एउटा विवाहको फरक दृश्य जसले देखाउँछ परम्पराको बदलिँदो तस्बिर

  • १२ फाल्गुन २०७८, बिहीबार १०:४१ मा प्रकाशित
  • विवाहको मण्डपमा दुईजना पण्डित मन्त्र पढिरहेका थिए। पण्डित भन्ने बित्तिकै धेरैको कल्पनामा सामान्यतया पुरुष पात्र देखिन सक्छन्, तर यहाँ दुवै पण्डित महिला थिए। उनीहरूको निर्देशन अनुरूप बेहुला र बेहुलीले विधि पूरा गर्दै थिए। 

    नेपाली समाजमा परम्परागत ढङ्गमा हुने विवाहभन्दा फरक देखिएको यस विवाहलाई क्यामेरामा कैद गरिरहेकी थिइन् अर्की महिला नै। 

    विवाह थियो काठमाण्डूकी सुवेक्षा पौडेलको।

    चलनचल्तीको विवाह समारोहभन्दा फरक लाग्ने यस समारोहबारे तब चर्चा भयो जब ‘टेल्स अफ मोडर्न बुहारी’ नामक इन्स्टाग्राम ह्यान्डलमार्फत् एउटा प्रश्न सार्वजनिक भयो: ‘तपाईँले आफ्नो विवाहमा कुन एउटा विधि त्याग्नुभयो?’

    एउटा होइन यस प्रश्नको जवाफको लामै सूची थियो सुवेक्षासँग। 

    उनले प्रश्नकर्तालाई किटेर लेखिन्- “मैले कन्यादान र खुट्टा धुने विधि त्यागेँ। श्रीमान्‌ले श्रीमतीलाई मात्र सिन्दूर लगाइदिने परम्पराविरुद्ध आफूले पनि श्रीमान्‌लाई सिन्दूरको टिका लगाइदिएँ। श्रीमान्‌को खुट्टा ढोग्नुको साटो सहमतिमै एक अर्कालाई नमस्ते गर्‍यौँ।”

    ती चलनहरू लैङ्गिक हिसाबले विभेदकारी लागेका कारण आफूले नअपनाएको ३० वर्षीया उनी बताउँछिन्।

    उनको प्रतिक्रिया सामाजिक सञ्जालमा छाउन समय लागेन। केहीले उनको कदमलाई पितृसत्ता विरुद्धको बलियो सन्देश भएको बताए। केहीले आलोचना पनि गरे, तर औसतमा अधिकांश सन्देश सकारात्मक देखिए।

    “जबदेखि मैले विवाह संस्थाबारे अध्ययन गर्न थालेँ तबदेखि मलाई विभेदपूर्ण लागेका विधि, परम्परा नमान्ने सोच बनाएकी हुँ,” उनले बीबीसीसँग भनिन्।

    लैङ्गिक रूपमा आफूलाई असमान लागेका र पितृसत्ता प्रोत्साहित गर्ने जस्ता चलन आफूले त्यागेको उनी बताउँछिन्। 

    त्यसका लागि उनी नेपाली समाजमा स्थापित केही परम्पराविरुद्ध उभिइन् जसले उनको विवाहको दृश्यलाई चलनचल्तीको विवाह समारोहभन्दा भिन्न बनायो।

    दुई महिला पण्डित दायाँबाट क्रमश: रुसा र सुनिता

    महिलामैत्री र समावेशी विवाह

    सुवेक्षाको विवाह मण्डपमा किशोरावस्थामा रहेका दुई महिला पण्डितले मन्त्रोच्चारणसहित बेहुलाबेहुलीलाई विधि सिकाइरहेका थिए। समाजमा हुँदै आएका विवाहहरूमा महिला पण्डित विरलै देखिन्छन्।

    “देवघाटको एक अनाथालयमा विभिन्न समुदायका महिलालाई उनीहरूको जात र अन्य पृष्ठभूमिको पर्वाह नगरी संस्कृत सिकाइँदो रहेछ। त्यहीँबाट दुई जनालाई पण्डित बनिदिन आग्रह गरेका हौँ,” सुवेक्षाले जानकारी दिइन्।

    उनको विवाहको दृश्य सृष्टि मगरले खिचेकी हुन्। 

    “महिला फोटोग्राफर खोज्दै केही व्यावसायिक स्टुडियोहरूमा फोन गरेँ। उनीहरूमध्ये कतिले मलाई- विवाहजस्तो उत्सवमा महिलालाई फोटो खिच्न लगाएर जोखिम नमोल्नु भन्ने सल्लाह दिए। मलाई त्यो कुरा निकै पक्षपाती महसुस भयो। त्यसपछि महिला नै खोज्ने मेरो इच्छा थप बलियो भयो,” उनले सुनाइन्।

    “अन्ततः मेरो भेट सृष्टिजीसँग भयो र उहाँले सम्झन लायक क्षणहरूलाई सुन्दर ढङ्गमा कैद गरिदिनुभयो।”

    आफ्नो विवाहमा आएको प्रतिक्रियाले ऊर्जा प्रदान गरेको उनी बताउँछिन्।

    किन आवश्यक लाग्यो परिवर्तन?

