• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

साउदीमा ‘हेल्पलाइन नेपाल’को प्रथम उद्घाटन तथा सांस्कृतिक कार्यक्रम हुने

  • ४ आश्विन २०८३, आईतवार १९:४३ मा प्रकाशित
  • बेरोजगार र अनुभवी नेपालीलाई रोजगारीसँग जोड्ने लक्ष्य

    समर्पण रम्जानदिन मियाँ

    रियाद, साउदी अरेबिया — प्रवासमा रहेका नेपालीहरूलाई रोजगारीका अवसरहरूसँग जोड्ने र आपसमा सहयोगको वातावरण निर्माण गर्ने उद्देश्यका साथ स्थापित ‘हेल्पलाइन नेपाल साउदी अरेबिया’ ले आफ्नो प्रथम उद्घाटन समारोह तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी ९ अक्टोबर २०२६ (शुक्रबार) का दिन रियादस्थित एक्जिट १८ मा रहेको वालिद रेस्ट हलमा भव्य कार्यक्रमका साथै हिन्दुहरूको महान् पर्व बडा दशैंको शुभकामना आदानप्रदान समेत गरिने भएको छ।

    रोजगारी सिर्जना र अनुभवको सम्मान मुख्य प्राथमिकता

    संस्थाका अनुसार साउदी अरेबियामा रोजगारविहीन बनेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्राथमिकताका साथ उपयुक्त रोजगारी दिलाउन पहल गर्नु संस्थाको पहिलो उद्देश्य रहनेछ। यसका साथै, लामो समयदेखि वैदेशिक रोजगारीका क्रममा अनुभव र दक्षता हासिल गरिसकेका श्रमिकहरूलाई उनीहरूको क्षमता र योग्यता अनुसार अझ राम्रो अवसरसँग जोड्ने सोच संस्थाले अघि सारेको छ।

    अनुभवी नेपालीहरूले राम्रो अवसर पाउँदा उनीहरूको आर्थिक अवस्था सुधार हुनुका साथै आफ्नो ज्ञान, सीप र क्षमतालाई अझ परिस्कृत गर्ने मौका मिल्नेछ। “एक नेपालीले अर्को नेपालीलाई अवसर र सहयोग गर्ने” संस्कारको विकास गर्दै नयाँ पुस्तालाई अवसर दिने र अनुभवी पुस्ताको सीपको सम्मान गर्ने वातावरण बनाउनु हेल्पलाइन नेपालको मुख्य ध्येय रहेको छ।

    सामाजिक र मानवीय सेवामा पनि समर्पित हुने

    हेल्पलाइन नेपाल केवल रोजगारी र सीप समायोजनमा मात्र सीमित नरही समाजका विभिन्न क्षेत्रमा आवश्यक पर्ने सामाजिक तथा मानवीय कार्यहरूमा पनि सक्रिय रहने जनाइएको छ। संस्थाका अनुसार हाल विधि-विधान तथा कार्यविधिहरूलाई अन्तिम रूप दिने काम भइरहेको छ। कार्यविधि हेल्पलाइन नेपाल’को प्रथम उद्घाटन कार्यक्रममा संस्थाले गर्ने अन्य सामाजिक कार्यहरू र आगामी गतिविधिहरू स्पष्ट रूपमा सार्वजनिक गरिनेछ।


    कार्यक्रमको पूर्ण विवरण:

    • कार्यक्रम: प्रथम उद्घाटन समारोह, बृहत् सांस्कृतिक कार्यक्रम २०२६ तथा बडा दशैंको शुभकामना आदानप्रदान
    • मिति: २०२६/१०/०९ (अक्टोबर ९, २०२६) शुक्रबार
    • समय: दिनको ठिक १२:०० बजेदेखि साँझ ६:०० बजेसम्म
    • स्थान: एक्जिट १८, वालिद रेस्ट हल (अबी तालिब मस्जिद पछाडि)

    सम्पर्क व्यक्तिहरू:

    • राज तोङमालुङ राई – 0570218160
    • राज चेम्जोङ लिम्बु – 0545060749
    • अभिषेक सुन्दास – 0548575198
    • बिनोद खत्री – 0572727802

    आयोजक संस्थाले साउदी अरेबियामा कार्यरत सम्पूर्ण नेपाली दिदीबहिनी, आमा-बुवा तथा दाजुभाइहरूलाई उपस्थित भई कार्यक्रम भव्य रूपमा सफल पारिदिनुहुन हार्दिक निमन्त्रणा गरेको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाज

    साउदी अरबको जेद्दामा मनाइयो संविधान तथा राष्ट्रिय दिवस २०८३

  • ४ आश्विन २०८३, आईतवार ०३:०७ मा प्रकाशित
  • जेद्दा, साउदी अरब — नेपालको संविधान तथा राष्ट्रिय दिवस २०८३ साउदी अरबको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासको प्राङ्गणमा शनिबार भव्यतापूर्वक सम्पन्न भएको छ। २०८३ असोज ३ गते अर्थात् १९ सेप्टेम्बर २०२६ का दिन नेपाली महावाणिज्य दूतावास जेद्दाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रममा नेपाली महावाणिज्य दूतावासको निमन्त्रणामा साउदी अरबमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका पदाधिकारी, समाजसेवी, होटल व्यवसायी तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रमको सञ्चालन वाणिज्य दूत सुवास यादवले गर्नुभएको थियो भने कार्यवाहक महावाणिज्य दूत यज्ञराज पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

    कार्यक्रममा एनआरएनए साउदी अरबका उपाध्यक्षद्वय राजकुमार गिरी र अर्जुन थापा, एनआरएनए आरसीसी जेद्दाका कार्यवाहक अध्यक्ष चिरञ्जीवी बस्नेत, नेपाली युवा क्लबका अध्यक्ष राम थापा, महासचिव नरकुमार मगर तथा अन्य पदाधिकारीहरु, इस्लामिक दावा सेन्टर जेद्दाका प्रमुख मन्जुर अली मियाँ, अन्तर्राष्ट्रिय पत्रकार महासंघका सदस्य रमजान दिन मियाँ, होटल व्यवसायी संघका आरजे पन्त, होटल मेलम्चीका प्रमुख, ग्लोबल आइएमई बैंकका प्रतिनिधि दीपक राज गौतम, सुदूरपश्चिमेली समाजका महासचिव केशव सिंहलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रम नेपालको राष्ट्रिय गानको धुनसँगै सुरु भएको थियो। कार्यक्रममा नेपाली महावाणिज्य दूतावासका श्रम सहचारी जीवन घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो।

    कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीहरूले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै कार्यक्रम आयोजना गरी आफूहरूलाई सहभागी हुने अवसर प्रदान गरेकोमा नेपाली महावाणिज्य दूतावास जेद्दाप्रति आभार व्यक्त गरेका थिए।

    मन्तव्यका क्रममा वक्ताहरूले लामो संघर्ष र बलिदानपछि जारी भएको नेपालको संविधान २०७२ देश सञ्चालनको महत्वपूर्ण आधार भएको बताएका थिए। संविधानले मुलुकको शासन व्यवस्था, नागरिक अधिकार तथा राज्य सञ्चालनका विभिन्न पक्षलाई समेटेको उल्लेख गर्दै समयअनुकूल आवश्यक संशोधन र सुधार गर्दै संविधानलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा पनि व्यक्त गरिएको थियो।

    कार्यक्रममा केही वक्ताहरूले भने नेपालको संविधान २०७२ का कतिपय पक्षप्रति असन्तुष्टि व्यक्त गर्दै विगतको संविधान, विशेषगरी २०४७ सालको संविधानप्रति आफ्नो धारणा राखेका थिए। संविधानको विषयमा फरक–फरक धारणा प्रस्तुत भए पनि वक्ताहरूले देशको संविधान, राष्ट्रिय एकता र राष्ट्रिय दिवसको महत्वबारे आ–आफ्ना विचार राखेका थिए।

    कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा कार्यवाहक महावाणिज्य दूत यज्ञराज पौडेलले उपस्थित सम्पूर्ण अतिथि, संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा पत्रकारहरूलाई धन्यवाद ज्ञापन गर्दै संविधान तथा राष्ट्रिय दिवसको शुभकामना व्यक्त गर्नुभयो।

    उहाँले पछिल्लो समय नेपालमा आएको प्राकृतिक विपत्तिका कारण यस वर्ष संविधान तथा राष्ट्रिय दिवसलाई विगतमा जस्तो बृहत् रूपमा आयोजना गर्न नसकिएको बताउनुभयो। यद्यपि, संविधान तथा राष्ट्रिय दिवस कुनै जात, धर्म, भाषा वा संस्कृतिभन्दा माथि रहेको साझा राष्ट्रिय पर्व भएकाले सबै नेपालीले खुला रूपमा मनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

