्रतीक

    हाम्रो देशको चिनारी

    प्यारो छ अधिक !

    ✍️

    पृथक प्रकृति,झापा

    ~~~~~~~~~~~~~~~~~~

    [१५]

    १)

    टाउकोमा टोपी  छेकेर

    नेपाली रहेछ भन्छन् 

    विश्वका मान्छेले देखेर ।

    २)

    टोपीलाई नगरौँ हेला

    हराउँला राष्ट्रिय पहिचान

    पराइले दुःख देला ।

    ३)

    टोपी हो सगरमाथा 

    पर्यटन हेर्न आउँछन्

    नेपाली गौरव गाथा ।

    ✍️

    होम प्रसाद नेउपाने

    धरान,सुनसरी

    ~~~~~~~~~~~~~~~~~~

    [१६]

    १)

    नेपाली ढाका टोपी

    हर पुरुषको माथमा

    सजिन्छन् अहिले खोपी ।

    २)

    टोपी सगरमाथा शिर

    देशको बढ्ने सम्मान

    कहलिन्छन् आवाजमा वीर ।

    ३)

    टोपी पहिरिने पर्व

    चिनो सारा नेपालीको

    नि:शर्त, हर्ष, गर्व।

    ✍️

    म्यामराज राई, भोजपुर

    ~~~~~~~~~~~~~~~~~~

    [१७]

    १)

    शिरको  सान  हाम्रो

    नेपालीको खास पहिचान

    ढाका   टोपी  राम्रो ।

    २)

     कहिल्यै  शिखर झुकेन,

    शिर नझुकोस् हाम्रो,

    टोपी  पुर्खाका  रुकेन ।

    ३)

    पहाडी हाम्रो  देश 

    शिरको रक्षा टोपी

    भूगोल  सुहाउँदो भेश ।

    ✍️

    मनोहरी पौडेल

    गैडाकोट १

    २०८०/९/१६

    ~~~~~~~~~~~~~~~~~~

    [१८]

    १)

    जातीयता सुरक्षित राख्छ

    पहिचान छ यसैमा

     टोपीले देश ढाक्छ ।

    २)

    उच्च तिम्रो शिर 

    झुक्नु नजान्ने सान

    गोर्खाली हामी वीर ।

    ३)

    शिरमै रहोस् जहिले

    टोपीको सम्मान उच्च 

    भुइँमा नझरोस् कहिले।

    ✍️

    बि.कुलुङ

    दार्जिलिङ रंगबुल

    ~~~~~~~~~~~~~~~~~~

    [१९]

    १)

    शिरमा ढल्केकाे टाेपी

    सगरमाथाभन्दा अग्लाे छ

    हिँडाैँ शिर छाेपी ।

    ✍️

    सन्दीप विश्वकर्मा 

    प्यूठान (हाल:पाल्पा)

    ~~~~~~~~~~~~~~~~~~

    [२०]

    १)

     गौरव गर्छु टोपी 

    जहाँ पुगुँ म,

    राख्छु दिलमा खोपी ।

    २)

    झुक्न दिन्न कहिल्यै

    पराइ सामु शिर, 

    उच्च राख्छु जहिल्यै ।

    ३)

    सगरमाथाझैँ छ अटल

    चिनिन्छ गोर्खाली विश्वमा

    सच्चा वीर असल !

    ✍️

    पुष्पा राई, खाेटाङ।

    ~~~~~~~~~~~~~~~~~~

    [२१]

    १)

    शिरको सान बनोस्

    संस्कृति हाम्रो जोगाउने

    टोपी पहिचान बनोस् ।

    २)

    नेपालीलाई  चिनाउने टोपी

    दिवस् एकदिने  नहोस्

    हरदिन लगाऔँ शिर छोपी ।

    ३)

    सामाजिक  सद्भाव  झल्किन्छ 

    सारा नेपालीको  शिरमा

    सगरमाथा  जस्तै  टल्किन्छ।

    ✍️

    कला ढकाल

    झापा दमक

    ~~~~~~~~~~~~~~~~~~

    [२२]

    १)

    सर्लक्क शिर छोपी

    बाह्रमास दिवस छ

    जसले लाउँछ टोपी ।

    २)

    शिरको शोभा भन्नु

    शिरपोस निसान हाम्रो

    टाकुरो जत्तिकै बन्नु ।

    ३)

