झिल्का एक नवीनतम एवम् लघुतम काव्य विधा हो । यो तीन हरफमा लेख्ने गरिन्छ । यसका ३ हरफमा ३/३ शब्द गरेर जम्मा ९ शब्दमा यो कविता पूरा हुने गर्दछ । यसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार एवम् तेस्रो हरफले विषयवस्तुको भावलाई उत्कर्षमा पुर्याउँदै समापन गर्दछ । यसको पहिलो र अन्तिम हरफमा अन्त्यानुप्रास अनिवार्य गरिएको छ भने दोस्रो हरफ स्वतन्त्र रहन्छ ।
दोहोरी आफैँमा रमाइलो पक्ष हो । जसमा दुई पक्ष बिच सवाल जवाफ हुने गर्दछ । यस लघुतम काव्य विधा झिल्काको नियम, सिद्धान्त र संरचनाको अधीनमा रही मध्यपुर ठिमी ५, संगम काेलाेनी भक्तपुर निवासी झिल्काकार राज कुमार राजभण्डारी “खाेटाङ्गे” र ठोरी गाउपालिका-४, मेलचोक, पर्सा निवासी झिल्काकार सीमा कार्की समर्पण बीचको घम्साघम्सी झिल्का दोहोरी यहाँहरू सामु प्रस्तुत गर्दैछौँ । पढेर आनन्द लिनुहोस् ।
झिल्का दोहोरी
तिमी कसकी छाेरी
कस्ती छ्यौ भन
काली की गाेरी ?
🙎♂️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
कार्कीकी हुँ छोरी
गाउँमै हुर्किएकी म
भन्छन् नक्कली माेरी!
🙎♀️ सीमा कार्की समर्पण
~~~~~~~~
रहिछ्यौ तिमी नक्कली
सिधा सोझी खोजेको
मलाई चाहिन्छ सक्कली ।
🙎♂️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
रङ मेरो गहुँगोरो
समयको माग हजुर
छैन चरित्र दोहोरो ।
🙎♀️ सीमा कार्की समर्पण
~~~~~~~~
जातले केही गर्दैन
भइहाल्छ मन मिले
रङले फरक पर्दैन ।
🙎♂️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
तिम्रो पर्खाइमा बसिछु
समयसँग बहकिन्न कहिल्यै
छातीमा नाम धसिछु ।
🙎♀️ सीमा कार्की समर्पण
~~~~~~~~
हाम्रो मन मिलेमा
डेटिङ गर्न जाउँ
धरान धनकुटा हिलेमा ।
🙎♂️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
माग्न आऊ पहिले
जान्छु छाया बनेर
हुन्छ बिहे जहिले ।
🙎♀️ सीमा कार्की समर्पण
~~~~~~~~