    सुवेक्षा र उनका श्रीमान् प्रज्जवलले कानुनी प्रक्रिया अनुरूप विवाह गरिसकेका थिए। दुवैजना परम्परागत रूपमा विवाह नगर्न सहमत थिए। केही वर्षअघि मात्र सुवेक्षाले दिदी गुमाइन्। 

    त्यो वियोगपछि उनका आमाबुवाले पनि सामाजिक संस्कारभन्दा बढी जोड छोरीको इच्छा र खुसीलाई नै दिए।

    “ठूलो वियोग भोगेको परिवारलाई सामाजिक दबाव गौण लाग्दो रहेछ।”

    तर, सिन्दूर पोते गर्नुपर्ने आफन्तको तर्क र दबावपूर्ण वातावरणले उनको निर्णय उल्टाइदियो।

    “गर्नै पर्ने भए आफ्नो तरिकाले गर्छु नत्र गर्दिनँ भन्ने कुरा प्रस्टसँग राखेँ। त्यसपछि हामीलाई विभेदपूर्ण लागेका विधि त्याग्ने, महिलामैत्री र समावेशी बनाउने योजना बनेको हो,” उनले भनिन्।

    समाजशास्त्र अध्ययन गरेकी उनलाई विवाहमा हुने कन्यादानको ‘दान’ शब्दले छोरीलाई गाई वा वस्तु सरह चित्रित गरेको भान हुने गरेको उनले बताइन्। 

    उनलाई विवाहित हुनुको सङ्केत सिन्दूर वा पोते महिलाले मात्र लगाउनुपर्ने नियम, खुट्टा धुनुपर्ने चलन आदिप्रति पनि आपत्ति रहेछ।

    त्यसपछि हो उनले ती चलनविपरीत प्रस्तुत हुने र आफ्नो पक्षबाट सक्ने जति लैङ्गिक समानता र समावेशिता कायम राख्ने योजना बनाएको। 

    महिला पण्डित र फोटोग्राफरको खोजी गरेको। जसबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भयो। तर सुवेक्षा स्वयंलाई आफूले चालेको कदम निकै सानो लाग्दो रहेछ।

    ब्राह्मण परिवारकी उनलाई लाग्छ जन्मजात पाइने केही विशेषाधिकारले नेपाल र दक्षिण एशियामा निकै असर पुर्‍याएको छ। र, ती असर न्यूनीकरण गर्न असमानता झल्कने केही स्थापित परम्परागत विधि भत्काउने महिलाहरूबाट आफूलाई प्रेरणा मिलेको बताउँछिन्। 

    “म केही महिलाबाट प्रभावित छु। सिक्नुपर्ने धेरै कुरा छन् र म सिकाइको प्रक्रियामा छु।”

    समानता र समावेशितालाई आफूले ‘आजीवन प्रतिबद्धता’ बनाएको उनले जिकिर गरिन्। र आफूले महिला र पुरुषबीचको समानता मात्र नभई हरेक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, जातीय समुदाय, अपाङ्गता भएका मानिस र आर्थिक- सामाजिक रूपमा पछाडि परेकाहरू र समानता पाउनका लागि अझै पनि विविध अड्चन भोग्न बाध्यहरूको मुद्दालाई आफ्नो जिम्मेवारी ठानी वहन गरेको बताइन्।

    “यो रहर वा इच्छा लागेर गर्ने काम होइन। यो त हामीले निर्वाह गर्नै पर्ने जिम्मेवारी हो।”

    विद्यालयमार्फत् व्यावहारिक प्रयास

    सुवेक्षाको परिवारले उनकी दिदी संवृद्धि को सम्झनामा स्थापित “पुकु दिदी फाउन्डेसन”मार्फत्‌ शिक्षामा सीमान्तकृत समुदायको समान पहुँचका लागि काम गर्दै आएको छ। 

    सर्लाही जिल्लास्थित पुर्ख्यौली गाउँ शिक्षाको क्षेत्रमा निकै पछाडि छुटेको भान भएकाले उनको परिवारले सर्लाहीका बालिकाहरूको शिक्षामा जोड दिएका छन्। 