    जनवरी एक पनि

    शुभकामना व्यक्त गरेँ

    टोपी दिवस भनी ।

    ✍️ 

    कृष्णकुमार वैद्य 

    बनेपा ९, काभ्रे

    ~~~~~~~~~~~~~~~~~~

    [२३]

    १)

    बच्चो किन रुवाएको

    लगाउँन ढाका टोपी

    कति राम्रो सुहाएको ।

    २)

    चिटिक्क परेको कति

    राष्ट्रिय पोसाक नेपालीलाई

    टोपीले सुहायो अति ।

    ३)

    सगरमाथा शिर हाम्रो 

    नेपालीले लगाउने गरेको

    भादगाउँले ढाका राम्रो ।

    ✍️

    भगवती दवाडी

    दमक,झापा

    ~~~~~~~~~~~~~~~~~~

    [२४]

    १)

    पहिचान सबैले जान

    विश्वको सामु चिनाउने

    ढाकाको टोपी सान !

    २)

    सबैले बुझेर भन

    शिरमा शोभा टोपी

    मेरो नेपाली मन !

    ३)

    हातले बुनेर कर्म 

    शिरको राखेर मान 

    मिली जोगाऊ धर्म !

    ✍️

    आर्त अकुलीन

    ~~~~~~~~~~~~~~~~~~

    [२५]

    १)

    देशको पोसाक नभुल,

    ढाकाको टोपी सान

    विदेसी पोसाकमा नझुल ।

    २)

    विश्वमा बनाउँ पहिचान,

    सबै देशवासी मिलेर

    आजैबाट गरौँ उठान ।

    ✍️

    सुरेशकुमार पाण्डे 

    दाङ घोराही १८

    ~~~~~~~~~~~~~~~~~~

    [२६]

    १)

    सगरमाथाझैँ छ सान

    विश्व सामु झल्किन्छ

    टोपी  हाम्रो पहिचान l

    २)

    संस्कार छ  वजनदार

    इज्जत साथ लगाइन्छ 

    दुवै हातले  बारबार l

    ३)

    सम्मान गरौँ अधिक

    शत्रु  सामु  नझुकोस् 

    संस्कृतिको यो प्रतीक  l

    ✍️

    बाबुराम गौतम, गुल्मी

    ~~~~~~~~~~~~~~~~~~

    [२७]

    १)

    हाम्रो ढाका टाेपी

    आफ्नो पहिचान राख्न 

    लगाओैँ शिर छाेपी ।

    २)

    नेपालीले लगाओैँ टाेपी

    देशको माया गराैँ

    आफ्नै दिल खाेपी ।

    ३)

    पाेसाक नेपालीको सान

    आफ्नो भेषकाे आफैँले 

    राख्ने   गराैँ   मान ।

    ✍️

    रामप्रसाद पुरी

    बादेल, खाेटाङ

    ~~~~~~~~~~~~~~~~~~

    [२८]

    १)

    प्रलोभनमा कतै बिकेर

    नाप्दिनँ आफ्नो उचाइ

    शिरको टोपी झिकेर ।

    २)

    टोपी हाम्रो शान

    लगाइरहे सदा शिरमा 

    बढाइरहन्छ आफ्नाे मान ।

    ३)

    नेपाली हामी मिलेर

    लगाऔँ टोपी शानले

    विकृति सबै निलेर ।

    ✍️

    त्रिलोचन भण्डारी 

    मेचीनगर,झापा

    ~~~~~~~~~~~~~~~~~~

    [२९]

    १)

    टोपी देशको सान

    लगाउँ शिर छोपेर 

    राख्छ त्यसले मान !

     २)

    सुरक्षित राख्छ शिर

    देशको पहिचान टोपी 

    गोर्खाली नेपाली वीर !

    ३)

    दाजुभाइ हेर शिर

    सुहाउँने टोपी चट्ट

    चिनारी नेपाली वीर !

