• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: विचार

५ बुँदे निर्णय सहित अभिभावक संघ नेपालको बैठक सम्पन्न

  • ३२ श्रावण २०८०, बिहीबार ०७:२५ मा प्रकाशित
  • अभिभावक संघ नेपालको केन्द्रीय स्टेन्डिङ्ग कमिटीको बैठक साउन ३१ गते ललितपुरको मान भवनमा सम्पन्न भएको छ । संघका अध्यक्ष केशव पुरीको सभापतित्व, नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीको प्रमुख आतिथ्य र कोशी प्रदेशका संयोजक देवी पन्थीको विशेष आतिथ्यमा बैठक सम्पन्न भएको हो ।

    बैठकले निम्नलिखित बुँदामा व्यापक छलफल गरी निर्णयमा पुगेको थियोे ।

    १. नेपाल सरकारले शिक्षा ऐन परिमार्जन गर्दै शिक्षा विधेयक २०८० सरोकारवालासँग छलफल नगरी ल्याउने प्रयास गरेकोमा अभिभावक संघ नेपालको विरोध रहेको छ। बैठकले निजी विद्यालय गुठीमा जाने या कम्पनी ऐन अन्तर्गत रहने सम्बन्धित विद्यालयको ऐच्छिक विषय भएकाले गुठीमा जान बाध्य गराउनु नेपालको संविधान २०७२ विपरीत रहेको ठहर गरेको छ। शिक्षा उपभोगमा सरोकार राख्ने सरोकारवाला संघसंस्थाको भूमिका निश्चित नगरी विधेयक ल्याएमा शिक्षा मन्त्रीको राजीनामा माग गर्ने निर्णय गरिएको छ। यसका लागि संघको एक प्रतिनिधि मण्डल सचेत गराउन अविलम्ब शिक्षा मन्त्रालय पुग्ने निर्णय गरिएको छ।

    २. बैठकले सामुदायिक विद्यालयले कक्षा बाह्रसम्मको शिक्षा अनिवार्य निशुल्क शिक्षा प्रदान गर्नुपर्नेमा अंग्रेजी माध्यममा पढाउने बाहानामा चन्दा, सहयोग आदि शीर्षकमा लिइरहेको शुल्कलाई अवैध ठहर गरेको छ।

    ३. बैठकले संघको जिल्ला , प्रदेश र केन्द्रीय सम्मेलन ६ महिनाभित्र सम्पन्न गरिसक्ने निर्णय गरेको छ।

    ४. बैठकले अभिभावक संघ नेपालको मुखपत्र
    “अभिभावक आवाज ” प्रकाशित गर्ने निधो गरेको छ।

    ५. बैठकले अभिभावक संघ नेपालको सदस्यता शुद्धीकरण अभियान चलाउने निर्णय गरेको छ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, विचार, समाजLeave a Comment on ५ बुँदे निर्णय सहित अभिभावक संघ नेपालको बैठक सम्पन्न

    विस्तृत शान्ति सम्झौता : के थियो, के भएन ?

  • २४ फाल्गुन २०७९, बुधबार ०९:५४ मा प्रकाशित
  • काठमाडौं । सर्वोच्च अदालतले माओवादी जनयुद्धका सुप्रिमो कमान्डर रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न आदेश दिएपछि १० वर्षिय सशस्त्रद्धन्द्ध अन्त्यकालागि गरिएको प्रमुख कडी वृहत शान्ति सम्झौताका विषयमा चर्चा चुलिएको छ ।

    दर्ताको आदेशपछि पक्ष–विपक्षमा मतहरू विभाजित देखिन्छन् । अझ् मंगलबार प्रचण्डविरुद्ध रिट नै दर्ता भएपछि त विस्तृत शान्ति सम्झौता र त्यसमा समेटिएका विषयमा सतहमै बहस छेडिएको देखिन्छ ।

    जब सर्वोच्च अदालतले माओवादी सशस्त्र द्धन्द्धका सुप्रिमोविरुद्ध रिट दर्ता गर्न पाउने आदेश दियो त्यसपछि जनयुद्धपछि टुक्राटुक्रामा विभाजित माओवादीहरू एकै ठाउँमा उभिएका छन् ।

    ८ टुक्रामा छरपष्ट रहेका माओवादी अदालतको यसै आदेशपछि एकै ठाउँमा उभिएर रिटको विरोध मात्रै होइन चेतावनी नै दिएका छन् ।

    प्रचण्डविरुद्ध द्धन्द्धकालिन समयलाई जोडेर रिट दर्ता हुनु विस्तृत शान्ति सम्झौता विपरित हो भन्दै माओवादी नेताहरु सम्झौता विपरित गतिविधि बढाएर अशान्ति ल्याउन खोजीरहेको बताइरहेका छन् ।

    के छ विस्तृत शान्ति सम्झौतामा ?

    सशस्त्र युद्धको औपचारिक अन्त्यको घोषणा

    माओवादी सेना, हतियारको र नेपाली सेनाको हतियारको संयुक्त राष्ट्रसंघद्वारा प्रमाणीकरण र अनुगमन
    माओवादीद्वारा कब्जा गरिएका सम्पूर्ण सम्पति फिर्ता

    मानव अधिकर र अन्तराष्ट्रिय मानवअधिकर सम्बन्धी कानूनहरूको पूर्ण पालना

    राजाको सम्पूर्ण राजनीतिक अधिकारको अन्त्य

    उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन

    माओवादी सेनाका लडाकुहरूको रेखदेख समायोजन र पुनर्स्थापना

    युद्धबाट पीडित र विस्थापित व्यक्तिहरूको ससम्मान पुनर्स्थापना

    हातहतियार, गोलीगठ्ठा र विस्फोटक पदार्थ साथमा लिई आवतजावत गर्नु गैरकानुनी लगायत विषय समेटिएका छन् ।

    २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोहीका तर्फबाट तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।

    योसँगै दशक लामो द्वन्द्वबाट मुलुकले मुक्ति पाएको थियो । तर, संक्रमणकालीन न्यायलाई टुंगोमा पु-याउने सहमति कार्यान्वयनमा आउन नसक्दा आजको स्थिति बन्न पुगेको विश्लेषण हुन थालेको छ ।

    यसका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन भए पनि द्वन्द्वपीडितले न्यायको महसुस गर्न सकेका छैनन् । झण्डै डेढ दशक बढि समयसम्म पनि संक्रमणकालीन न्याय निमटारा लाग्न नसकेपछि अन्तर्राष्ट्रिय समुदायले समेत चासो व्यक्त गर्दै आएका छन् ।

    सभार: न्युज २४टिभीबाट

    Posted in मुख्य खबर, राजनीति, विचारLeave a Comment on विस्तृत शान्ति सम्झौता : के थियो, के भएन ?

    फेसबुके खेती, समयको क्षति 

  • १८ असार २०७९, शनिबार १४:३९ मा प्रकाशित
  • घर आएको भोलिपल्टै उ शहर फर्की। यत्रो समयपछि गाउँ आएकी छोरी। दुईचार दिन गाउँमै बसोस्, दही–दूध खाओस्, अलिकति भने पनि मोटाओस् भन्ने सोझा बाउआमाको चाहना। आमाबाबुको मन छोराछोरी माथि छोराछोरीको मन ढुङ्गामुढा माथि भन्ने उखान यत्तिकै बनेको होइनरहेछ। छोरी आधुनिक हुनु पनि बाबुआमालाई साह्रै पिरलो पो हुँदोरहेछ नि !