    विशेषगरी मुस्लिम र दलित बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन्। “यो हाम्रो दायित्व हो।”

    घरमा महिनावारी नबार्न कलिलो छँदै लिएको अडानदेखि विवाहमा ‘आफ्नो इच्छाअनुसार गर्छु’ भन्न सक्ने निर्णयसम्म आइपुग्दा स-साना प्रयासहरूले भूमिका खेलेको उनको विश्वास छ।

    उनले आममानिसको प्रतिक्रियालाई नजिकबाट नियालेकी छन्। तीमध्ये केहीलाई निकै गहन र छलफलका आवश्यक महसुस गरेकी छन्।

    “कसैले भन्नुभएको छ- जे गरे पनि यो विवाह भन्ने संस्था नै समस्याग्रस्त छ। विवाहपछि महिला पुरुषकै घर जानुपर्ने नियमदेखि अन्य बाध्यात्मक अवस्थाहरू। मेरो विवाह पनि प्रगतिशील त देखियो, तर विवाहलगत्तै अरू समस्याग्रस्त सामाजिक नियम छन् जसविरुद्ध अझै बलियो भएर डट्नुपर्छ।”

    आफूलाई आफ्नो चाहनाअनुसार विवाह गर्न कसैले रोकतोक नगरेको तर अन्य कतिपयलाई त्यस्तो गर्न असम्भव रहेको उनको बुझाइ छ।

    “यो गलत हो र हामीले समाजको रूपमा यस्ता विभेदलाई कम गर्न प्रयास गर्नुपर्छ।”

    सामान्यीकरणको खोजी

    सुवेक्षाले आफ्नो विवाहमा केही नियम नमान्दा अधिकांश मानिसले त्यसलाई स्वागत गरेको देखिन्। तर अन्तर्जातीय वा समलिङ्गीहरूले विवाह गर्दा मानिसले प्रायः नकारात्मक र केही घटनामा हिंसात्मक प्रतिक्रिया जनाएको देखेकी छन्।

    यस विषयमा सहमति जनाउँछिन् समलिङ्गी स्वस्तिका परियार।

    “एक महिला र एक पुरुषको विवाहमा देखिएका परिवर्तनलाई असामान्य भन्दै स्वीकार्न सक्ने समाज अन्तर्जातीय वा समलैङ्गिक विवाहलाई किन स्वीकार्न सक्दैन?,” उनी प्रश्न गर्छिन्।

    “आखिर परिवर्तन त संस्कारसँग मात्र होइन सामाजिक, लैङ्गिक विभेदविरुद्ध पनि आवश्यक छ नि?”

    हाल टिकटक वा फेसबुकमा थुप्रै समलैङ्गिक जोडी विवाह गरेको वा सँगै बसेको जानकारीसहित बाहिर देखिएका छन्। यसलाई परिवर्तनको एउटा खुड्किलो मान्न सकिए पनि कानुनले वर्जित गरेको विषय भएकाले समस्या यथावत् रहने उनी बताउँछिन्।

    “विवाह दर्ता हुँदैन। कोठा खोज्न हिँड्दा विवाहित जोडीले समेत दिदीबहिनीको सम्बन्ध पुष्टि गर्नुपर्छ। कानुन नभएपछि हिंसा भएको खण्डमा सहनु र चुप लाग्नुको विकल्प हुँदैन,” उनले समस्याहरूबारे बोलिन्।

    राज्यले महिला र पुरुषबीचको मात्र नभई व्यक्ति र व्यक्तिबीचको विवाहलाई मान्यता दिनुपर्ने उनको तर्क छ।

    लैङ्गिकता तथा यौनिकता पहिचान मानिसको जैविकता र मानसिकतासँग जोडिएको पाटो हो। त्यसैले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको विवाहलाई कानुनले बाटो खोलिदिए यस विषयमा सामाजिक धारणा पनि बदलिँदै जाने उनी बताउँछिन्।

    २०५८ सालमा एउटै गाउँका पुरुषसँग अन्तर्जातीय विवाह गरिन् गोर्खाकी विन्दु परियारले। उनको विवाहपछि गाउँको मेलापातदेखि पूजा, भोजसमेत विभाजित भएको उनी सम्झन्छिन्। सामाजिक प्रभावका कारण आफ्नी छोरीलाई मनोवैज्ञानिक परामर्श दिनु परेको उनले सुनाइन्।