    ✍️

    शोभा आचार्य गौतम 

    काठमाडौँ

    ~~~~~~~~~~~~~~~~~~

    [३०]

    १)

    नेपाली शिरमा टोपी 

    अटल हिमाल जस्तै 

    राखौँ स्वाभिमान रोपी । 

    २)

    यात्रा परिवर्तन हुँदैमा

    नहराओस् हाम्रो संस्कृति 

    विदेशी भूमि छुँदैमा । 

    ३)

    शिरमा टोपी लाउँछौ

    पहिचान बोकी राष्ट्रको 

    विश्वमा नेपाली छाउँछौ। 

    ✍️

    सुस्मिता अधिकारी

    काठमाडौँ

    ~~~~~~~~~~~~~~~~~~

    [३१]

    १)

    नेपालीको इज्जत सान 

    शिरमा ढाका टोपी 

    लाउँदा बढ्छ स्वाभिमान ।

    २)

    जोगाऔँ राष्ट्रिय पोसाक 

    नगरौँ कसैले पनि 

    यस्ता कुरामा मजाक ।

    ३)

    लगाई टोपी शिरमा

    देशको पोसाक लगाऔँ

    सबैले आफ्नो शरीरमा ।

      ✍️

    बाबुराम पाण्डे 

    अर्घाखाँची

    ~~~~~~~~~~~~~~~~~~

    [३२]

    १)

    चट्ट माथलाई छोपी

    लगाउँदा कति सुहाउँला

    शिरमा ढाका टोपी !

    २)

    नेपाली हुनुको अभिमान

    शिरमा भादगाउँले टोपी

    आत्मगौरव  अनि सान !

    ३)

    फैलाई आम जागृति

    लगाऔँ शिरमा टोपी

    जोगाऔँ हाम्रो संस्कृति !

    ✍️

    वसन्त अनुभव

    घोराही, दाङ

    २०८०/९/१६, राष्ट्रिय टोपी दिवस

    ~~~~~~~~~~~~~~~~~~

    [३३]

    १)

    आकाश टोपीले छुनेछ 

    सारा नेपालीले गौरव

    संस्कार बलियो हुनेछ ।

    २)

    संस्कृति मास्न पाइन्न

    नेपाली माटोमा हुर्केर

    पश्चिमी भाषा चाहिन्न ।

    ३)

    टोपीले शोभा बढायो

    शिरमा राखेर सुहायो

    दिवस मनाउन खटायो ।

    ✍️

    अम्बिका अधिकारी

    झापा बिर्तामोड

    ~~~~~~~~~~~~~~~~~~

    [३४]

    १)

    विश्वमा टोपीको पहिचान

    राष्ट्रिय पोसाक लगाऔँ

    नेपालीको अन्तराष्ट्रिय स्वाभिमान ।

    २)

    ढाका टोपीको शान

    नेपाली चिनाउने काम

    टोपी दिवसको मान ।

    ३)

    विश्वमै प्रख्यात टोपी

    राष्ट्रियता हाम्रो पहिचान

    लगाऔँ शिर छोपी ।

    ✍️

    चुडामणी देबकोटा 

    चनपा १३ काठमाडौ

    ~~~~~~~~~~~~~~~~~~

    [३५]

    १)

    कालो कपाल छोपी

    कति सुहाएको हेर

    लगाएको ढाका टोपी।

    २)

    नेपालको गौरव मान

    विश्व चिनाउने यही

    हो भनेर  जान ।

    ३)

    मूल नारा बोकेर 

    चिनाउने गर्नु नेपाल 

    सधैंँ सलाम ठोकेर ।

    ✍️

    अनुग्रह राना मगर ‘पुष्प’

    पाँचखपन नपा – ६ संखुवासभा ।

    ~~~~~~~~~~~~~~~~~~

    [३६]

    १)

    शिरमा टोपी रत्तिभर पनि नलजाई

    लगाऔँ टोपी सबैले

    बढाउँछ हाम्रो उचाइ ।

    २)

    टोपी जातिको शान

    गराउँछ यसले विश्वमा 

    हाम्रो राष्ट्रियताको पहिचान ।

    ३)

    मर्दको शिरको गहना

    मान सम्मान बढाउने 

    टोपी दिवसको शुभकामना !

    ✍️

    बिके मुखिया

    दार्जिलिङ,भारत

    ~~~~~~~~~~~~~~~~~~

    [३७]

    १)

    चिरिच्याट्ट देखिने टोपीमा

    आजकल छु म,

    यस्तै हेन्डसमको खोजीमा !