    गाउँमा वाईफाई छैन। त्यसैले हाईफाई पनि छैन। अरु त परै जाओस् टेलिफोनको टावर पनि राम्रो छैन। द्वन्द्वकालमा माओवादीले भत्काएको टावर अहिलेसम्म पनि बनेको छैन। त्यही गाउँको टावर भत्काउने नेता तीन–तीन पटक संचार मन्त्री भइसके।त्यही गाउँको तिनैले भत्काएका टावर अहिलेसम्म उस्तै। उनीहरू कस्ता धनाढ्य भैसके गाउँ द्वन्द्वकालकै बुढो लौरो टेकिरहेछ। अहिलेको समय संचार र सोसल मिडियाको हो रे ! सबका सब भुलेका छन्। मस्त छन्। चुस्त छन्। सब चार इन्चीको पर्दामा रमाएका छन् मानौं मोबाइल र फेसबुक भनेको मान्छेलाई ज्यूँदो छु भन्ने प्रमाणदेखि रमाइलो गर्ने एउटा वैधानिक वेश्यालय जस्तो !यसैमा केटाकेटीको अन्तरङ्ग गफ। चुम्बन चाटाचाट–साटासाटदेखि देह देखाउने लीलागिरी थलो पनि। सेल्फीको चुच्चे नाक होस् या बुद्धि बङ्गारो खुस्केको हाब्रे मुख, सिंगानदेखि अल्छीको वैराग्य विरहसम्म यही फेसबुकमै देखाइन्छ। भागेर बिहे गर्ने कुरादेखि साँधेर अचार खाने कुरासम्मको घटना र विचारको पौडी पोखरी हो फेसबुक।घाटमा जलाएको लासदेखि खाएको गाँससम्म यसमै उत्तानिन्छ। उसो त काम नभएका बेरोजगारीहरुलाई समय कटाउने, गफ पड्काउने, विचार छड्काउने मेसो पनि हो फेसबुक। जतिबेला पनि केटालाई केटी र केटीलाई केटो उपलब्ध हुने आधुनिक रत्नपार्क भनेको अहिलेको फेसबुक हो। गाडीमा झन्डा हल्लाउनेदेखि पिंढीमा कोक्रो हल्लाउनेसम्मका उत्तरआधुनिक कथा यसमै पोख्छन् मनुवा।बुढो भएका बाउ भैंसीको भकारो सोर्ने, सत्तरी नाघेकी आमा डोको नाम्लोले तालु कुच्याउने जिन्दगी घिच्याउने ! यता तरुण छोराछोरी जतिबेला पनि घोप्टिंदै मोबाइलको मेसेन्जरमा समय सिध्याउने। एउटा विचित्रको घोप्टे रफ्तार हो फेसबुके लीला।

    बल्लतल्ल घरमा आएकी छोरी। दु:खसुखका कुरा गर्ली, पढाइका कुरा गर्ली, मलाई यो चाहियो, मलाई उ थोक चाहियो भनेर भन्ली भनेको त मोबाइलमै झुन्डिएको देख्दा विचरा आमाबाबु आफैं लज्जित पो भए। मोबाइल नकिन्दिंदासम्म त राम्रोसँग बोल्थी। आमाबाबुका दु:ख बुझ्थी। जब आइफोन मोबाइल किन्देको छोरी त छोरी जस्ती छैन।

    दुई दिन बसेर उ निस्की। उसलाई शहर नै प्यारो रे ! बाबुआमा थोत्रा भए उसका लागि। उ आधुनिक शहरिया। गाउँ त ओढार भयो उसको लागि। बाले माया गरी बोलाउने प्यारो नाम छ्यङ्री हो उसको। यो उसको नाम छ्याङ्री जुर्नुमा पनि रोचक कुरो छ। तामाङ बस्तीमा जन्मेकी उ। बच्चामै एउटी गुरुङ्सेनी फुपूले बेस्सरी छ्याङ ख्वाएर नचाइछन्। त्यसबेलादेखि उसको नाम छ्याङ्री।

    गाउँ आएकै पिच्छे एक महीनालाई पुग्ने सामल लैजान्छे उ। स्कुलमा राखेको नाम चैं सरिता हो उसको। सरिताको अर्थ सरल, शान्त। नाम अनुसार काम कस्तो छ तपाईं यो कथा पूरै पढेपछि थाहा पाउनुहुन्छ। म विस्तारै भन्दै जान्छु। हतार नगर्नु न। हतार गरेको कुनै काम पनि राम्रो हुन्न क्या। तपाईं हतार गरेर दौडेर पनि के गर्नुहुन्छ आखिर गन्तव्यमा पुग्न हिंडेको बसले तपाईंलाई मात्रै कहाँ कुरेर बस्छ र ?

    उ बस चढ्छे। धादिङबेसीदेखि बालाजु चोकसम्मको भाडा ४०० थियो। खलासीसँग बेला–बेलामा झगडा गर्छे। ५०० को नोट दिएकी थी उसले। खलासीसँग खुद्रा थिएन। एकछिनमा पैसा फिर्ता गर्छु है भन्यो उसले। हरेक आधा आधा घन्टामा उ पैसा फिर्ता माग्छे। खलासीले “कस्तो किचकिचे केटी हो तिमी! तिम्रो पैसा कसले खान्छ ?” भनेर कडापन देखाउँथ्यो। उ चुपचाप घोप्टो परेर मेसेन्जरमा च्याट गर्न थाल्थी।

    मोबाइलमा च्याटिङ गर्दा गर्दै बाटो काटेको पत्तै भएन उसलाई।

    आफ्ना केटाहरुसँग च्याटिङ गर्दा उ दायाँबायाँ वरपर अगाडि पछाडि केही हेर्दिनथी। उ खुब रमाइलो कुरा गर्छे। भर्खरैकी कोरली कोर्के बैंसले लोर्के जवानीको पानी भरिएकी खाइलाग्दी। धेरै बोकाहरुको बथानमा एउटी जवान बाख्री कसरी चोखी रहन्छे ? उसको पनि हालत त्यही हो। अहिलेका फेसबुके बोकाहरुको काम छैन।

    कोही राम्री तरुनीको प्रोफाइल पिक्चर देखेपछि सक्किगो, भित्रको गडबडी कसलाई के थाहा ? कति बेते हुन् वा कति केटा फेरिसकिन्? नयाँ साथीहरूसँग जोडिनु, अलिकति खाइलाग्दा केटाहरुलाई फ्रेन्ड रिक्वेस्ट पठाउनु। नचिनेका केटाहरुको फेसबुक प्रोफाइल खोलेर हेर्नु। अलिक मनले खाएको जस्तो केटा देखियो भने स्टाटसमा गएर लब्ली लाइक ठोक्नु, मीठो कमेन्ट गर्नु उसको रमाइलोको विषय हुन्थ्यो।

    आफ्ना नजिकैको फेसबुके साथीहरूलाई आफ्ना फोटोहरु देखाउनु, रोमाञ्च गफ गर्नु, अनलाइन कुराकानी गर्नु, भ्वाइस मेसेज पठाउनु आदि कुरामा उ रमाउँछे। उ अर्थात् सरिता अर्थात् छ्याङ्री।

    आजको त्यो यात्रामा आफूसँगै काम गरेको एकजना अफिसको साथी “सोम” भन्नेसँग गफ भैरह्यो र अहिले पनि भैरहेको छ। उनीहरूको मेसेन्जर च्याटमा नुहाएको, खाएको, गाएको, लाएको, पाएको, धाएको, छाएको कुरादेखि जवानीका कुरा समेत साटासाट हुन्थे।

    “ओइ छ्याङ्री कहाँ आइपुगिस् ?”

    “नौबिसे पुग्न लागें।”

    “खोइ देखा त सेल्फी।”

    “देखाउन्न।”

    “तलाइँ मैले त्यो देखा भन्या हो र?”

    “तैं देखा न।”

    “किन जान्ने हुने।”

    “मेरो जिन्दगी तेरो हातमा साँचो?”

    “यस्तै हो धेरै केटा साथी हुने केटी भाउ खोज्छन् एउटासँग कुरा नमिले अर्को जगेडा।”

    “तिमी बोकाहरु पनि कम्ता छौ र?”

    “ओइ ! गाउँ गएपछि त पूरै चेन्ज भैछस् धेरै घ्यू खाइस् कि क्या हो?”

    “ओइ जेपीटी बोल्छस्?”

    “रातभर केटाहरुसँग च्याट गरेर थाकिस् होला।”

    “तँ जस्तो हो र म?”

    “म जस्तो भएको भए तेरो पूजा गर्थें?”

    “गर्न त पूजा। सर्दाम ठिक पार म तेरो रुममा सीधै आउँछु।”

    “पक्का आउछेस् छ्याङ्री ? नत्र म रेडी भएर बस्छु।”

    “के गर्न?”

    “पूजा गर्न।”

    “भात पकाइ राख। म चिकेन र वाइन लिएर आउँछु। आज दिनभर जम्ने।”

    “गिद्दी होइन नि फेरि खुरुक्क आइज।”

    “हस् आउँछु नि राजा।”

    “छोरी !” आफ्नै सिटको पछाडिबाट कोही बुढो मान्छे सुँक्क सुँक्क गरेर रुँदै कराए जस्तो लाग्यो। को रोयो भनेर यसो पछाडि फर्किंदा त आफ्नै बुवा। छ्याङ्री एकैचोटि चिसो भई। बाटोमा एक्कासि गाडीमा ब्रेक लागे जस्तो भो। एक्कासि अत्तालिएर बोली–

    “बा !”