    कार्यवाहक महावाणिज्य दूत पौडेलले संविधान देश सञ्चालन गर्ने मूल कानुनी दस्तावेज भएकाले संविधानले निर्दिष्ट गरेको विधि, प्रक्रिया र कानुनी व्यवस्थाभित्र रहेर राज्य सञ्चालन हुनुपर्ने बताउनुभयो। संविधान निर्माण तथा लोकतान्त्रिक व्यवस्थाका लागि योगदान र बलिदान गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूको योगदानको स्मरण गर्दै राष्ट्रिय दिवस मनाउनुपर्ने उहाँको भनाइ थियो।

    उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको महत्वपूर्ण राजनीतिक उपलब्धि भएको उल्लेख गर्दै संविधान तथा राष्ट्रिय दिवसलाई सबै नेपालीले साझा राष्ट्रिय दिवसका रूपमा मनाउन पाउनु गौरवको विषय भएको बताउनुभयो।

    कार्यक्रममा उपस्तिथित विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी तथा पत्रकारहरूको सहभागितासहित कार्यक्रम सम्पन्न भएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर

    साइट इन्जिनियर भूपाल भण्डारी बने Operations Director‎

  • २ आश्विन २०८३, शुक्रबार १७:३७ मा प्रकाशित
  • ‎समर्पण रम्जान ! जेद्दा साउदी अरब

    २००९ मा साइट इन्जिनियरका रूपमा साउदी पुगेका भण्डारीको १७ वर्षे व्यावसायिक यात्रामा महत्वपूर्ण सफलता
    ‎
    ‎साउदी अरेबिया । वैदेशिक रोजगारीका क्रममा सन् २००९ मा साउदी अरेबिया पुगेका नेपाली युवा भूपाल भण्डारीले निरन्तरको मिहिनेत, व्यावसायिक दक्षता र नेतृत्व क्षमताका बलमा आफ्नो करियरमा महत्वपूर्ण सफलता हासिल गरेका छन्।
    ‎झापाको बिर्तामोड स्थायी घर भएका भण्डारी साउदीस्थित Tasawy General Contracting Co. मा साइट इन्जिनियरका रूपमा आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए। करिब १७ वर्षको निरन्तर व्यावसायिक यात्रापछि उनी अहिले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (CEO) पछिको दोस्रो सर्वोच्च व्यवस्थापकीय पद ‘Operations Director’ को जिम्मेवारीमा पुगेका छन्।
    ‎मरुभूमिमा परियोजना निर्माणदेखि व्यवस्थापनको नेतृत्वसम्म
    ‎भण्डारीले साउदी अरेबियाको मरुभूमि क्षेत्रमा नयाँ शहर निर्माण तथा पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न ठूला परियोजनामा काम गर्दै आफ्नो प्राविधिक तथा व्यवस्थापकीय क्षमता प्रस्तुत गरेका छन्।
    ‎
    ‎साइटमा प्राविधिक जिम्मेवारीबाट सुरु भएको उनको यात्रा क्रमशः अनुभव, कार्यक्षमता र नेतृत्व भूमिकासँगै अगाडि बढ्दै अहिले कम्पनीको उच्च व्यवस्थापकीय तहसम्म पुगेको हो।
    ‎उनको करियर यात्राले वैदेशिक रोजगारीलाई केवल श्रम गर्ने गन्तव्यका रूपमा मात्र बुझ्ने दृष्टिकोणलाई समेत चुनौती दिएको छ। उचित शिक्षा, प्राविधिक दक्षता, अनुभव, अनुशासन र निरन्तर मिहिनेत भए नेपालीहरूले अन्तर्राष्ट्रिय श्रम बजारमा उच्च जिम्मेवारी सम्हाल्न सक्छन् भन्ने सन्देश उनको सफलताले दिएको छ।
    ‎‎‘खाडीमा नेपाली तल्लो तहकै काम गर्छन्’ भन्ने सोचलाई चुनौती
    ‎खाडी मुलुकमा कार्यरत नेपालीहरूबारे अझै पनि उनीहरू मुख्यतः तल्लो वा मध्यम तहका श्रममा मात्र सीमित छन् भन्ने धारणा सुनिन्छ। तर भण्डारीको सफलता त्यस्तो एकांगी सोचलाई सच्याउने एउटा उदाहरण हो।
    ‎
    ‎साउदी अरेबिया लगायत खाडी मुलुकमा नेपालीहरू इन्जिनियर, व्यवस्थापक, सुपरभाइजर, व्यवसायी, प्राविधिक विशेषज्ञ तथा विभिन्न नेतृत्वदायी भूमिकामा कार्यरत छन्। आफ्नै व्यवसाय सञ्चालन गर्दै सफल भएका नेपाली व्यवसायीहरूको संख्या पनि क्रमशः बढिरहेको छ।
    ‎भण्डारीजस्ता दक्ष नेपालीहरूको व्यावसायिक उन्नतिले ‘नेपाली भनेको केवल श्रमिक हो’ भन्ने सीमित सोचभन्दा माथि उठेर नेपाली जनशक्तिको वास्तविक क्षमता र सम्भावनालाई हेर्नुपर्ने आवश्यकता औँल्याएको छ।
    ‎सामाजिक क्षेत्रमा पनि सक्रिय
    ‎व्यावसायिक क्षेत्रमा सफलता हासिल गरेका भण्डारी सामाजिक क्षेत्रमा समेत सक्रिय छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास समितिअन्तर्गत प्रवासी नेपाली सम्पर्क विभाग, साउदी अरेबियाका अध्यक्ष समेत हुन्।
    ‎
    ‎व्यावसायिक जिम्मेवारीसँगै प्रवासी नेपाली समुदायका सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका उनले आफ्नो कार्यक्षेत्र र सामाजिक भूमिकाबीच सन्तुलन कायम गर्दै आएका छन्।
    ‎आफ्नो पदोन्नतिबारे प्रतिक्रिया दिँदै भण्डारीले नेपालबाट साउदी अरेबिया आउँदा व्यावसायिक करियरमा यस्तो उचाइ हासिल गर्ने कल्पना नगरेको बताए।
    ‎‎“निरन्तरको मिहिनेत, दृढ संकल्प र जिम्मेवारीप्रतिको निष्ठाले नै मलाई आज अपरेसन डाइरेक्टरको तहमा पुर्‍याएको हो। यसलाई मैले व्यक्तिगत उपलब्धिका रूपमा भन्दा पनि एउटा ठूलो अवसर, विश्वास र थप उत्तरदायित्वका रूपमा लिएको छु।” नयाँ जिम्मेवारीसँगै अझ बढी समर्पण, परिणाममुखी काम र जवाफदेहिताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आफ्नो व्यावसायिक यात्रामा साथ दिने परिवार, गुरुजन, साथीभाइ तथा सहकर्मीहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्।
    ‎
    ‎भण्डारीको बुझाइमा नेपाली युवाहरूलाई प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच बढाउन सकिए अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरूले अझ उच्च तहका जिम्मेवारी प्राप्त गर्न सक्छन्।‎
    ‎वैदेशिक रोजगारीमा जाने युवाहरूले केवल रोजगारी खोज्नेभन्दा पनि सीप, ज्ञान, भाषा, प्रविधि र नेतृत्व क्षमता विकासमा जोड दिनुपर्ने उनको धारणा छ।
    ‎उनको आफ्नै यात्रा पनि यसको एउटा उदाहरण बनेको छ—सन् २००९ मा साइट इन्जिनियरका रूपमा सुरु भएको करियर आज कम्पनीको उच्च व्यवस्थापकीय जिम्मेवारीसम्म पुगेको छ।
    ‎वैदेशिक भूमिमा अवसरसँगै चुनौती पनि हुन्छन्। तर आफ्नो क्षेत्रमा निरन्तर सिक्ने, जिम्मेवारीपूर्वक काम गर्ने, दक्षता बढाउने र नेतृत्व क्षमता विकास गर्ने हो भने नेपालीहरूले अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि उच्च जिम्मेवारी प्राप्त गर्न सक्छन् भन्ने सन्देश उनको यात्राले दिएको छ।
    ‎
    ‎साउदीको मरुभूमिमा साइट इन्जिनियरबाट सुरु भएको यात्रा कम्पनीको उच्च व्यवस्थापकीय तहसम्म पुग्नु भूपाल भण्डारीको व्यक्तिगत सफलता मात्र होइन, अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली दक्ष जनशक्तिको सम्भावनाको एउटा उदाहरण पनि हो।
    ‎
    उनको यो सफलता आगामी पुस्ताका नेपाली युवालाई एउटा स्पष्ट सन्देश दिन्छ—‘अवसर जहाँ भए पनि, क्षमता र मिहिनेतलाई सीमाले रोक्न सक्दैन।’
    ‎
    ‎