    २)

    नगिरोस्   नेपाली   सान

    सगरमाथा शिखरझैँ देखिने,

    भादगाउँले टोपीको मान !

    ३)

    सत्यता लुकाई लुक्दैन

    कट्ला बरू टाउको,

    तर कहिल्यै झुक्दैन !

    ✍️

    Lumbini Sahitya Pratisthan

    ~~~~~~~~~~~~~~~~~~

    [३८]

    १)

    बच्चो किन रुवाएको

    लगाउन ढाका टोपी

    कति राम्रो सुहाएको ।

    २)

    चिटिक्क परेको कति

    राष्ट्रिय पोसाक नेपालीलाई

    टोपीले सुहायो अति ।

    ३)

    सगरमाथा शिर हाम्रो 

    नेपालीले लगाउने गरेको

    भादगाउँले ढाका राम्रो ।

    ✍️

    भगवती दवाडी

    दमक,झापा

    ~~~~~~~~~~~~~~~~~~

    [३९]

    १)

    शिरमा टाेपी धरेर

    हामी गर्व गर्दछौँ

    वीर नेपाली भनेर ।

    ✍️

    प्रद्युम्न चालिसे 

    ~~~~~~~~~~~~~~~~~~

    [४०]

    १)

    शिरमा लगाउँ टोपी 

    नेपाली पोसाक देखाउँदै 

    सद्भाव सबैमा रोपी !

    ✍️

    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )

    कनकाई ४ झापा

    ~~~~~~~~~~~~~~~~~~

    [४१]

    १)

    टोपी हाम्रो शिरमा

    विराजमान हाम्रो सान

    नपरोस् कहिल्यै पिरमा ।

    २)

    शिर नाङ्गो किन ?

    लगाऔँ टोपी सबैले

    थपिदैँन धेरै रिन ।

    ३)

    दुर्भाग्य शिर नाङ्गो

    मन नेपाली बनाऔँ

    किन बन्ने बाङ्गो ।

    ✍️

    कार्की डिबी माकुम

    सुनवल-४, नवलपरासी

    ~~~~~~~~~~~~~~~~~~

    [४२]

    १)

    नबन्नू पाण्डव कौरव 

    शिरको ढाका टोपीले 

    बढायो नेपाली गौरव ।

    ✍️

    शशी आचार्य 

    ~~~~~~~~~~~~~~~~~~

    [४२]

    १)

    भादगाउँले टोपी  लगाउँदै

    हँसिलो मुहार भानुको

    साहित्य प्रेम जगाउँदै ।

    २)

    टोपी शिरको शान

    पहिरन राम्रो नेपालीको

    राखौँ संस्कृतिको मान ।

    ३)

    हिमाल झैँ टोपी

    माथमा सजियो नेपालीको

    शीर्ष शिरलाई छोपी ।

    ✍️

    मोती सुब्बा 

    दार्जिलिङ भारत।

    ~~~~~~~~~~~~~~~~~~

    [४३]

    १)

    मेरो शिरको टोपी

    कहिले पनि झुक्दैन

    लगाऊ टाउको छोपी ।

    २)

    सरस्वती बस्ने शिरमा

    लगाऊ नेपाली टोपी

    गौरव नेपाली विरमा ।

    ०३

    टोपी दिवस मान्नुपर्छ

    सबै एक साथमा

    झिल्काको डोरी तान्नुपर्छ ।

    ✍️

    धनुष न्यौपाने

    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला

    ~~~~~~~~~~~~~~~~~~

    [४४]

    १)

    हामी नेपालीको पहिचान

    शिरमा भादगाउँले टोपी 

    गर्छन् विश्वले सम्मान ।

    २)

     सुन्दर देखियो भन्दा

     खुसी छाउँछ साँच्चै ।

    हिरोमा मलाई गन्दा !

    ३)

    टोपी लगाउँदा खेरी

    फुर्तिलो खुसी हुँदै

    दङ्ग हुन्छु  हेरी ।

    ✍️

    सीमा कार्की समर्पण

    ~~~~~~~~~~~~~~~~~~

    [४५]

    १)

    आजको विशेष दिन

    नेपाली  टोपी लगाई

    नाचौँ हामी एकैछिन ।

    २)

    माया गरौँ देशलाई

    निर्धक्क साथ लगाऔँ

    टोपीले छोपी केशलाई ।

    ३)

    सगरमाथाझैँ उच्च शान

    नेपाली टोपी बिश्वमा

    बाँडौँ सबलाई ज्ञान ।

    ✍️

    रचना शर्मा प्रतीक्षा

    ललितपुर  ।

    ~~~~~~~~~~~~~~~~~~

    [४६]

    १)

    मेरो ढाका टोपी 

    लाउने गर्दा सुहाउने 

    आधा निधार छोपी !