    मैले तिमीलाई महँगो शहरमा पढ्न पठाएको फेसबुके प्रेम र मनोरञ्जन गर्न पो रहेछ। हामीले कोदो खायौं तिमीलाई चामल पठायौं। हामीले गुन्द्रुक खाई तिमलाई दाल पठायौं।

    हामी बेखर्ची भएर पनि तिमीलाई खर्च पठायौं। हामी लुम्रेझुम्रे बस्यौं तिमीलाई सुकिलो बनायौं। तिमी पढेर ठूलो हौली, लोकसेवा पास गरौली, अधिकृतमा नाम निकालौली भनेको त फेसबुकमा पो नाम निकालिछौ छोरी! धादिङबेसीदेखि तिमी नौबिसे खोलासम्म आउँदा अनेक फोहोरी केटाहरुसँग मनपरी च्याट गरेको देखें। धिक्कार छोरी ! म तिम्रो बाबु भएकोमा।

    तिम्रो कारणले यो उमेरमा म यति दुखी हुनुपर्ला भन्ने सोचेको पनि थिइनँ, यो सोसल मिडियाले सप्रिने भन्दा बिग्रने धेरै भए। अफसोच छ ! सोसल मिडियाको पिरो ज्वालाले तिमी पनि जल्यौ र हामीलाई पनि जलायौ। हामी गरिब भएर पनि, कहिल्यै गरिब छौं भनेर तिमीलाई अनुभूति हुन दिएनौं छोरी !

    जामले गर्दा गाडी उकालोमा रोकियो। बुढा गाडीबाट सीधै ओर्लिए। जाम खुल्यो। गाडी अगाडि बढ्यो। बुढा पछाडि हटे। यही हो जिन्दगी कोही पछाडि हट्ने पनि असल हुन्छन् र कोही अगाडि बढ्ने पनि खराब हुँदारहेछन्।लक्ष्मण सिटौला

    Posted in विचारLeave a Comment on फेसबुके खेती, समयको क्षति 

    महाशिवरात्रिले सबैको जीवनमा आध्यात्मिक जागरणको उज्यालो छर्न सकोस्ः राष्ट्रपति

  • १७ फाल्गुन २०७८, मंगलवार ०९:२१ मा प्रकाशित
  • काठमाडौं, फागुन १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै महाशिवरात्रि पर्वले सबै नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेकी छन् ।“नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ, शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु हाम्रा लागि गौरवको विषय हो”, जारी सन्देशमा उल्लेख छ ।

    आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात्शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको सन्देशमा उल्लेख छ ।

    वैदिक परम्परामा शिवलाई मूलतः संहारका शक्ति मानिएको भए पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित रहेको भन्दै प्रकृतिको सिर्जनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गरेको र सौम्यशक्तिले मानव चेतनामा असल पक्षको बोध गराई त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यम् शिवम् सुन्दरम्’ प्राचीन लोकोक्तिका रूपमा रहेको राष्ट्रपति भण्डारीद्वारा जारी सन्देशमा भनिएको छ ।

    Posted in विचार, समाजLeave a Comment on महाशिवरात्रिले सबैको जीवनमा आध्यात्मिक जागरणको उज्यालो छर्न सकोस्ः राष्ट्रपति

    एउटा विवाहको फरक दृश्य जसले देखाउँछ परम्पराको बदलिँदो तस्बिर

  • १२ फाल्गुन २०७८, बिहीबार १०:४१ मा प्रकाशित
  • विवाहको मण्डपमा दुईजना पण्डित मन्त्र पढिरहेका थिए। पण्डित भन्ने बित्तिकै धेरैको कल्पनामा सामान्यतया पुरुष पात्र देखिन सक्छन्, तर यहाँ दुवै पण्डित महिला थिए। उनीहरूको निर्देशन अनुरूप बेहुला र बेहुलीले विधि पूरा गर्दै थिए। 

    नेपाली समाजमा परम्परागत ढङ्गमा हुने विवाहभन्दा फरक देखिएको यस विवाहलाई क्यामेरामा कैद गरिरहेकी थिइन् अर्की महिला नै। 

    विवाह थियो काठमाण्डूकी सुवेक्षा पौडेलको।

    चलनचल्तीको विवाह समारोहभन्दा फरक लाग्ने यस समारोहबारे तब चर्चा भयो जब ‘टेल्स अफ मोडर्न बुहारी’ नामक इन्स्टाग्राम ह्यान्डलमार्फत् एउटा प्रश्न सार्वजनिक भयो: ‘तपाईँले आफ्नो विवाहमा कुन एउटा विधि त्याग्नुभयो?’

    एउटा होइन यस प्रश्नको जवाफको लामै सूची थियो सुवेक्षासँग। 

    उनले प्रश्नकर्तालाई किटेर लेखिन्- “मैले कन्यादान र खुट्टा धुने विधि त्यागेँ। श्रीमान्‌ले श्रीमतीलाई मात्र सिन्दूर लगाइदिने परम्पराविरुद्ध आफूले पनि श्रीमान्‌लाई सिन्दूरको टिका लगाइदिएँ। श्रीमान्‌को खुट्टा ढोग्नुको साटो सहमतिमै एक अर्कालाई नमस्ते गर्‍यौँ।”

    • विवाह गर्ने उमेर घटाउने माग किन?
    • बेहुलाबेहुलीलाई नोटको माला लगाइदिने होडबाजी

    ती चलनहरू लैङ्गिक हिसाबले विभेदकारी लागेका कारण आफूले नअपनाएको ३० वर्षीया उनी बताउँछिन्।

    उनको प्रतिक्रिया सामाजिक सञ्जालमा छाउन समय लागेन। केहीले उनको कदमलाई पितृसत्ता विरुद्धको बलियो सन्देश भएको बताए। केहीले आलोचना पनि गरे, तर औसतमा अधिकांश सन्देश सकारात्मक देखिए।

    “जबदेखि मैले विवाह संस्थाबारे अध्ययन गर्न थालेँ तबदेखि मलाई विभेदपूर्ण लागेका विधि, परम्परा नमान्ने सोच बनाएकी हुँ,” उनले बीबीसीसँग भनिन्।

    लैङ्गिक रूपमा आफूलाई असमान लागेका र पितृसत्ता प्रोत्साहित गर्ने जस्ता चलन आफूले त्यागेको उनी बताउँछिन्। 

    त्यसका लागि उनी नेपाली समाजमा स्थापित केही परम्पराविरुद्ध उभिइन् जसले उनको विवाहको दृश्यलाई चलनचल्तीको विवाह समारोहभन्दा भिन्न बनायो।

    दुई महिला पण्डित दायाँबाट क्रमश: रुसा र सुनिता

    ‘महिलामैत्री र समावेशी विवाह‘

    सुवेक्षाको विवाह मण्डपमा किशोरावस्थामा रहेका दुई महिला पण्डितले मन्त्रोच्चारणसहित बेहुलाबेहुलीलाई विधि सिकाइरहेका थिए। समाजमा हुँदै आएका विवाहहरूमा महिला पण्डित विरलै देखिन्छन्।

    “देवघाटको एक अनाथालयमा विभिन्न समुदायका महिलालाई उनीहरूको जात र अन्य पृष्ठभूमिको पर्वाह नगरी संस्कृत सिकाइँदो रहेछ। त्यहीँबाट दुई जनालाई पण्डित बनिदिन आग्रह गरेका हौँ,” सुवेक्षाले जानकारी दिइन्।

    उनको विवाहको दृश्य सृष्टि मगरले खिचेकी हुन्। 

    “महिला फोटोग्राफर खोज्दै केही व्यावसायिक स्टुडियोहरूमा फोन गरेँ। उनीहरूमध्ये कतिले मलाई- विवाहजस्तो उत्सवमा महिलालाई फोटो खिच्न लगाएर जोखिम नमोल्नु भन्ने सल्लाह दिए। मलाई त्यो कुरा निकै पक्षपाती महसुस भयो। त्यसपछि महिला नै खोज्ने मेरो इच्छा थप बलियो भयो,” उनले सुनाइन्।

    “अन्ततः मेरो भेट सृष्टिजीसँग भयो र उहाँले सम्झन लायक क्षणहरूलाई सुन्दर ढङ्गमा कैद गरिदिनुभयो।”

    आफ्नो विवाहमा आएको प्रतिक्रियाले ऊर्जा प्रदान गरेको उनी बताउँछिन्।

    • ‘कुट्दिनँ भनेर कसम खायो, अनि ऊसँगै भागेँ’
    • ‘१४ वर्षमै विवाहका लागि ‘हुन्छ’ भन्न परिवारले कर गर्‍यो’

    किन आवश्यक लाग्यो परिवर्तन?