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट

    ‘छन्दसङ्गम’ को ७९ औँ श्रृङ्खला सम्पन्न, वर्तमान समयमा छन्द कविताको महत्त्व उच्च रहेको स्रष्टाहरूको जोड

  • २७ भाद्र २०८३, शनिबार १०:०२ मा प्रकाशित
  • भदौ २६ दाङ ।

    राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङको आयोजनामा नियमित कार्यक्रमअन्तर्गत ‘छन्द सङ्गम’ को ७९ औँ शुक्रबार घोराहीस्थित राप्ती साहित्य परिषद्को सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ। उक्त कार्यक्रममा विभिन्न स्रष्टाहरूले आ-आफ्ना उत्कृष्ट छन्द कविताहरू वाचन गर्नुभएको थियो।

    राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता र वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद्, केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्य मा कार्यक्रम सम्पन्न भएको थियो रहेको थियो।

    कार्यक्रमका प्रमुख अतिथि उत्तमकृष्ण मजगैयाले नेपाली साहित्यमा छन्द कविताको ऐतिहासिक योगदान र वर्तमान समयमा यसको महत्त्वबारे प्रष्ट पार्दै छन्द साहित्यको संरक्षण र प्रवर्द्धनमा यस्ता नियमित श्रृङ्खलाहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

    कार्यक्रममा राप्ती साहित्य परिषद्, केन्द्रीय अध्यक्ष कमलमणि देपकोटा ,लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने , नेपाली लेखक संघ दाङका अध्यक्ष डा. हिमलाल पन्थी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन ,नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का साहित्यकारहरू रामप्रसाद जैसी, एकराज शर्मा अधिकारी, मधुसुदन गौतम, नरेशजङ्ग राणा , मधुसूदन गौतम , दामोदर पौडेल, माधवप्रसाद न्यौपाने, शरद गौतम, सुवास न्यौपाने, महेशकुमार न्यौपाने, रिमा गौतम, नारद प्रसाद भण्डारी, दीपक बहादुर क्षेत्री, वसन्त पोखरेल,सुशीला आचार्य लगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो।
    परिषदका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged यम रेग्मी, राप्ती साहित्य परिषद, सुरेशकुमार पाण्डे

    टुक्का साहित्य समाजको छैटौँ साधारणसभा सम्पन्न, चापागाईँँको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन

  • २७ भाद्र २०८३, शनिबार ०९:५७ मा प्रकाशित
  • नेपाली साहित्यमा दुई हरफमा संरचित लघुत्तम काव्यिक विधा ‘टुक्का कविता’को उन्नयन, प्रवर्द्धन र संस्थागत विकासका लागि क्रियाशील टुक्का साहित्य समाज, काठमाडौंको छैटौँ साधारणसभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । २०८३ साल भाद्र २६ गते भर्चुअल माध्यमबाट सम्पन्न साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईंले गर्नुभएको थियो भने रामशरण न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो ।

    साधारणसभामा संस्थाका सचिव जमुना आचार्यले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष होमप्रसाद न्यौपानेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमाथि छलफल गरी आवश्यक सुझावसहित अनुमोदन गरिएको थियो । सभामा संस्थाले स्थापनाकालदेखि टुक्का कविताको विकास, विस्तार र प्रवर्द्धनका लागि सञ्चालन गर्दै आएका विभिन्न साहित्यिक गतिविधि तथा आगामी कार्ययोजनाबारे समेत चर्चा गरिएको थियो ।

    साधारणसभाको अर्को महत्त्वपूर्ण पक्ष नयाँ कार्यसमिति गठन रहेको थियो । संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईंले नयाँ कार्यसमिति चयनका लागि रामशरण न्यौपानेको अध्यक्षतामा राजेशराज गडतौला र इन्दु श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गर्नुभएको थियो । निर्वाचन मण्डल गठन भएपछि पुरानो कार्यसमिति विघटन गरिएको थियो ।

    निर्वाचन प्रक्रियाबाट टुक्का साहित्य समाजको नयाँ कार्यसमितिमा अध्यक्षमा ताराप्रसाद चापागाईं, उपाध्यक्षमा वसन्त अनुभव, महासचिवमा जमुना आचार्य कोइराला, सचिवमा शोभा आचार्य गौतम, कोषाध्यक्षमा होमप्रसाद न्यौपाने तथा सदस्यहरूमा रामप्रसाद पुरी, बेदू न्यौपाने, राजकुमार राजभण्डारी, दीपा गुरुङ र सुशीला थापा सर्वसम्मत तथा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिमा रिक्त रहेको एक सदस्य पदमा पछि कार्यसमितिले चयन गरी पदपूर्ति गर्ने निर्णयसमेत गरिएको छ ।

    नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन मण्डलका अध्यक्ष रामशरण न्यौपानेले संस्थाको हक, हित र उद्देश्यप्रति प्रतिबद्ध रही आफ्नो पदअनुसार जिम्मेवारी निर्वाह गर्ने शपथ गराउनुभएको थियो । सो अवसरमा उहाँले नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    नवनिर्वाचित अध्यक्ष ताराप्रसाद चापागाईंले साधारणसभामा उपस्थित सम्पूर्ण सदस्यहरू तथा निर्वाचन मण्डलप्रति आभार व्यक्त गर्दै नयाँ कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिनुभएको थियो । उहाँले टुक्का कविताको विकास, विस्तार र संस्थागत सुदृढीकरणका लागि आगामी दिनमा अझ सक्रियताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सबैको सहयोग, सहकार्य र रचनात्मक भूमिकाको अपेक्षा गर्नुभएको थियो ।

    टुक्का साहित्य समाजले नेपाली साहित्यमा टुक्का कवितालाई स्थापित र विकसित गराउने उद्देश्यका साथ विभिन्न साहित्यिक कार्यक्रम, सिर्जनात्मक गतिविधि, प्रशिक्षण, अन्तरक्रिया तथा प्रकाशनका माध्यमबाट निरन्तर कार्य गर्दै आएको छ । नयाँ कार्यसमितिको गठनसँगै टुक्का कविताको सिर्जना, प्रवर्द्धन र संस्थागत विस्तारका क्षेत्रमा थप प्रभावकारी गतिविधि अघि बढ्ने अपेक्षा गरिएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का साहित्य समाज, टुक्का_कविता, ताराप्रसाद चापागाईँ, वसन्त अनुभव

    स्मृतिमा बुबा (कविता)