    २)

    भेष देश केस

    भुल्दा यो टोपी 

    लाग्ला है ठेस!

    ३)

    ठानी मुला कोपी

    बिक्री गर्नु हुन्न 

    यो प्यारो टोपी !

    दीपा गुरुङ्ग (समभाव)

    ~~~~~~~~~~~~~~~~~~

    [४७]

    १)

    मन रमाउँछ मस्तै

    शिरमा लगाउँदा टोपी

    देखिन्छ सगरमाथा जस्तै ।

    २) 

    चिसोबाट बँच्ने काइदा

    बुझौँ सबैले आजै

    टोपी लगाउनको फाइदा ।

    ३)

    टोपी चिनारी हाम्रो

    लगाएर हिँड्ने पुरुष

    आहा! कस्तो राम्रो ।

    ✍️

    शान्ता पौडेल भट्टराई

    टङ्कीसिनवारी, मोरङ

    ~~~~~~~~~~~~~~~~~~

    [४८]

    १)

    ढाका  टोपी  ढल्काएर

    आएँ भेट्न   तिमीलाई 

    मनमा माया छल्काएर । 

    २).

    प्रेमको  तिर्खा   मेट्न

    ढाका टोपी  ढल्काई

    आएँ तिमेरलाई भेट्न। 

    ३)

    ढाका   टोपी   हाम्रो

    लगाउ तिम्रो शिरमा

    सबले  भन्छन्  राम्रो।

    ✍️

    नवशिला,

    बेलबारी -२, लालभित्ती, मोरङ।

    ~~~~~~~~~~~~~~~~~~

    [४९]

    १)

    बढाउँछ गोर्खालीको सान

    शिरको ढाका टोपीले 

    नेपालीको गौरव मान !

    ✍️

    शशी आचार्य

    ~~~~~~~~~~~~~~~~~~

    [५०]

    १)

    टोपी शिरको ताज 

    हरदम शिरमै सजाऔँ 

    मान्नुहुन्न कदापि लाज ।

    २)

    हृदयमा राष्ट्रियता खोपी 

    नेपालीको राष्ट्रिय पहिचान 

    शिरमा सजाउने टोपी !

    ✍️

    डम्बर थामी ‘अनुपम’

    कालिन्चोक गा. पा. -६, दोलखा ।

    ~~~~~~~~~~~~~~~~~~

    [५१]

    १)

    नेपालीको हो पहिचान 

    शिरमा टोपी जान 

    लाउन गाह्रो नमान ।

    २)

    दौरा सुरुवाल कोट 

    छैन केही खोट 

    लाए हुन्न चोट ।

    ३)

    तुना बाँधी चोलाको 

    साडी लाउनू चिटिक्क 

    सुहायो नानी बोलाको ।

    ४)

    ढाका टोपी भोजपुरी

    दौरा सुरुवाल कोट

    कम्मरमा भिर्नू खुकुरी ।

    ✍️

    गुणनिधि घिमिरे 

    अमेरिका

    ~~~~~~~~~~~~~~~~~~

    [५२]

    १)

    सौम्य भावको चाहना

    हाम्रो राष्ट्रिय पोसाक

    टोपी दिवसको शुभकामना !

    २)

    ढाका टोपी लगाऔँ

    आफ्नो संस्कृति जोगाउन

    राष्ट्रियता हामी जगाऔँ ।

    ३)

    पोसाक सम्बन्धी पढाऔँ

    स्वाभिमान राख्न सदैव

    हौसला हामी बढाऔँ ।

    ✍️

    प्रेम थापा “मन”

    बागलुङ

    ~~~~~~~~~~~~~~~~~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, राष्ट्रिय टोपी दिवसLeave a Comment on राष्ट्रिय टोपी दिवस विशेष झिल्का लेखन शृङ्खला सम्पन्न 

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P