    सुवेक्षा र उनका श्रीमान् प्रज्जवलले कानुनी प्रक्रिया अनुरूप विवाह गरिसकेका थिए। दुवैजना परम्परागत रूपमा विवाह नगर्न सहमत थिए। केही वर्षअघि मात्र सुवेक्षाले दिदी गुमाइन्। 

    त्यो वियोगपछि उनका आमाबुवाले पनि सामाजिक संस्कारभन्दा बढी जोड छोरीको इच्छा र खुसीलाई नै दिए।

    “ठूलो वियोग भोगेको परिवारलाई सामाजिक दबाव गौण लाग्दो रहेछ।”

    तर, सिन्दूर पोते गर्नुपर्ने आफन्तको तर्क र दबावपूर्ण वातावरणले उनको निर्णय उल्टाइदियो।

    “गर्नै पर्ने भए आफ्नो तरिकाले गर्छु नत्र गर्दिनँ भन्ने कुरा प्रस्टसँग राखेँ। त्यसपछि हामीलाई विभेदपूर्ण लागेका विधि त्याग्ने, महिलामैत्री र समावेशी बनाउने योजना बनेको हो,” उनले भनिन्।

    समाजशास्त्र अध्ययन गरेकी उनलाई विवाहमा हुने कन्यादानको ‘दान’ शब्दले छोरीलाई गाई वा वस्तु सरह चित्रित गरेको भान हुने गरेको उनले बताइन्। 

    उनलाई विवाहित हुनुको सङ्केत सिन्दूर वा पोते महिलाले मात्र लगाउनुपर्ने नियम, खुट्टा धुनुपर्ने चलन आदिप्रति पनि आपत्ति रहेछ।

    त्यसपछि हो उनले ती चलनविपरीत प्रस्तुत हुने र आफ्नो पक्षबाट सक्ने जति लैङ्गिक समानता र समावेशिता कायम राख्ने योजना बनाएको। 

    महिला पण्डित र फोटोग्राफरको खोजी गरेको। जसबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भयो। तर सुवेक्षा स्वयंलाई आफूले चालेको कदम निकै सानो लाग्दो रहेछ।

    ब्राह्मण परिवारकी उनलाई लाग्छ जन्मजात पाइने केही विशेषाधिकारले नेपाल र दक्षिण एशियामा निकै असर पुर्‍याएको छ। र, ती असर न्यूनीकरण गर्न असमानता झल्कने केही स्थापित परम्परागत विधि भत्काउने महिलाहरूबाट आफूलाई प्रेरणा मिलेको बताउँछिन्। 

    “म केही महिलाबाट प्रभावित छु। सिक्नुपर्ने धेरै कुरा छन् र म सिकाइको प्रक्रियामा छु।”

    समानता र समावेशितालाई आफूले ‘आजीवन प्रतिबद्धता’ बनाएको उनले जिकिर गरिन्। र आफूले महिला र पुरुषबीचको समानता मात्र नभई हरेक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, जातीय समुदाय, अपाङ्गता भएका मानिस र आर्थिक- सामाजिक रूपमा पछाडि परेकाहरू र समानता पाउनका लागि अझै पनि विविध अड्चन भोग्न बाध्यहरूको मुद्दालाई आफ्नो जिम्मेवारी ठानी वहन गरेको बताइन्।

    “यो रहर वा इच्छा लागेर गर्ने काम होइन। यो त हामीले निर्वाह गर्नै पर्ने जिम्मेवारी हो।”

    विद्यालयमार्फत् व्यावहारिक प्रयास

    सुवेक्षाको परिवारले उनकी दिदी संवृद्धि को सम्झनामा स्थापित “पुकु दिदी फाउन्डेसन”मार्फत्‌ शिक्षामा सीमान्तकृत समुदायको समान पहुँचका लागि काम गर्दै आएको छ। 

    सर्लाही जिल्लास्थित पुर्ख्यौली गाउँ शिक्षाको क्षेत्रमा निकै पछाडि छुटेको भान भएकाले उनको परिवारले सर्लाहीका बालिकाहरूको शिक्षामा जोड दिएका छन्। 

    विशेषगरी मुस्लिम र दलित बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन्। “यो हाम्रो दायित्व हो।”

    घरमा महिनावारी नबार्न कलिलो छँदै लिएको अडानदेखि विवाहमा ‘आफ्नो इच्छाअनुसार गर्छु’ भन्न सक्ने निर्णयसम्म आइपुग्दा स-साना प्रयासहरूले भूमिका खेलेको उनको विश्वास छ।

    उनले आममानिसको प्रतिक्रियालाई नजिकबाट नियालेकी छन्। तीमध्ये केहीलाई निकै गहन र छलफलका आवश्यक महसुस गरेकी छन्।

    “कसैले भन्नुभएको छ- जे गरे पनि यो विवाह भन्ने संस्था नै समस्याग्रस्त छ। विवाहपछि महिला पुरुषकै घर जानुपर्ने नियमदेखि अन्य बाध्यात्मक अवस्थाहरू। मेरो विवाह पनि प्रगतिशील त देखियो, तर विवाहलगत्तै अरू समस्याग्रस्त सामाजिक नियम छन् जसविरुद्ध अझै बलियो भएर डट्नुपर्छ।”

    आफूलाई आफ्नो चाहनाअनुसार विवाह गर्न कसैले रोकतोक नगरेको तर अन्य कतिपयलाई त्यस्तो गर्न असम्भव रहेको उनको बुझाइ छ।

    “यो गलत हो र हामीले समाजको रूपमा यस्ता विभेदलाई कम गर्न प्रयास गर्नुपर्छ।”

    सामान्यीकरणको खोजी

    सुवेक्षाले आफ्नो विवाहमा केही नियम नमान्दा अधिकांश मानिसले त्यसलाई स्वागत गरेको देखिन्। तर अन्तर्जातीय वा समलिङ्गीहरूले विवाह गर्दा मानिसले प्रायः नकारात्मक र केही घटनामा हिंसात्मक प्रतिक्रिया जनाएको देखेकी छन्।

    यस विषयमा सहमति जनाउँछिन् समलिङ्गी स्वस्तिका परियार।

    “एक महिला र एक पुरुषको विवाहमा देखिएका परिवर्तनलाई असामान्य भन्दै स्वीकार्न सक्ने समाज अन्तर्जातीय वा समलैङ्गिक विवाहलाई किन स्वीकार्न सक्दैन?,” उनी प्रश्न गर्छिन्।

    “आखिर परिवर्तन त संस्कारसँग मात्र होइन सामाजिक, लैङ्गिक विभेदविरुद्ध पनि आवश्यक छ नि?”

    हाल टिकटक वा फेसबुकमा थुप्रै समलैङ्गिक जोडी विवाह गरेको वा सँगै बसेको जानकारीसहित बाहिर देखिएका छन्। यसलाई परिवर्तनको एउटा खुड्किलो मान्न सकिए पनि कानुनले वर्जित गरेको विषय भएकाले समस्या यथावत् रहने उनी बताउँछिन्।

    “विवाह दर्ता हुँदैन। कोठा खोज्न हिँड्दा विवाहित जोडीले समेत दिदीबहिनीको सम्बन्ध पुष्टि गर्नुपर्छ। कानुन नभएपछि हिंसा भएको खण्डमा सहनु र चुप लाग्नुको विकल्प हुँदैन,” उनले समस्याहरूबारे बोलिन्।

    • यी महिलाले किन आफ्नै ‘आमा’ सँग बिहे गरिन्
    • चार दिदीबहिनी, चार दुलही र एउटा ठूलो विवाह

    राज्यले महिला र पुरुषबीचको मात्र नभई व्यक्ति र व्यक्तिबीचको विवाहलाई मान्यता दिनुपर्ने उनको तर्क छ।

    लैङ्गिकता तथा यौनिकता पहिचान मानिसको जैविकता र मानसिकतासँग जोडिएको पाटो हो। त्यसैले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको विवाहलाई कानुनले बाटो खोलिदिए यस विषयमा सामाजिक धारणा पनि बदलिँदै जाने उनी बताउँछिन्।

    २०५८ सालमा एउटै गाउँका पुरुषसँग अन्तर्जातीय विवाह गरिन् गोर्खाकी विन्दु परियारले। उनको विवाहपछि गाउँको मेलापातदेखि पूजा, भोजसमेत विभाजित भएको उनी सम्झन्छिन्। सामाजिक प्रभावका कारण आफ्नी छोरीलाई मनोवैज्ञानिक परामर्श दिनु परेको उनले सुनाइन्।

    “विवाह भएको ६ वर्षपछि छोरी जन्मिइन्। छोरी जन्मिएपछि घरमा बोलाइयो, तर भान्सामा पस्न दिइएन, बाहिर बसेर खानुपर्थ्यो। श्रीमान्‌को बुवा मसँग मात्र होइन उहाँसँग समेत बोल्नुभएन,” उनले भनिन्।