  • २६ भाद्र २०८३, शुक्रबार ०७:३८ मा प्रकाशित
  • स्मृतिमा बुबा (कविता)
    ✍️तेजप्रसाद खनाल
    आज फेरि कुसे औँसी
    आँगनभरि सम्झनाको
    कुश उम्रियो,
    धूपको धुवाँसँगैसँगै
    तपाईंको अनुहार खोज्दै
    मेरो मन पुरानो आकाशतिर
    उड्यो, बुबा !
    बीस बाइस वर्ष भएछ
    समयले कति ऋतु फेरिसक्यो
    कति वसन्त आए, गए
    कति वर्षाका भेलले
    घरअगाडिको बाटो बगायो
    तर मेरो स्मृतिको बाटोमा
    तपाईंका पाइलाहरु
    अझै मेटिएका छैनन्
    कहिलेकाहीँ लाग्छ
    ढोकाबाहिर कसैले
    बिस्तारै खोक्यो कि जस्तो
    आँगनमा तपाईंको लौरो
    अझै टेकिएको छ कि जस्तो
    साँझको सुनसानमा
    तपाईंको स्वरले
    मेरो नाम बोलायो कि जस्तो
    तर ढोका खोल्दा
    त्यहाँ केवल हावा हुन्छ
    आँगनमा केवल छायाहरू हुन्छन्
    र मेरो आँखाको डिलमा
    अतीतको एउटा समुद्र
    चुपचाप उर्लिरहेको हुन्छ
    बुबा,तपाईं हुनुहुन्थ्यो
    मेरो बालापनको आकाश
    थाकेको बेलाको चौतारी
    अँध्यारोमा बल्ने दियो
    हिँड्न नसक्दा समाउने हात
    र लड्दा उठाउने
    अदृश्य साहस
    तपाईंको काँधमा बसेर
    संसार हेरेका ती दिनहरू
    आज पनि मेरो आँखाभित्र
    पुरानो चलचित्रझैँ चल्छन्
    तपाईंका खस्रा हातहरूमा
    मैले माया पढेको थिएँ
    तपाईंको मौनतामा
    हजारौँ उपदेश सुनेको थिएँ
    समयले तपाईंलाई
    मेरो आँखाबाट टाढा लग्यो
    तर हृदयबाट कहाँ लैजान सक्यो र ?
    तपाईं त मेरो रगतमा बगेको
    नदी हुनुहुन्छ
    मेरो संस्कारमा बल्ने
    दीप हुनुहुन्छ
    मेरो प्रत्येक असल कर्मको
    नदेखिने हस्ताक्षर हुनुहुन्छ
    आज कुशको आसनमा
    तपाईंलाई सम्झेर बस्दा
    मनभित्र प्रश्न उठ्छ
    माथि कतै आकाशमा
    तपाईंले पनि हामीलाई
    सम्झिनुहुन्छ कि, बुबा ?
    यहाँ त तपाईं नभएको घर
    घरजस्तो लाग्दैन
    तपाईं नभएको खुसी
    खुसीजस्तो लाग्दैन
    तपाईंलाई सुनाउन नसकेको कुरा
    मनको कुनामा
    अझै अधुरो पत्र बनेर बसेको छ
    कहिलेकाहीँ म सफलताको
    एउटा खुड्किलो चढ्छु
    मनले सबैभन्दा पहिले भन्छ
    बुबा भएको भए…..।
    आज कति खुसी हुनुहुन्थ्यो होला!
    कहिलेकाहीँ
    दुःखको पहाडले थिच्छ
    मनले फेरि त्यही पुरानो हात खोज्छ
    जसले एकपटक
    मेरो टाउकोमा हात राखेर
    दुःखलाई सानो बनाइदिएको थियो
    बुबा तपाईंको मृत्यु
    एउटा दिनको घटना थियो
    तर तपाईंको अभाव
    हरेक दिनको अनुभूति हो
    मृत्युले तपाईंको शरीर लग्यो
    तर तपाईंको माया
    कसले लैजान सक्छ र ?
    समयले तपाईंको
    आवाज मौन बनायो
    तर तपाईंका शब्दहरू
    आज पनि मेरो अन्तरात्मामा
    घण्टीझैँ बजिरहन्छन्
    आज कुसे औँसीमा
    आकाशतिर हेर्दै
    म एउटा दीप बाल्छु
    त्यो दीपमा तेलभन्दा बढी
    मेरो सम्झना छ
    ज्योतिभन्दा बढी
    मेरो श्रद्धा छ
    उज्यालोभन्दा गहिरो
    मेरो आँसु छ
    हे! मेरा बुबा!
    यदि आत्माहरूले
    सन्तानका धड्कन सुन्छन् भने
    आज मेरो मुटुको धुन सुन्नुहोस्
    त्यसको प्रत्येक धड्कनमा
    तपाईं हुनुहुन्छ
    यदि ताराहरूले
    पृथ्वीका आवाज सुन्छन् भने
    आज सबैभन्दा चम्किलो तारा बन्नुहोस्
    म आकाश हेरेर
    तपाईंलाई चिन्न सकूँ
    बीस बाइस वर्षको दूरी
    हाम्रो बीचमा भए पनि
    मायाको दूरी
    एक इन्च पनि बढेको छैन
    तपाईं परलोकमा हुनुहुन्छ
    म यो लोकमा छु
    बीचमा केवल
    समय र मृत्युको पर्दा छ
    तर सम्झनाको झ्यालबाट
    म हरेक दिन
    तपाईंलाई भेटिरहेको छु
    आज कुसे औँसी हो, बुबा!
    म तपाईंको मुख हेर्न सक्दिनँ
    तर आफ्नो अनुहारमा
    तपाईंको छाया खोज्छु
    तपाईंको हात समाउन सक्दिनँ
    तर आफ्ना हातमा
    तपाईंको संस्कार महसुस गर्छु
    अन्त्यमा मृत्युले छुट्याएको
    बुबाछोराको सम्बन्धलाई
    समयले होइन
    स्मृतिले बाँधिरहोस्
    जब जब कुसे औँसी आउँछ
    जब जब धूप बल्छ
    जब जब आकाशमा
    एउटा एक्लो तारा टल्किन्छ
    म फेरि मनमनै भन्नेछु
    बुबा तपाईं जानुभएको होइन
    तपाईं त मेरो जीवनको उज्यालो भएर
    मभित्रै बसिरहनुभएको छ
    हरक्षण आशीर्वाद दिइरहनु होला
    तेजप्रसाद खनाल लमही,दाङ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    झिल्का कविता

  • १९ भाद्र २०८३, शुक्रबार २१:०१ मा प्रकाशित
  • त्रिवेणी साहित्य मञ्च अमेरिकाको साप्ताहिक शुक्रवारीय झिल्का कविता अभ्यास शृङ्खलामा आएका श्रीकृष्ण जन्माष्टमी विषयक सुन्दर झिल्का कविताहरू-

    क)
    चेतनाको दीप बाल्यौ
    जगाउँदै अर्जुनको मन
    विशाल मोह ढाल्यौ ।
    ख)
    बनेर मायालु चित्र
    सोह्र सय गोपीनीको
    बस्यौ दिल, दिमागभित्र ।

    वसन्त अनुभव
    वसन्तविहार, घोराही

    झिल्का कविता
    क)
    श्रीकृष्ण जन्माष्टमी पर्व
    अन्धकार रेट्छ मनको
    मनाऔँ हामीले सगर्व ।
    ख)
    मेरा हृदयका भगवान्
    उनै बस्छन् कणकणमा
    विशिष्ट ज्ञानी महान् ।
    ✍️
    नारदप्रसाद आचार्य ‘सुदामा’
    संयुक्त राज्य अमेरिका ।

    झिल्का कविता
    क)
    मुरलीको मधुर धुन
    मनभित्र प्रेम भरियो,
    माधवको दिव्य गुन ।
    ख)
    जन्माष्टमीको पावन रात
    घरघरमा दीप बल्दै,
    गुन्जिन्छन् श्रीकृष्णका बात ।
    ✍️
    डि पी शर्मा खनाल

    झिल्का
    क)
    नभए कुनै बाधा
    तिमी बन्नू कृष्ण
    म बनौँला राधा ।
    ख)
    बजाऊ बाँसुरीको धुन
    ठाउँ दिएर हृदयमा
    लगाऊ एउटा गुन ।
    ✍️
    प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना, सुर्खेत

    झिल्का कविताहरू
    क)
    कृत्रिम आँखाको माया
    दैवको अघि पनि
    बनियो आज छाया ।
    ख)
    मुसुमुसु हाँस्दै आऊँ
    श्रीकृष्ण जन्माष्ठमी आज
    सभ्य बनेर मनाऊँ ।
    ✍️
    निमा छिरिङ भोटिया
    जलढाका कालेबुङ भारत

    झिल्का कविता
    क)
    जपौँ राधाकृष्णको नाम
    मेटिई मनको पीडा
    बन्नेगर्दछ शुभ काम ।
    ख)
    कृष्णको दिव्य अवतार
    विजयी होस् धर्मको
    अत्याचारको होस् संहार ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहुँ
    हाल चनपा६ मातातीर्थ

    झिल्का कविता
    क)
    कृष्ण भजन गाएर
    पीडा सारा हटाऔँ
    दिव्य मुरली बजाएर ।
    ख)
    दुष्टको विनास गर्न
    कृष्ण तिमी आऊ
    पीडामा खुसी छर्न ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    खाेटाङ ऐसेलुखर्क ३ हाल भक्तपुर

    झिल्का कविता
    क)
    मुरलीको सुनेर धुन
    राधा मोहित भइन्
    हेर्दै पूर्णिमाको जून ।
    ख)
    कृष्णको भजन सुन्नू
    बिहान बेलुकी सधैँ
    सुविचार मनमा गुन्नू ।
    ✍️
    बिधुत गुरूङ
    गोरुबथान

    झिल्का
    क)
    समाजमा उज्यालो छर्न
    कृष्णको जन्म भएथ्यो
    अपकारीको अन्त्य गर्न l
    ख)
    जगाऊँ मनमा भक्ति
    आत्मा स्वच्छ राखौँ
    मिल्छ अपार शक्ति l
    ✍️
    बाबुराम गौतम, गुल्मी

    झिल्का कविता
    क)
    ​आए कृष्ण कन्हैया
    मेट्न धर्तीको पाप
    लिएर राधा मैया ।
    ख)
    ​देखाउन सत्यको बाटो
    जन्मेका कृष्ण भगवान्
    असत्यलाई पार्न माटो ।
    ✍️
    कृष्ण ब रावत