    “विवाह भएको ६ वर्षपछि छोरी जन्मिइन्। छोरी जन्मिएपछि घरमा बोलाइयो, तर भान्सामा पस्न दिइएन, बाहिर बसेर खानुपर्थ्यो। श्रीमान्‌को बुवा मसँग मात्र होइन उहाँसँग समेत बोल्नुभएन,” उनले भनिन्।

    हेपाहा प्रवृत्तिको मारमा उनीहरूकी सानी छोरी पनि परिन्। आफ्नी आमा दलित भएकै कारण विभेद भोग्नुपरेको थाहा पाएपछि छोरी आफूबाट टाढिएको उनी सुनाउँछिन्।

    “उसलाई निकै सम्झाउनुपर्‍यो। दुई वर्ष लामो परामर्शपछि उनी आमाबुवाको अन्तर्जातीय विवाहका कारण भोग्नुपरेको विभेदको असरबाट उम्कन सकिन्।”

    आजभोलि अन्तर्जातीय विवाह सङ्ख्यात्मक हिसाबमा बढे पनि दलित समुदायका हरूले कथित गैरदलितहरूसँग विवाह गर्नुलाई सामान्य मान्ने नगरिएको उनको धारणा छ। 

    आफ्नो विचार पुष्टि गर्न अजित मिजार, नवराज विक लगायतको उदाहरण दिइन्।

    “अन्तर्जातीय विवाहलाई विचारदेखि व्यवहारसम्म स्वीकार्य हुने स्थिति बनाउनुपर्‍यो। हामीभन्दा अघिको पुस्ताले सिकाएको विभेदमा हाम्रो पुस्ताले अडान लिनु भएन,” उनी समाधानको उपायबारे बोलिन्।

    सुवेक्षा, स्वस्तिका र विन्दुहरूको आवाजमाथिको जोडदार ऐक्यबद्धता भएको बताउँछिन्।

    विवाहको बद्लिँदो तस्बिर

    अनुसन्धानकर्ता एवं मानव अधिकारकर्मी जीनिता विश्वकर्मा नेपालको कानुनले अन्तर्जातीय विवाहलाई वैधता दिए पनि समाजले सामान्य नमानेका कारण कैयौँ जोडी आफूलाई सुरक्षित महसुस नगर्ने बताउँछिन्। 

    “विवाह प्रत्यक्ष रूपमा वंश र धर्मसँग जोडिएको कारणले विवाहमा “जातिगत शुद्धता”लाई विषेश महत्त्व दिएको पाइन्छ,” उनले भनिन्।

    समाजशास्त्री डा. मीना पौडेल भने विवाहको बद्लिँदो चित्र अर्थ र आत्मनिर्भरतासँग सम्बन्धित भएको बताउँछिन्।

    “पहिले विवाह धर्मसँग जोडिएको थियो। कन्यादान गर्नु, रजस्वला हुनु वा सानैमा छोरीलाई विवाह गरेर पठाउनु पुण्य कमाउनु हो भन्ने मान्यता थियो। तर यो बाहिरी विश्वास हो,” डा. मिनाले प्रस्ट्याइन्।

    “मूल रूपमा भने यो महिलाको आर्थिक पराधीनतासँग जोडिएको थियो जहाँ छोरीलाई हुर्किसकेपछि उसलाई पालिदिने वर खोजिदिने विषय थियो।”

    पहिले महिला शिक्षा र रोजगारीबाट टाढा रहने भएकाले त्यसो भए पनि अहिलेका विवाह आधुनिकता, अधिकार, आत्मनिर्भरता र अर्थसँग जेलिएको उनको तर्क छ।

    “समग्रमा विवाह असमान सामाजिक सम्झौता हो जसमा पुरुष स्वतन्त्र रहन्छन् भने जिम्मेवारी र नियमहरूको भारी महिलासँग हुन्छ। जसले उनीहरूलाई तल पार्छ,” उनले भनिन्।

    सुवेक्षा त्यस्तै असमानतालाई सङ्केतदेखि व्यवहारको पक्षबाट सन्तुलित बनाउने प्रयासमा रहेको बताउँछिन्। त्यही अठोटका कारण उनको विवाह समारोह परम्परागत विवाहहरूभन्दा फरक देखियो।

    “मैले साथै अन्य दिदीबहिनीले समानताका लागि आफ्नो विवाहमा उठाएको कदमहरू केवल सानो सुरुवात हो। हामी सबैले थप गर्न अत्यन्त जरुरी छ र आफ्नो क्षमताभन्दा अझै बढी कोसिस गर्नु नै हाम्रो दायित्व हो,” सुवेक्षाले भनिन्।

    Leave a Reply

    Your email address will not be published.