    हेपाहा प्रवृत्तिको मारमा उनीहरूकी सानी छोरी पनि परिन्। आफ्नी आमा दलित भएकै कारण विभेद भोग्नुपरेको थाहा पाएपछि छोरी आफूबाट टाढिएको उनी सुनाउँछिन्।

    “उसलाई निकै सम्झाउनुपर्‍यो। दुई वर्ष लामो परामर्शपछि उनी आमाबुवाको अन्तर्जातीय विवाहका कारण भोग्नुपरेको विभेदको असरबाट उम्कन सकिन्।”

    आजभोलि अन्तर्जातीय विवाह सङ्ख्यात्मक हिसाबमा बढे पनि दलित समुदायका हरूले कथित गैरदलितहरूसँग विवाह गर्नुलाई सामान्य मान्ने नगरिएको उनको धारणा छ। 

    आफ्नो विचार पुष्टि गर्न अजित मिजार, नवराज विक लगायतको उदाहरण दिइन्।

    “अन्तर्जातीय विवाहलाई विचारदेखि व्यवहारसम्म स्वीकार्य हुने स्थिति बनाउनुपर्‍यो। हामीभन्दा अघिको पुस्ताले सिकाएको विभेदमा हाम्रो पुस्ताले अडान लिनु भएन,” उनी समाधानको उपायबारे बोलिन्।

    सुवेक्षा, स्वस्तिका र विन्दुहरूको आवाजमाथिको जोडदार ऐक्यबद्धता भएको बताउँछिन्।

    विवाहको बद्लिँदो तस्बिर

    अनुसन्धानकर्ता एवं मानव अधिकारकर्मी जीनिता विश्वकर्मा नेपालको कानुनले अन्तर्जातीय विवाहलाई वैधता दिए पनि समाजले सामान्य नमानेका कारण कैयौँ जोडी आफूलाई सुरक्षित महसुस नगर्ने बताउँछिन्। 

    “विवाह प्रत्यक्ष रूपमा वंश र धर्मसँग जोडिएको कारणले विवाहमा “जातिगत शुद्धता”लाई विषेश महत्त्व दिएको पाइन्छ,” उनले भनिन्।

    • सामूहिक विवाहको खर्च बेहोरिदिने निर्णयबारे गाउँपालिका अध्यक्ष यसो भन्छन्
    • ‘तराई क्षेत्रमा हुने अधिकांश घरेलु हिंसा दाइजोकै कारण’

    समाजशास्त्री डा. मीना पौडेल भने विवाहको बद्लिँदो चित्र अर्थ र आत्मनिर्भरतासँग सम्बन्धित भएको बताउँछिन्।

    “पहिले विवाह धर्मसँग जोडिएको थियो। कन्यादान गर्नु, रजस्वला हुनु वा सानैमा छोरीलाई विवाह गरेर पठाउनु पुण्य कमाउनु हो भन्ने मान्यता थियो। तर यो बाहिरी विश्वास हो,” डा. मिनाले प्रस्ट्याइन्।

    “मूल रूपमा भने यो महिलाको आर्थिक पराधीनतासँग जोडिएको थियो जहाँ छोरीलाई हुर्किसकेपछि उसलाई पालिदिने वर खोजिदिने विषय थियो।”

    पहिले महिला शिक्षा र रोजगारीबाट टाढा रहने भएकाले त्यसो भए पनि अहिलेका विवाह आधुनिकता, अधिकार, आत्मनिर्भरता र अर्थसँग जेलिएको उनको तर्क छ।

    “समग्रमा विवाह असमान सामाजिक सम्झौता हो जसमा पुरुष स्वतन्त्र रहन्छन् भने जिम्मेवारी र नियमहरूको भारी महिलासँग हुन्छ। जसले उनीहरूलाई तल पार्छ,” उनले भनिन्।

    सुवेक्षा त्यस्तै असमानतालाई सङ्केतदेखि व्यवहारको पक्षबाट सन्तुलित बनाउने प्रयासमा रहेको बताउँछिन्। त्यही अठोटका कारण उनको विवाह समारोह परम्परागत विवाहहरूभन्दा फरक देखियो।

    “मैले साथै अन्य दिदीबहिनीले समानताका लागि आफ्नो विवाहमा उठाएको कदमहरू केवल सानो सुरुवात हो। हामी सबैले थप गर्न अत्यन्त जरुरी छ र आफ्नो क्षमताभन्दा अझै बढी कोसिस गर्नु नै हाम्रो दायित्व हो,” सुवेक्षाले भनिन्।

    Posted in विचार, समाजLeave a Comment on एउटा विवाहको फरक दृश्य जसले देखाउँछ परम्पराको बदलिँदो तस्बिर

    एमसीसीमा प्रधानमन्त्री देउवाका तीन विकल्प

  • २० माघ २०७८, बिहीबार १३:२९ मा प्रकाशित
  • एमसीसीका कारण गठबन्धनमै गडबड भएपछि प्रधानमन्त्री देउवासमक्ष अहिले तीनवटा विकल्प छन् । पहिलो, संसदमा मतदानका लागि लैजाने । दोस्रो, प्रधानमन्त्रीबाटै राजीनामा दिएर जेठमा प्रतिनिधिसभा र स्थानीय चुनाव सँगसँगै गराउने र तेस्रो अमेरिकालाई भनेर एमसीसी थाती राख्ने ।

    १९ माघ, काठमाडौं । बुधबार विहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर बाहिरिनेबित्तिकै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने पार्टीसम्वद्ध विद्यार्थीहरुको कार्यक्रममा पुगेर भने, ‘सत्ता गठबन्धन टुट्दैन ।’

    बुधबार नै आयोजित पार्टी प्रवेश कार्यक्रममा पनि अध्यक्ष नेपालले उही अभिव्यक्ति दोहोर्‍याएर भने, ‘सत्ता गठबन्धन टुट्दैन ।’

    नेपालमात्रै होइन, पछिल्लो समय माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु यही वाक्य बारम्बार भन्ने गर्छन् । तर गठबन्धन टुट्दैन भन्ने अभिव्यक्तिको पछाडि टुटिहाल्छ कि भन्ने भय भने जबरजस्त लुकेको छ । र, भयको सिर्जना गरेको हो अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर प्रधानमन्त्री देउवामाथिको दबाव ।प्रधानमन्त्री देउवा हर हालतमा संसदमा एमसीसी टेबल गर्न चाहन्छन् । उनले बुधबार पनि सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई विहान र साँझ दुई पटक भेटेर पास फेल जे भएपनि एमसीसी संसदमा लैजानुपर्नेमा जोड लिएका छन् । तर दुबै नेता त्यसमा सहमत छैनन् ।प्रधानमन्त्रीले कुनै हालतले पास गर्छु भन्ने कमिटमेन्ट देखिँदैन, तर अमेरिकालाई मैले त संसदमा लगेँ, पास भएन त के गरुँ भन्न पाए हुन्थ्यो भन्ने छ’ एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन्, हामी संसदमा टेबल गर्न सहमति दिँदैनौं ।’संसदमा टेबल हुनसाथ सांसदहरु ‘थ्रेट’मा पर्ने भएकाले स्थितिमा एमसीसी अगाडि नबढ्ने दुबै दलको अडान छ । प्रमुख विपक्षी नेकपा एमालेले पनि सत्तारुढ गठबन्धन कायम रहँदासम्म एमसीसी अनुमोदनमा साथ नदिने प्रष्ट बताएको छ ।

    त्यसैले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा पछिल्लो समय अहिलेकै परिस्थितिमा एमसीसी अनुमोदन गर्ने वा गठबन्धन जोगाउने अर्थात ‘गर या मर’ को अवस्थामा पुगेका निकटवर्तीहरु बताउँछन् ।

    एमसीसीसम्बन्धी परियोजना जसरी भए पनि संसदबाट अनुमोदन गराउन अमेरिकाले दिएको दबाव र गठबन्धनमा देखिएको टकरावका कारण प्रधानमन्त्री देउवाका अघिल्तिर अब तीन वटामात्रै विकल्प देखिन्छन् । कम क्षतिपूर्ण विकल्प कुन हुनसक्छ भनेर उनले परामर्श समेत शुरु गरेको निकटस्थहरु बताउँछन् ।