    झिल्का कविता
    क)
    घरकी रुक्मणी भन्यौ
    हामीले प्रेम गरेको
    उर्मिला राधा बन्यौ ।
    ख)
    विपत्ति नसोधी आयो
    दैविप्रकोप रोक्ने कसले ?
    छिनमै सर्वस्व खायो ।
    ✍️
    विकल ‘आर्त्त’

    झिल्का कविता
    क)
    गरौँ कृष्णको भक्ति 
    जीवन राख्न अनन्त
    पाई ज्ञानको शक्ति ।
    ख)
    कृष्ण जन्माष्टमीको शुभकामना 
    सकारात्मक ऊर्जा आओस्
    सबैको पुगोस् मनोभावना !
    ✍️
    सुनिता निरौला पौडेल 
    हाल – राधे राधे भक्तपुर ।

    झिल्का कविता
    क)
    भदौको कृष्ण अष्टमी
    स्मरण गरौँ श्रीकृष्णको
    नहोस् भक्तिमा कमी ।
    ख)
    कंशबाट फुत्किएकी देवी
    बिन्ध्याचलमा गएर बसिन्
    विन्ध्यवासिनी भई सेवी ।
    ✍️
    रामकृष्ण ढकाल
    चितवन ।

    झिल्का कविता
    क)
    श्रीकृष्णको भजन गरौँ
    मिलेर सारा भक्तजनहरू
    आत्मा खुसीले भरौँ ।
    ख)
    कृष्णको हल्लाई झुला
    बालौँ कपुर बत्ती
    पारेर मन्लाई खुला ।
    ✍️
    बिबा तामाङ
    दार्जिलिङ।

    झिल्का कविता
    क)
    कृष्ण जन्मिएको रात
    सारा गोकुल क्षेत्रभरि
    भएथ्यो सहस्र उल्कापात l
    ख)
    जीवनमा भरेँ शक्ति
    कृष्ण जन्मेको दिन
    मनमा जाग्यो भक्ति ।
    ✍️
    मेनुका शर्मा

    झिल्का कविता
    क)
    मथुराको कालो कारागार
    जन्मिए उनै परमात्मा
    थाम्न बसुन्धराको भार ।
    ख)
    सफल बनून् चाहना
    मनोकाङ्क्षा होउन् पूर्ण
    कृष्ण जन्माष्टमीको शुभकामना !
    ✍️
    तोयानाथ चापागाईं
                झापा

    झिल्का
    क)
    भक्त छन् गाउँमा
    पूजा गर्ने अनेकथरी
    कृष्ण तिम्रो नाउँमा ।
    ख)
    चिनौँ कृष्ण मनले
    घमण्ड नगरौँ धनको
    पाइन्नन् ईश धनले ।
    ✍️
    विष्णु पन्थी ‘विनु’
    गैँडाकोट २- नवलपुर

    झिल्का कविता
    क)
    मुरली बज्यो बनैमा
    मन्दिरमा पूजा गरौँ
    शान्ति मिल्छ मनैमा ।
    ख)
    कृष्णमा लगाऔँ भक्ति
    पूरा हुन्छ कामना
    मिल्नेछ तनमा शक्ति ।
    ✍️
    प्रेम शर्मा “एकान्त प्रेमी”
           कालेबुङ

    झिल्का कविता
    क)
    कृष्णजीको कर्मयोग बुझेर
    सत्कर्म गरौँ सबले
    ईश्वर भक्तिमा रुझेर ।
    ख)
    यो प्रेमको कहानी
    अजम्बरी छ लीला
    राधा कृष्णकी रानी ।
    ✍️
    नविन पागल मुस्कान

    झिल्का अभ्यास
    क)
    खुसी भाद्रकृष्ण अष्टमी
    दोस्रो जीवनको अवसर
    भूगर्भले जन्मायो पराक्रमी ।
    ख)
    चिन्ताले थिएँ थकान
    नेपाली सन्तान ती
    धन्यवाद सैनिक जवान ।
    ✍️
    वैँशालु महेन्द्र
    लेटाङ नगरपालिका-८, जाँते बजार, मोरङ
    हाल :- माहे टापु, सेसेल्स, पूर्वी अफ्रिका

    झिल्का कविता
    क)
    कृष्णजीलाई राखौँ मनमा
    संसारका पाहुना हामी
    कटुसत्य नभुलौँ जीवनमा ।
    ख)
    कृष्णजीको बाँसुरीको धुनले
    मनमा मिठास पलाउँछ
    शत्रुता भुलाउँछ गुणले ।
    ✍️
    नम्रत प्रधान
    तकदाह, दार्जिलिङ

    झिल्का कविता
    क)
    कृष्णको भजन गाएर
    भवसागर यो तरौँला
    श्रद्धामा मन भुलाएर ।
    ख)
    मनमा मिठास भर्दा
    हुन्छन् साथमा ईश्वर
    मिलेर प्रार्थना गर्दा ।
    ✍️
    कला ढकाल
    झापा

    झिल्का कविता
    क)
    बाँसुरीको धुन सुनेर
    मनमा आनन्द भयो
    एकछिन पीडा भुलेर ।
    ख)
    दुःखमा लगाउँछौ गुहार
    सम्झनू सुखमा पनि
    सत्कर्मसँगै गर्दै दुलार ।
    ✍️
    रबिता महर्जन
    खोकना, ललितपुर

    झिल्का कविता
    क)
    कृष्णको बाँसुरीको धुन
    सुनेर मोहित हुन्थेँ
    बिर्सिएर पनि रुन ।
    ख)
    अत्याचारीको अन्त्य गर्न
    द्वापर युगमा आउनुभयो
    अन्धकारमा उज्यालो छर्न ।
    ✍️
    लक्ष्मी रेग्मी ‘शब्दयात्री’
    उर्लाबारी, मोरङ

    झिल्का कविता
    क)
    जपेमा कृष्णको नाम
    भवसागर तरेर सहजै
    पुगिन्छ रे परमधाम !
    ख)
    भजन गाउँदै नाँचौँला
    कृष्णजी मनैमा राखेर
    जीवन खुसीले बाँचौँला !
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ

    क)
    निश्चल प्रेम गरी
    साँचे मुटुमा जीवन्त
    कृष्णले राधा जीवनभरि ।
    ख)
    ऊर्जा खुसी तनमा
    पाउन गरौँ भक्ति
    जपौँ कृष्ण मनमा ।
    ✍️
    मिना मल्ल
    बझाङ

    झिल्का
    क)
    द्वापरमा कृष्ण अवतारी
    सखाप पारेका थिए
    त्यहाँका सबै अत्याचारी ।
    ख)
    कृष्णाष्टमी पर्व तारणहारी
    पालना गरे हुनेछ
    यो सधैँ हितकारी ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४ नवलपरासी

    झिल्का कविता
    क)
    दही चोरेर खान्थे
    राधा खोज्न कृष्ण
    सधैँ वृन्दावन जान्थे ।
    ख)
    सङ्कट छ देशमा
    बचाउन आऊ देश
    कोही कृष्णको भेषमा ।
    ✍️
    साबित्री प्याकुरेल
    धादिङ
    झिल्का कविता
    क)
    कृष्ण्जीको माया अपरम्पार
    दिन्थे दर्शन सबैलाई
    देखाउँदै लीला बारम्बार !
    ख)
    यशोदा मैँयाकी प्यारा
    गर्थे लाला नटखट
    माया पाएर सारा ।
    ✍️
    रमा गुरुङ्ग
    सालुगडा सिलीगुडी

    झिल्का कविता
    क)
    अनेकथरी छन् नाम
    अधर्मीको नाश गर्ने
    कृष्णको मुख्य काम ।
    ख)
    नराखी घमण्ड जीवनमा
    पूजा गरेमा भगवान्को
    शान्ति मिल्छ मनमा ।
    ✍🏻
    शब्दयात्री लम्साल
    दुल्लु १२,दैलेख

    झिल्का कविता
    क)
    मखन चोरेर खान्थे
    सबैलाई मोहित पार्दै
    भजन गाउन जान्थे ।
    ख)
    यो सारा संसार
    साध्य छैन बुझी
    कृष्णको लीला अपार ।
    ✍️
    शोभाकान्त रेग्मी
    स्याङ्जा ।

    झिल्का कविता
    क)
    चलाएर सारा संसार
    भगवान् श्रीकृष्णले हाम्रा
    गरिदिन्छन् दु:खकष्ट पार ।
    ख)
    गरेमा निष्काम कर्म
    यस जगतमा हामीलाई
    तबमात्र मिल्दछ धर्म ।
    ✍️
    विष्णु पंगेनी(पाण्डे)
    वालिङ, स्याङ्जा

    झिल्का
    क)
    प्रारब्ध निरञ्जन निराकार
    बनेर अर्जुनकाे सारथि
    देखाए चमत्कारिक व्यवहार ।
    ख)
    सुदामाकाे साथ प्याराे
    निभाए साथीको कर्तव्य
    नराखी केही उधारो ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    साँगा, बनेपा१४ काभ्रे।
    झिल्का कविता
    क)
    जाऊँ कृष्णको चरणमा
    पीडितको उद्वार गर्दै
    सदैव परौँ शरणमा ।
    ख)
    प्रेमको दीप बालौँ
    घृणाको पर्दा फालेर
    कृष्णझैँ पाइला चालौँ ।
    ✍️
    अम्बिका धिताल
    भक्तपुर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, त्रिवेणी साहित्य समाज हैरिस्वर्ग पेन्सिल्भेनिया अमेरिका, नारद आचार्य सुदामा, वसन्त अनुभव

    साउदका कृष्ण जन्माष्टमी विशेष झिल्का कविताहरू

  • १८ भाद्र २०८३, बिहीबार २१:१८ मा प्रकाशित
  • क)
    शुभकामना छ काना
    जन्मदिन तिम्रो आज
    माया अर्पन्छु माना ।
    ख)
    साक्षी राखेर कन्हैया
    भर्दछु ज्ञानकाे भण्डार
    अवश्य राधा मैया ।
    ग)
    राधा, कृष्ण प्यारा
    हुन् जगतका ईश
    पुज्छन् भक्त सारा ।
    घ)
    कृष्ण जगतका पति
    कुलका देव हाम्रा
    प्रिय लाग्दछ्न् अति ।
    ङ)
    साथ तिम्रो मिलाेस्
    अमर बनूँ काना
    खुसी मनमा खिलोस् ।
    च)
    ज्ञानकाे दीप कत्रो
    संसार उज्यालो पार्ने
    सगरको सूर्य जत्राे ।
    ✍️
    ईश्वर साउँद”भिक्षु”
    रामाराेशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged ईश्वर साउद (भिक्षु), झिल्का कविता, वसन्त अनुभव

    झिल्का कविता

  • १३ भाद्र २०८३, शनिबार ०७:४८ मा प्रकाशित
  • त्रिवेणी साहित्य मञ्च अमेरिकाको शुक्रवारीय झिल्का कविता अभ्यासका क्रममा समसामयिक विषयमा लेखिएका झिल्का कविताहरू-
    ••••••••••••••


    कतिको सास छिन्यो
    प्रलयकारी बाढी आएर
    बस्ती मेटाउँदै हिन्यो ।
    ✍️
    वसन्त अनुभव
    वसन्तविहार, दाङ
    ••••••••••••••
    प्राकृतिक प्रकोप अहित
    भोटेकोसीका दिवङ्गत आत्माहरूप्रति
    अश्रुपूरित श्रद्धाञ्जली समर्पित ।
    ✍️
    नारदप्रसाद आचार्य ‘सुदामा’
    संयुक्त राज्य अमेरिका
    ••••••••••••••
    बाढीले घर बगायो
    मासियो खेतबारी पनि
    स्मृति पीर जगायो ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहुँ
    ••••••••••••••
    सबैको साथ, सहयोग
    हुनुपर्छ यस विपत्तिमा
    हटाउन प्रकृतिको रोग ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ••••••••••••••
    भयो अकल्पनीय हानि
    हृदयविदारक यस प्रहारले
    मर्माहत भयो जिन्दगानी ।
    ✍️
    तोयानाथ चापागाईं
    दमक,झापा
    ••••••••••••••
    मानवता कता हरायो
    लुटे लासबाट गहना
    विश्व लाजले सर्मायो ।
    ✍️
    निमा छिरिङ भोटिया
    जलढाका कालेबुङ भारत
    ••••••••••••••
    जुटाऔंं सहयोगी हातहरू
    विपत्तिमा परेकालाई बचाउन
    उठाऔँ मनकारी माथहरू ।
    ✍️
    ईश्वर लामिछाने, धरान
    ••••••••••••••
    भोटेकोसी उर्लिई आयो
    बगायो सपना सारा
    पीडाको बादल छायो ।
    ✍️
    अम्बिका धिताल
    भक्तपुर
    ••••••••••••••
    सुधारौँ बानी व्यवहार
    उपकार गर्न नसक्नेले
    नगरौँ कसैको अपकार l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ••••••••••••••
    कता हरायो मानवता ?
    झिक्छौ गहना लासबाट
    व्यवहार तुच्छ दानवता ।
    ✍️
    पुस्पा न्यौपाने
    कैलाली
    ••••••••••••••
    मिलेर हातेमालो गरौँ
    विपत्तिमा साथ दिऊँ
    सहयोगमा अघि सरौँ ।
    ✍️
    रबिता महर्जन
    खोकना, ललितपुर
    ••••••••••••••
    आउँछ बाढी पहिरो
    ताण्डव मच्चाई जान्छ
    दिएर चोट गहिरो ।
    ✍️
    मिना मल्ल
    बझाङ बुङ्गल
    ••••••••••••••
    यतिसम्म धोका पाउँदा
    मानवता रत्तिभर छैन
    लुट्छन् लास आउँदा ।
    ✍️
    रामकृष्ण ढकाल
    चितवन
    ••••••••••••••
    देखाएन विपत्तिमा मानवता
    लासबाट गरगहना चाेरैर
    मानिसले देखायो दानवता ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    खाेटाङ ऐसेलुखर्क ३ हाल भक्तपुर ।
    ••••••••••••••
    घरबुढीलाई घरकै धन्दा
    भनेझैँ लागे लुट्न
    उठाउँदै आफूखुसी चन्दा ।
    ✍️
    बिबा तामाङ, दार्जिलिङ
    ••••••••••••••
    कस्तो विपद आयो
    हेर्दाहेर्दै भेलले कठै
    सारा बस्ती बगायो ।
    ✍️
    अर्पना चापागाईं
    विराटनगर , मोरङ
    ••••••••••••••
    आमाको काख रित्तियो
    रहेन बाँकी केही
    सबै सपना सिद्धियोे ।
    ✍️
    कृष्ण ब रावत, जाजरकोट
    ••••••••••••••
    बाढीले लग्याे आँगन
    भयाे सखाप बस्ती
    धर्मराए सम्पूर्ण जन ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    साँगा, बनेपा-१४ काभ्रे
    ••••••••••••••
    सपना पानीमा बग्यो
    एउटा सभ्यताको पुरै
    खुसी खोसेर लग्यो ।
    ✍️
    वैँशालु महेन्द्र
    लेटाङ नगरपालिका-८, जाँते, मोरङ
    ••••••••••••••
    प्रकृतिले प्रकोप ल्यायो
    रहेन ज्यानको मूल्य
    मानवता अझै सर्मायो ।
    ✍️
    नम्रत प्रधन
    तकदाह, दार्जिलिङ
    ••••••••••••••
    लासको मुन्द्री छोडेनन् 
    राक्षस दानवी मानवले
    मानवता कतै जोडेनन् ।
    ✍️
    सुनिता निरौला पौडेल 
    राधे राधे, भक्तपुर।
    ••••••••••••••
    आँखाबाट बग्दैछ निर
    कहिले थामिन्छ होला ?
    बाढी पहिरोको पिर ।
    ✍️
    अरुण कुमार भुजेल 
    गोरूबथान, कालेबुङ
    ••••••••••••••
    भोटेकोसीको बाढीले डुबायो
    निम्त्यायो राष्ट्रिय विपत्ति
    नेपालीलाई रुवाउनु रुवायो ।
    ✍️
    शोभाकान्त रेग्मी
    ••••••••••••••
    बन्यो प्रकृति बहिरो
    कहिल्यै निको नहुने
    घाउ दियो गहिरो ।
    ✍️
    प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना, सुर्खेत
    ••••••••••••••
    विपदको घडीमा धैर्यधारण
    गर्दै प्रार्थना गर्दछु
    होओस् दुःखको निवारण ।
    ✍️
    ध्रुव खड्का
    फेदीखोला १, स्याङ्जा ।
    ••••••••••••••
    अकस्मात् बाढी आयो
    लाखौँ धनजनको क्षति
    देशभर सन्नाटा छायो ।
    ✍️
    साबित्री प्याकुरेल, धादिङ
    ••••••••••••••
    हृदयमा मानवता भरेर
    मलम लगाउँ पीडितलाई
    सक्दो सहयोग गरेर ।
    ✍️
    विष्णु पंगेनी (पाण्डे)
    वालिङ, स्याङ्जा
    ••••••••••••••
    लासको बजार छायो
    रसुवा अनि नुवाकोटमा
    कालो दिन आयो ।
    ✍️
    प्रेम शर्मा “एकान्त प्रेमी”
    कालेबुङ
    ••••••••••••••
    अश्रुधारा झरेको बेला
    जतिसक्दो सहयोग गरौँ
    विपत्ति परेको बेला ।
    ✍️
    आर के भण्डारी
    ••••••••••••••
    छताछुल्ल भए लास
    प्राकृतिक प्रकोपले गर्दा
    बस्तीको भयो उठिबास ।
    ✍️
    रिमेन आलोक, अष्ट्रेलिया
    ••••••••••••••
    प्रकृतिको कस्तो खेल
    जनधन बगायो सारा
    अचानक बढेर भेल ।
    ✍️
    अम्बिका राणा
    खरसाङ दार्जिलिङ
    ••••••••••••••
    सपनाहरूको घर बगायो
    भोटेकोसीको उर्लदो बाढीले
    देशलाई दुखी बनायो ।
    ✍️
    क्षितिज बिरु राना
    वनगाड कुपिण्डे नगरपालिका ३ बडापोखरा सल्यान
    ••••••••••••••
    बगरको चारैतिर लास
    के गर्नु भगवान् ?
    रहेन कसैको बास ।
    ✍️
    रमा गुरुङ्ग
    सालुगडा सिलीगुडी
    ••••••••••••••
    कसरी कोरुँ अक्षरहरू ?
    अकल्पनीय प्रकृति प्रकोपको
    विक्षिप्त पीडाका भावहरू ।
    ✍️
    राजेन्द्र जि सी “यसत”
    ••••••••••••••
    नदेखेझैँ गर्छ लास
    मानवता हराउँदै गयो
    खोजेर हिँड्छ ग्यास ।
    ✍️
    माघब अधिकारी, अस्ट्रेलिया
    ••••••••••••••
    बनाएको मरी मरी
    सुन्दर घर बाढीले
    बगायो नि कठैबरी !
    ✍️
    नविन पागल मुस्कान
    हाल: बझाङ
    ••••••••••••••