    पहिलो विकल्प : संसदमा मतदानमा लैजाने, एमालेको साथ लिने

    पहिले एमसीसी विकास परियोजना भन्दै अनुमोदनका लागि जोड दिएको नेकपा एमाले प्रमुख प्रतिपक्षी भएपछि मौनता साँधिरहेको छ । उसको मौनतालाई आउँदो चुनावसँग पनि जोडेर हेर्ने गरिन्छ । यदि एमालेको समर्थन बिनै संसदबाट एमसीसी अगाडि बढाउँदा चुनावमा उसले एमसीसी विरोधी जनमतलाई ‘क्यास’ गर्न सक्ने भय कांग्रेस र स्वयं देउवामा पनि छ ।

    त्यसैले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा संसदमा दर्ता भएको एमसीसी अनुमोदनसम्बन्धी प्रस्तावलाई संसदको पूर्ण बैठकमा मतदानका लागि पेश गर्ने र सबैको सहमतिमा त्यसलाई पारित गराउने देउवाको पहिलो चाहना हो ।

    कांग्रेस केन्द्रीय सदस्य एनपी साउद प्रधानमन्त्रीको पहिलो विकल्प नै प्रतिपक्षीलाई समेत साथमा लिएर राष्ट्रिय सहमति कायम गर्दै एमसीसी अनुमोदन गराउनु रहेको र उनको छलफल त्यतै केन्द्रित रहेको बताउँछन् । उनले अघि भने, ‘दोस्रो विकल्प सत्ताधारी दलहरुलाई साथमा लिएर सहमति जुटाउनु हो । त्यो पनि भएन भने यो विषयवस्तुलाई सदनमा लगेर पास फेल जे हुन्छ, छिनोफानो गर्नुपर्छ ।’

    देउवाले यसलाई सुरक्षित विकल्प मानेपनि यति सजिलै एमसीसी अनुमोदन हुने सम्भावना न्यून छ । किनभने एमसीसी अनुमोदनका लागि चाहिने बहुमत सत्ता पक्षसँगै रहेकाले गठबन्धन कायम हुँदासम्म आफूहरुले एमसीसीको पक्षमा मतदान गर्न नसक्ने स्पष्टै सन्देश ओलीले देउवालाई दिइसकेका छन् । त्यसो हुँदा देउवाले सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई मनाउनुपर्छ ।

    तर उनीहरु एमसीसी सम्झौताका केही प्रावधान संशोधन नभएसम्म संसदमा टेबल गर्नै नदिने पक्षमा छन् । बरु गठबन्धन टुटोस्, तर यथास्थितिमा एमसीसी संसदमा पेश गर्न हुँदैन भन्ने अडान माओवादी र एकीकृत समाजवादीको मात्र होइन, स्वयं सभामुख अग्निप्रसाद सापकोटाको छ ।

    यस्तोमा प्रधानमन्त्री देउवाले पनि गठबन्धनको माया मारेर एमसीसी पास गराउने गरी अघि बढ्न सक्छन् । त्यसो हुँदा उनलाई प्रमुख प्रतिपक्षी एमालेले साथ दिनसक्छ । त्यो बेला सभामुख बाधक बने के गर्ने भन्ने प्रश्न आउँछ ।

    संसदका अरु साना दललाई पनि विश्वासमा लिएर दुई तिहाई बहुमत पुर्‍याउने र सभामुख परिवर्तन गर्ने परिस्थितिसम्म सिर्जना हुनसक्ने बालुवाटारको आकलन हो । त्यसका लागि देउवाले जनता समाजवादी पार्टी (जसपा) को मन जित्नुपर्ने हुन्छ । तर अहिलेकै परिस्थितिमा जसपा एमसीसीका लागि सभामुख हटाउने हदसम्म नजान सक्छ ।

    त्यसैले देउवाले यो विकल्पमा छलफल र परामर्श त गरेका छन् तर सजिलो छैन भन्ने उनलाई राम्रोसँग थाहा छ ।

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि देउवाले गठबन्धन नै तोड्ने र सभामुख परिवर्तन नै गर्नेसम्मको विकल्पमा जाने सम्भावना आफूले अहिलेसम्म नदेखेको बताउँछन् । ‘एमसीसीमा केही भएको छैन, गठबन्धनका बीचमा कुरा मिलेको छैन । के हुन्छ अब प्रधानमन्त्रीले हामीसित छलफल पनि गर्नुभएको छैन,’ पौडेलले भने, ‘प्रधानमन्त्रीले सल्लाह गर्नुहुन्छ होला नि !’

    दोस्रो विकल्प : प्रधानमन्त्रीबाट राजीनामा दिने, चुनावको घोषणा गर्ने

    यसैपनि यो गठबन्धन प्रधानमन्त्री देउवाको रोजाईको होइन । शक्ति राष्ट्र अमेरिका र भारतको पनि चाहनाको होइन । नेपाली कांग्रेस पार्टीभित्रै पनि गठबन्धन जोगाउने ध्याउन्नमा लाग्नुभन्दा बरु चाँडै प्रतिनिधिसभा र स्थानीय तहको चुनावमा जानु नै उपयुक्त हुन्छ भन्ने मत बलियो छ ।

    त्यसैले एमसीसीलाई लिएर गठबन्धनभित्र मतभेद चर्किदै गयो भने देउवाले प्रधानमन्त्रीबाट राजीनामा दिने र आउँदो जेठमा स्थानीय तह र प्रतिनिधिसभाको चुनाव सँगसँगै गर्ने विकल्प पनि छ । यो विकल्पमा अघि बढ्न पनि प्रधानमन्त्री देउवालाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले साथ दिनुपर्छ ।

    यदि यो रोडम्यापमा अघि बढे भने बाहिरबाट सघाउने बचन एमाले अध्यक्ष ओलीले देउवालाई दिएका छन् । किनभने एमाले ५ पुस २०७७ र ७ जेठ २०७८ मा गरी दुईदुई प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमलाई सही सावित गर्न चाहन्छ ।

    देउवा पनि गठबन्धनले आफ्नो चाहनाअनुसार काम गर्न दिएन भने सरकारलाई अरु लम्ब्याएर थप अलोकप्रिय बन्ने पक्षमा छैनन् । यसबारेमा उनले कानुनविद्हरुसँग पनि परामर्श पनि गरेको देउवा निकट स्रोतको दाबी छ । देउवाले राजीनामा दिने र संसदको ठूलो दल एमालेले सरकारको नेतृत्वका लागि दाबी नगर्ने परिस्थिति बन्दा देउवाले चाहेझैं जेठमै प्रतिनिधिसभा चुनाव हुनसक्छ ।

    गठबन्धनकै नेताहरु पनि देउवा यो हदसम्म जानसक्छन् भन्नेमा तयार देखिन्छन् । ‘देउवाजीले मैले भनेको भएन अब गठबन्धनलाई नै देखाइदिन्छु भनेर प्रधानमन्त्रीबाटै राजीनामा दिन पनि सक्नुहुन्छ,’ गठबन्धनका एक शीर्ष नेताले भने, ‘हामी त्यसका लागि पनि तयार भएर बसेका छौं, तर यही अवस्थामा संसदमा एमसीसी अनुमोदनसम्बन्धी प्रस्ताव पेश गर्न दिन्नौं ।’

    तेस्रो विकल्प : अमेरिकालाई मनाउने, एमसीसी पर धकेल्ने

    गठबन्धन टुट्ने भयले जति माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुको मन पोलेको छ, त्यति नै भयभित प्रधानमन्त्री देउवा पनि छन् । गठबन्धन टुट्दा चुनावमा संकटमा पर्ने जति डर कम्युनिष्टहरुलाई छ, देउवालाई पनि कम्युनिस्टहरु मिल्छन् र फेरि ०७४ साल दोहोरिन्छ भन्ने पिर छ ।

    ०७४ मा स्थानीय तहको चुनावमा कांग्रेससँग तालमेल गरेको माओवादीले एकाएक प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा एमालेसँग मिल्दा आफ्नो पार्टीले अकल्पनीय पराजय व्यहोर्नुपरेको देउवाको ठम्याई छ । त्यसमाथि ०७४ मा एमाले र माओवादी केन्द्र मिलाउन भूमिका खेलेको भनिएको चीनले आउँदो चुनावमा पनि वाम तालमेल गर्न एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई धेरैपटक सुझाव दिइसकेको छ ।

    देउवाको डर पनि यहीँनिरै हो । त्यसैले उनले एमसीसीलाई संसदबाट अनुमोदन गराउने विषय आउँदो चुनावसम्म थाती राख्ने र चुनाव जितेर आएपछि मात्रै अघि बढाउने अमेरिकासँग लबिइङ गर्न सक्छन् । देउवालाई गठबन्धनका नेताहरुले दिएको सुझाव पनि यही छ ।