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, त्रिवेणी साहित्य समाज हैरिस्वर्ग पेन्सिल्भेनिया अमेरिका, नारद आचार्य सुदामा, वसन्त अनुभव

    झिल्का कविता

  • ६ भाद्र २०८३, शनिबार २१:५१ मा प्रकाशित
  • त्रिवेणी साहित्य मञ्च अमेरिकाको अभ्यासशालामा आएका उत्कृष्ट झिल्का कविताहरू:

    क)
    मुटुमा राखौँ देश
    सुखदुःख जस्तो होस्
    नराखौँ कुनै क्लेश ।
    ख)
    नपुर्‍याई कुनै घात
    दिउँ योगदान स्वदेशमा
    जोडेर हातमा हात ।
    ✍️ वसन्त अनुभव
    वसन्तविहार, घोराही
    क)
    आनन्दमा निमग्न जून
    सङ्गीत सुनकोसी नदीको
    मीठो अलौकिक धून ।
    ख)
    शिक्षाको ज्योति बालेर
    चिर्नुछ निस्स्पष्ट अँध्यारो
    अभिमानको लप्को फालेर ।
    ✍️नारदप्रसाद आचार्य ‘सुदामा’
    संयुक्त राज्य अमेरिका
    क)
    मेहनत गरेर खाऔँ
    आफ्नै कर्ममा रमाई
    मुस्कानको गीत गाऔँ ।
    ख)
    ओठमा मुस्कान छरी
    अघि बढौँ निरन्तर
    बाँचौँ सत्कर्म गरी ।
    ✍️ अम्बिका धिताल
    क)
    छातीमा गाँठो पर्‍यो
    बुझ्नै सकिनँ आशय
    मायाले के गर्‍यो-गर्‍यो ।
    ख)
    कर्ममा दोष देखियो
    रोएर सधैँ बाँच्नुपर्ने
    कस्तो भाग्य लेखियो ?
    ✍️ विकल ‘आर्त्त’
    क)
    हरेक गाउँदेखि सहर
    हुँदैछ हेर खाली
    छ बिदेसिनेको लहर ।
    ख)
    स्वदेशमै केही गर
    कति बस्छौ मरुभूमिमा ?
    फर्केर आऊ घर ।
    ✍️ आर के भण्डारी
    क)
    सम्बन्ध रहन्न दिगो
    राख्यौँ भने कसैप्रति
    मैमत्ता दर्साउने इगो ।
    ख)
    देखिन्न चरित्र चित्रबाट
    झुक्किन्छन् कैयौँ मान्छेहरू
    आफ्नै अनन्य मित्रबाट ।
    ✍️ बाबुराम गौतम
    गुल्मी
    क)
    ठुलो घर बनायो
    छोराले दूर सहरमा
    घरमा ढुसी गनायो ।
    ख)
    छोरा आउने आसमा
    वृद्ध बाउआमा बस्छन्
    बाटो हेर्दै निराशमा ।
    ✍️ बिबा तामाङ
    दार्जलिङ
    क)
    लेख्दा मुक्तक, गजल
    रदिफ, काफिया मिलाई
    भएँ म पागल ।
    ख)
    मिलेर सबै दाजुभाइ
    हाँसखेल गर्दै रमाऔँ
    संसार आफ्नो बनाई ।
    ✍️ रिमेन आलोक
    अष्ट्रेलिया
    क)
    भाषा हाम्रो पहिचान
    संस्कृति बचाउँछ यसले
    गरौँ सदैव सम्मान ।
    ख)
    नेपाली भाषा हाम्रो
    बोल्दा लाग्छ आनन्द
    सुन्नमा कति राम्रो ।
    ✍️ अम्बिका राणा
    खरसाङ दार्जिलिङ
    क)
    टाढाबाट उडेर आयो
    एउटा सानो झिल्का
    मनमा आगो लगायो ।
    ख)
    अझै निराशा रोज्छु
    झ्यालबाट बाहिर हेर्दै
    किन सन्ध्या खोज्छु ?
    ✍️ कबिता कुँवर
    सिन्धुली ५भक्तिराम
    क)
    साइत छ राम्रो
    हुन्छ चाहेको हामीले
    एउटै सफर हाम्रो ।
    ख)
    मनमा सूर्य उदायो
    बलियो भयो मिलन
    सुतेका जति जगायो।
    ✍️ सुरेशकुमार पाण्डे
    घोराही,दाङ
    क)
    नगर्नुहोस् प्रेम सस्तो
    अमर रहोस् गाथा
    ती राधाकृष्णको जस्तो ।
    ख)
    उन्मुक्ति नपाओस् दागी
    कानुनबमोजिम हुने दण्डमा
    पीडक हुनुपर्छ सहभागी ।
    ✍️ वैँशालु महेन्द्र
    लेटाङ नगरपालिका-८, जाँते, मोरङ
    हाल:- माहे टापु, सिसेल्स, पूर्वी अफ्रिका
    क)
    सृजनाको मीठो लहर
    स्रष्टाको अमूल्य निधि
    रचनाका हरेक वहर ।
    ख)
    जिन्दगीका तिता व्यथा
    शब्दका पानामा कोरिन्छन्
    ओकल्दै आफ्नै कथा ।
    ✍️ तोयानाथ चापागाईं
    दमक,झापा,नेपाल
    क)
    समय आयो कस्तो ?
    स्वरूप हेर्दा मान्छे
    आचरण दानवको जस्तो ।
    ख)
    हुर्किएँ कस्तो परिवेशमा ?
    राम्रो काम गर्ने
    मान्छे भेटिनन् देशमा ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना, सुर्खेत
    क)
    देशको हालत सम्झेर
    भविष्यसँग म डराउँछु
    नेताहरूको पारा देखेर ।
    ख)
    मान्छे राम्रो बन्छ
    सफा मन व्यवहारले
    ऊ शिखर उक्लन्छ ।
    ✍️ नम्रत प्रधान
    तकदाह, दार्जिलिङ
    क)
    स्वार्थको संसार यहाँ
    संकट पर्दा बदलिने
    आफन्त भेटिन्छन् जहाँ ।
    ख)
    अस्मिता लुटिन्छ सडकमा
    निदाएको छ कानुन
    चेली बाँच्छन् डरमा ।
    ✍️ अर्पना चापागाईं
    विराटनगर, मोरङ
    क)
    भिकारी बनाए देश
    मौलायो अशान्तिको ज्वाला
    राम्रो छैन परिवेश ।
    ख)
    कला, संस्कृति, संस्कार
    हुन् धरोहर देशकै
    पहिचानको अहम् आधार ।
    ✍️ राजेन्द्र जि.सी “यसत”
    व्यास ११ फराकचौर,तनहुँ
    हाल प्रवास।
    क)
    पापको डर मान्नुपर्छ
    हामी हिन्दु धर्मावलम्बी
    आफ्नो कर्म जान्नुपर्छ ।
    ख)
    धर्मनिरपेक्ष देश हाम्रो
    सबै जातजाति धर्मावलम्बी
    मिलेर गर्नुपर्छ राम्रो ।
    ✍️ शोभाकान्त रेग्मी
    स्याङ्जा
    क)
    देशमा सङ्कटकाल ल्यायो
    पुर्खाले बचाएर राखेका
    सबै इज्जत गुमायो ।
    ख)
    कहिल्यै भ्रष्टाचारले छोडेन
    अप्ठ्यारो भयो यात्रा
    देशले सत्मार्ग रोजेन ।
    ✍️ अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    क)
    मोबाइलमै संसार हरायो
    समय छैन कसैसँग
    सम्बन्धमा शङ्का भरायो ।
    ख)
    पैसाले माया किन्यो
    मीठो लाग्छ झुट
    विश्वास पुरै छिन्यो ।
    ✍️ माधव अधिकारी
    अस्ट्रेलिया
    क)
    जाँदैछु साउदी कतार
    बोकेर मनमा तिर्सना
    बाध्य भएर लाचार ।
    ख)
    जूनको उज्यालो छरियो
    तिम्रो यादले सताउँदा
    मायाको सागर भरियो ।
    ✍️ ध्रुव खड्का
    फेदीखोला १, स्याङ्जा
    क)
    देशले विकास माग्छ
    नेता भनौदो त्यो
    भ्रष्टाचार गर्न लाग्छ ।
    ख)
    साहित्यमा कलम चलाएर
    कुसंस्कारकाे अन्त्य गरौँ
    चेतनाको दीप जलाएर ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    खाेटाङ ऐसेलुखर्क ३ हाल भक्तपुर
    क)
    बाँच्ने रहर भागिसक्यो
    बलात्कारको घटनाले देशमा
    सीमा नै नाघिसक्यो ।
    ख)
    न्याय पाउने कहिले ?
    ती अबोध बालिका
    अकालमा मर्नुपर्ने जहिले ।
    ✍️ साबित्री प्याकुरेल
    धादिङ
    क)
    मनसँगै कलम चलाएर
    मनका भावना पोखौँ
    साहित्यिक यात्रा समाएर ।
    ख)
    आत्मविश्वास बढाऊँ अब
    हत्यारालाई सजाय दिलाई
    कुसंस्कार हटाऊँ सब ।
    ✍️ पुस्पा न्यौपाने
    कैलाली
    क)
    जान्छ जोबन बगेर
    खेर नफाल्नू कहिल्यै
    रोकिँदैन फेरि रोकेर ।
    ख)
    माया जातको कुरा
    नगर्नू कहिल्यै पनि
    चल्छ मुटुमा छुरा ।
    ✍️ सुर्य गाहा मगर
    क)
    दुःखमा पनि चल्दैछ
    जीवन सुखमा झैँ
    इर्ष्यालु आँखा जल्दैछ ।
    ख)
    पाप नपखालिने धुँदा
    फुट्छ वेदनामा भक्कानो
    अतीत सम्झी रुँदा ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    क)
    स्वार्थी भएछ सहर
    त्यसको भरमा पर्दा
    बिग्रियो सुन्दर घर ।
    ख)
    भुल्न सकिएनँ गाउँ
    जहाँ बालापन बित्यो
    थियो आनन्दको ठाउँ ।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ
    क)
    कतिन्जेल खानु हार
    चाहिँदैन केही अरू
    न्याय देऊ सरकार ।
    ख)
    सपना अधुरै पार्‍यो
    तीन वर्षकी बालिकालाई
    बलात्कार गरी मार्‍यो ।
    ✍️ शब्दयात्री लम्साल
    दुल्लु -१२ लम्सु ,दैलेख
    क)
    छोरी देश चलाऊ
    बलात्कार गर्ने राक्षसलाई
    कानुन बनाई जलाऊ ।
    ख)
    लक्ष्मी हुन् छोरीहरू
    हाँसून् उन्मुक्त आकाशमा
    चुडाई बन्धन डोरीहरू ।
    ✍️ प्रेम शर्मा “एकान्त प्रेमी”
    कालेबुङ
    क)
    बिचरी गरिमा नानी
    क्रूर अपराधी आएर
    खत्तम पारिदियो जिन्दगानी ।
    ख)
    पाओस् पापीले दण्ड
    जलिरहोस् पापको घडामा
    पीडा पाएर प्रचण्ड ।
    ✍️ रामकृष्ण ढकाल
    चितवन
    क)
    सीमा छैन अपराधको
    दिनदिनै किन चल्दैछ
    सिलसिला यहाँ अत्याचारको ।
    ख)
    मान्छे भ्रष्ट भएपछि
    यस्तै हुने रहेछ
    गलत विचार रहेपछि ।
    ✍️ शिवराज जोशी `मनबन्धु´
    बुङ्गल ११, बझाङ
    क)
    ऋण लिँदा सानो 
    आफैँलाई दिन्छन् धम्की 
    कुरा गर्छन् मानो ।
    ख)
    उज्यालो हुन्छ मुहार 
    सफा राख मनलाई 
    कसैसँग नमाग्नु गुहार ।
    ✍️ सुनिता निरौला पौडेल 
    हाल – राधेराधे भक्तपुर
    क)
    सफा राखौँ मन
    कसैलाई मन नदुखाई
    खुसी हुन्छ जन ।
    ख)
    छोरी भएर जन्मिनु
    अभिशाप थियो र ?
    पराई घर अन्मिनु ।
    ✍️ रमा गुरुङ्ग
    सालुगडा सिलीगुडी
    क)
    धर्मकर्म अनि भेषमा
    विदेशी संस्कार, संस्कृति
    आउँछन् हाम्रो देशमा ।
    ख)
    न शिक्षाले दियो
    राम्रोसँग खान, बस्न
    खाडी भाग्यमा थियोे ।
    ✍️ कल्पना राई वेदना
    क)
    हातमा हात राखेर
    साथ मिल्दैन यहाँ
    स्वार्थी माया मागेर ।
    ख)
    आँसु पिउनु पर्‍यो
    तिमीले छोडेर जाँदा
    जिउने रहरै मर्‍यो ।
    ✍️ हिरा बुढा मगर ‘अमृत’
    शारदा नगरपालिका–१४, सल्यान
    क)
    फरक भएर चल्ती
    कहिलेकाहीँ हुने रहेछ
    अन्जानमा यहाँ गल्ती ।
    ख)
    धेरै भ्रमहरू नछरी
    आफैँमा विश्वास गरौँ
    कसैको भरमा नपरी ।
    ✍️ विष्णु पंगेनी(पाण्डे)
    वालिङ ,स्याङ्जा
    क)
    हामी एकतामा बसौँ
    कसैले हेप्न नसकोस्
    क्रान्तिमा कम्मर कसौँ ।
    ख)
    एकतामा बल हुन्छ
    झुकाउँछ सरकार पनि
    हारमा सधैँ रुन्छ ।
    ✍️ बिधुत गुरूङ
    गोरुबथान
    क)
    नयनमा चम्क्यो तारा
    मनभरि चाहना जाग्यो
    जीवनभरि छायो सहारा ।
    ख)
    मनभित्र जाग्यो आस
    अँध्यारो हराउँदै गयो
    नयनभरि पलायो विश्वास ।
    ✍️ सतीश पण्डित
    भानु६ चुँदी तनहुँ
    क)
    निशब्द रात बोलिरह्यो
    चन्द्रकिरणको पत्र बनी
    मनभित्र कोही आइरह्यो ।
    ख)
    ओइलिएको फूल झरेर
    सुगन्ध छोड्छ सधैँ
    मायाले पनि मरेर ।
    ✍️ नागेन्द्र भट्टराई
    अष्ट्रेलिया

    क)
    जिन्दगी अनौठो खेल
    दोष दिँदै भाग्यलाई
    नबगाऊ आँसुको भेल ।
    ख)
    अधुरो प्रेमको सार
    सकियो सम्झनाको बाटाे
    गरेँ दु:खलाई पार ।
    ✍️मिना मल्ल
    बझाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, त्रिवेणी साहित्य समाज हैरिस्वर्ग पेन्सिल्भेनिया अमेरिका, नारद आचार्य सुदामा, वसन्त अनुभव

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P