    यसो हुँदा गठबन्धन टुट्ला र एक्लै परिएला भन्ने डरबाट प्रचण्ड र माधव नेपालहरु मुक्त हुनेछन् भने फेरि कम्युनिस्टहरु नै मिल्ने भय देउवालाई रहने छैन ।

    कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना पनि यो तर्कसँग सहमत छिन् । ‘प्रधानमन्त्री शेरबहादुर देउवामा सरल सहज र कुनै पनि कुरालाई निर्णयमा पुर्‍याउन सक्ने क्षमता छ,’ उपाध्यायले अनलाइनखबरसँग भनिन्, ‘मलाई लाग्छ, उहाँले गठबन्धन र प्रमुख प्रतिपक्षी दललाई एमसीसीको विषयमा मनाएरै ठोस निर्णय लिनुहुनेछ । अरु नेताहरुले पनि यसको गहनताको बारेमा बुझ्नुहुनेछ ।’

    Posted in राजनीति, विचारLeave a Comment on एमसीसीमा प्रधानमन्त्री देउवाका तीन विकल्प

    स्वास्थ्य मापदण्ड पालना गर्दै सोनाम ल्होछार मनाऔं : प्रधानमन्त्री

  • १९ माघ २०७८, बुधबार ०८:२२ मा प्रकाशित
  • १९ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पालना गर्दै सोनाम ल्होछार पर्व मनाउन आह्वान गरेका छन् ।

    प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् ।‘सोनाम ल्होछार’ अर्थात् तामाङ समुदायले मनाउने मौलिक नयाँ वर्षको अवसरमा तामाङ समुदायलाई शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले कोरोना महामारीबाट जोगिने उपाय अपनाउँदै पर्व मनाउन आह्वान गरेका हुन् ।  शुभकामना सन्देशमा उनले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गरेका छन् ।

    सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नो विशिष्ट पहिचान रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यी पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताएका छन् ।

    उनले कोभिड–१९ नियन्त्रणका लागि अवलम्बन गरिएका रणनीति प्रभावकारी देखिए पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै यो पर्व हर्षाेल्लासपूर्वक मनाउन आग्रह गरेका हुन् ।

    ल्होछारको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र राजनीतिक दलका नेताहरुले पनि शुभकामना सन्देश दिएका छन् ।

    Posted in विचारLeave a Comment on स्वास्थ्य मापदण्ड पालना गर्दै सोनाम ल्होछार मनाऔं : प्रधानमन्त्री

    ‘भिजिट भिसामा दुबईमा अलपत्र परेपछि स्वदेश फर्किन भारतीय नागरिकको झोला बोक्न बाध्य भयौँ’

  • २० पुष २०७८, मंगलवार १६:२८ मा प्रकाशित
  • धादिङ – भिजिट भिसामा यूएई पुर्‍याएर एजेण्ट भागेपछि भोक भोकै परेका बेला साने परियारलाई एजेण्टले नै चिनाएका एक भारतीय नागरिकले भने ‘तिमीहरुलाई म टिकट काट्दिन्छु, तर मेरो सामान लानुपर्छ ।’

    भारतीय नागरिकको त्यो बोली बाध्यतामा फसेका साने र उहाँका साथीलाई आफूलाई बचाउन भगवान स्वयं आए झैँ लाग्यो । किनकि उनीहरूलाई यूएईमा राम्रो काम र कमाइको प्रलोभन देखाएर लैजाने एजेण्ट सम्पर्क विहीन भइसकेका थिए ।

    त्यो बेला उनीहरूको साथमा न बस्ने बास थियो न खाने गाँस । कमाउन गएको मानिस भोक भोकै परदेशी भूमिमा मर्नुभन्दा भारतीय नागरिकको सामान बोकेर भए पनि स्वदेश फर्कने निधो गरे साने र उहाँका साथीले ।

    ‘त्यो बेलामा अर्काको देशमा कुकुरको मराई हुनुभन्दा, आफ्नो देशमा जान जस्तो सुकै जोखिम पनि मोल्न तयार भयौँ’ साने भन्नुहुन्छ ‘हामीसँग कुनै विकल्प नै थिएन, लग्ने एजेण्ट सम्पर्क विहीन भइहाल्यो, अन्त कहाँ सम्पर्क गर्ने थाहा नै भएन ।’

    भिजिट भिसाले झण्डै ज्यान लियो
    तीन वर्ष साउदीमा रोजगारी गरेर फर्कनुभएका सानेले सानोतिनो घर बनाउनुभयो । साउदीको धेरथोर कमाइमा थपथाप गर्न ऋण नै काढ्न पर्‍यो । त्यसमाथि बालबच्चा पढाउँदा सानेलाई ऋण लाग्यो । साहुले ऋण तिर्ने अर्को उपाय भएन । आफ्नै ठाउँमा गरिखाऊ न त भन्दा जागिर मिलेन । त्यसपछि सानेलाई साहुको ऋण तिर्न फेरि विदेश नै जानु पर्ने बाध्यता आइलाग्यो ।

    ‘भिजिट भिसामा जानु हुँदैन भन्ने थाहा त थियो, तर एजेण्टले भने कि अहिले भिजिटमै गएर काम खोज्ने हो, समय यस्तै छ,’ साने भन्नुहुन्छ ।


    परदेशी भूमिमा गर्नु पर्ने दुःख थाहा थियो सानेलाई । पर्ने अप्ठेराबारेमा पनि जानकारी नभएको होइन । ऋणमा डुबेको बेला एजेण्टले यूएई पठाउने कुरा बताए ।

    ‘भिजिट भिसामा जानु हुँदैन भन्ने थाहा त थियो, तर एजेण्टले भने कि अहिले भिजिटमै गएर काम खोज्ने हो, समय यस्तै छ,’ साने भन्नुहुन्छ ।

    एजेण्ट पनि नाताले सानेकी भान्जी पर्छिन् । भान्जीले नै भनेपछि उहाँले विश्वास गर्नुभयो ।

    भने अनुसार नै सबै कुरा गर्नुभयो । साना किसान सहकारीमा घरजग्गा राखेर २ लाख ५० हजार रुपैयाँ लिनुभयो र एजेण्टलाई बुझाउनुभयो । सानेजस्तै भिजिट भिसामा यूएई जान गाउँका अन्य ६ जनाले पनि प्रतिव्यक्ति २ लाख ५० हजारका दरले पैसा बुझाए । एकै गाउँका ७ जना र गोरखाका एक जना गरी ८ जना ‍२२ मार्च २०२१ अर्थात् २०७७ साल चैत ९ गते सोमबारका दिन यूएई उडे ।

    यूएई उड्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ६ का साने परियारसहित, सुजन परियार, धन बहादुर परियार, राजु परियार, गणेश परियार, दीपक परियार र तारा भण्डारी थिए ।

    एजेण्टको मिठो कुरामा विश्वास गरेर यूएईमा टन्न कमाउने सपना बुन्दै यूएई त पुगे ।

    एजेण्टले मासिक १२ सय यूएई दिर्हाम कमाइ हुने बताएका थिए । काम भने चकलेट प्याक गर्ने हो भनेका थिए ।

    यूएई पुगेपछि १५ दिनसम्म त अजमानको एक भिल्लामा राम्रो गरी राखे एजेण्टले नै । तर १५ दिन पछि भने कम्पनीको साहु जेल परेको भन्दै साहु छुटेपछि मात्र काममा जान पाइने बताए । त्यो खबर सुन्दा उनीहरूको मनमा चिसो पस्यो ।

    साने भन्नुहुन्छ,‘ला अब के होला भन्ने त जानसाथ लागेको थियो, तर के गर्नु आफ्नी भान्जीको विश्वास गर्दा फसियो ।’

    एजेण्ट भागेपछि ट्वाइलेटको पानीले प्राण धान्यौँ
    साहु छुटेपछि काममा लगाइदिनहुन्छ भनेका एजेण्टको व्यवहार बिस्तारै फेरिन थाल्यो । १५ दिनपछि त्यहाँको बन्दोबस्त मिलाउने एजेण्ट नै सम्पर्क विहीन भए । न फोन लाग्यो न जाने बेलामा केही भने ।

    त्यही एजेण्टको बोलिमा विश्वास गरेर यूएई पुगेका उनीहरू एजेण्ट नै हराएपछि बिचल्लीमा परे । एजेण्ट नै भागेपछि भने सानेसहित उहाँका साथीलाई अर्को समस्या आइपर्‍यो । आफ्नो नाम मात्र लेख्न जान्ने उनीहरूलाई विदेशको ठाउँमा कहाँ जाने, के गर्ने भन्ने थाहै भएन ।

    खाने पानी नहुँदा थुप्रै दिन ट्वाइलेटको पानीले प्राण धानेको बत्ताउँछन् उनीहरू । न खाने कुरा छ न त जाने ठाउँ कही । एकातिर भिजिट भिसाको समय सकिँदै थियो । उनीहरूको एक मनले त भन्थ्यो अब बाँचेर घर फर्कँदैनौँ ।
    ‘काम लगाइदिन्छु भन्दा भन्दै एजेण्ट नै भाग्यो, हामी त कहाँ जानु कसलाई भन्नु, केही पत्तै भएन,’ साने भन्नुहुन्छ,‘न पढ्न लेख्न आउने ।’

    एजेण्ट भागेको एक महिनासम्म उनीहरू त्यही ठाउँमा आधा पेट खाएर दिन कटाउन थाले । एउटा कोठामा ८ जना पालैपालो सुत्थेँ ।

    सानेका साथी गणेश परियार भन्नुहुन्छ ‘जिन्दगीमा त्यत्तिको दुःख त कहिले पनि भोग्न परेको थिएन ।’

    खाने पानी नहुँदा थुप्रै दिन ट्वाइलेटको पानीले प्राण धानेको बत्ताउँछन् उनीहरू । न खाने कुरा छ न त जाने ठाउँ कही । एकातिर भिजिट भिसाको समय सकिँदै थियो । उनीहरूको एक मनले त भन्थ्यो अब बाँचेर घर फर्कँदैनौँ ।

    घरमा फोन गर्नुहुन्थ्यो बेला बेलामा । घरका मानिससँग पनि रुनु बाहेक अर्को विकल्प थिएन ।

    ‘आफ्नो समस्या सुनाउँदा घरमा पनि रुने, हामी पनि रुने, रुदा रुँदै फोन काटिन्थ्यो ’ साने सुनाउनुहुन्छ ।

    पहिले एजेण्टलाई चिनाउने भान्जी पर्ने निशा परिवारलाई पनि आफ्नो समस्या सुनाउनुभयो । तर भान्जीले पनि आफूले चिनेको मात्र भएको र आफ्नो त्यसमा कुनै हात नभएको बताइन । भान्जी निशामार्फत नै उनीहरूले एजेण्ट रुपेश कुमार ठाकुर र नवराज तामाङलाई चिनेका थिए । उनीहरूले नै यूएई पठाएका थिए ।

    कुनै विकल्प नभेटेपछि उनीहरूले एजेण्टले नै चिनाएका एक भारतीय नागरिकलाई आफ्नो समस्या सुनाए ।

    उनले निःशुल्क टिकट काटिदिने तर त्यसका लागि आफ्नो सामान लैजान पर्ने सर्त राखे ।

    ‘उसले त्यसोभन्दा पनि मन त यति खुसी भयो नि, अब त बाँचिने भयो भन्ने लाग्यो, जे सामान होस्, बोक्ने र घर जाने भन्ने नै भयो ’ गणेशले भन्नुभयो ।

    सामान बोकेर भारतबाट नै जानु पर्ने, भारतीय नागरिकले राखेको अर्को सर्त थियो । त्यसपछि उनी ८ जनाको टिकट काटिदिन राजी भए ।

    ‘दुबईमा भोकै मर्नुभन्दा भारतमै मरौँ भन्ने सल्लाह गर्‍यौं, उसले के सामान पठाउँछ, कसरी पठाउँछ भन्ने कुरामा हामीलाई चिन्ता नै भएन, दीपक परियार त्यो क्षण सम्झनुहुन्छ ।

    ‘हेर्दा खरानीजस्तो धुलो थियो तर धागोले जेलेर सिलाएको थियो’ गणेशले भन्नुभयो ‘हेरेर हामीले के हो भनेर छुट्टाउन सकेनौँ ।’


    गएको असारमा दुबई विमानस्थलबाट उड्नुभन्दा अघि आठै जानालाई कालो कपडाको पाइन्ट लगाउन लगाए । कपडामा खरानीजस्तो धुलो राखेर सिलाएको थियो ।

    ‘पाइन्टमा खरानीजस्तो बस्तु राखेर सिलाइएको थियो, सुटकेसमा पनि माथि माथि चकलेट, काजु र तल भने पाइन्टमा राखेकोजस्तै कुरा राखिएको थियो,’ सानेले सुनाउनुभयो ।

    एजेण्टले दिएको लुगा र सुटकेस बोकेर उनीहरू विमानस्थलमा प्रवेश गरे । मन डरले थुरथुर काँपेको थियो । तर उनीहरूको अघिल्तिर अर्को कुनै विकल्प थिएन । गणेशले भने ट्वाइलेटमा गएर लुगामा के रहेछ भनेर हेर्नुभयो ।

    ‘हेर्दा खरानीजस्तो धुलो थियो तर धागोले जेलेर सिलाएको थियो’ गणेशले भन्नुभयो ‘हेरेर हामीले के हो भनेर छुट्टाउन सकेनौँ ।’

    भारतीय नागरिकले आफूहरूलाई गलत सामान पठाउन लागेछन् भन्ने बल्ल अनुभव भयो उनीहरूलाई । किनकि उनीहरू उड्नुअघि भारतीय नागरिकले आठै जनाको फोटो खिचे र उनीहरूको कागजपत्रसहित भारतमा आफ्नो मानिसलाई पठाए । त्यसपछि जे परे पनि परोस् भनेर उनीहरूले भारतीय नागरिकले भने अनुसार नै विमानस्थलमा सामान्य तरिकाले सबै प्रक्रिया पुरा गरे ।

    ‘प्रत्येक ठाउँमा चेक गर्दा मुटु ढुक्क फुल्थ्यो, यही जेलमा परिन्छ कि जस्तो लाग्यो, तर मर्नुभन्दा बौलाउन बेस भने झैँ भयो ’ साने भन्नुहुन्छ ।

    चेक हुने ठाउँमा उनीहरूको त्यो सामानको जाँच भएन । कुनै अप्ठेरो बिना दिल्ली विमानस्थलमा ओर्लिए ।

    उनीहरू विमानस्थलमा ओर्लिदा त्यहाँ केही मानिसहरू बसिरहेका थिए । उनीहरूले नै विमानस्थलबाट एउटा कोठामा लगे । र लुगा फुकाल्न लगाए । सानेसहित उहाँका साथीले भारतीय नागरिकले लगाउन दिएको कालो पाइन्ट खोलेर सुटकेस पनि जिम्मा दिए । ती भारतीय नागरिकले नै उनीहरूलाई ३५ सय नेपाली रुपैयाँ दिए ।

    त्यो झोलामा के थियो भन्ने कुरा उनीहरूलाई अहिले पनि थाहा छैन । त्यो झोला बोकाएर पठाउने भारतीय नागरिकले उनीहरूलाई त्यो सामान पठाउन किन प्रयोग गरे भन्ने पनि जान्दैनन् उनीहरू ।


    सामान जिम्मा लगाएपछि उनीहरू एक अर्कालाई अङ्कमाल गर्दै निकै बेर रोए । बाँचेर नेपाल फर्कन पाइने भयो भनेर खुसीयाली मनाए । जीवितै आफ्नो देश पुगिनेमा उनीहरू ढुक्क भए ।

    त्यही ३५ सय रुपैयाँले उनीहरू दिल्लीबाट काठमाण्डौ आउने बस चढे । कमाउने सपना बोकेर जुन लुगामा विदेश उडेका थिए त्यही लुगामा उनीहरू तीन महिना परदेशको दुःख भोगेर घरमा आइपुगे ।

    त्यो झोलामा के थियो भन्ने कुरा उनीहरूलाई अहिले पनि थाहा छैन । त्यो झोला बोकाएर पठाउने भारतीय नागरिकले उनीहरूलाई त्यो सामान पठाउन किन प्रयोग गरे भन्ने पनि जान्दैनन् उनीहरू ।

    आफ्नैको विस्वासमा जोखिम मोलेर विदेश जाँदा झण्डै ज्यानै गयो । भएको सम्पत्ति पनि गुम्ने अवस्था आएको छ । किनकि सहकारीबाट लिएको ऋण र ब्याज बढिरहेको छ ।

    आफ्नै भान्जी भनेर विश्वास गर्दा आफू र आफ्नो छोरासहित एकै घरको तीन जना ठगीमा परेका पछुतो लाग्छ सानेलाई ।

    ‘आफ्नैले घात गर्लान् भन्ने के थाहा, विश्वास गरियो, झण्डै ज्यान गयो, घर फर्कन्न पनि ज्यानकै बाजी लगाउन पर्‍यो, अहिले ऋणै ऋण छ म के गरौँ’ साने पछुतो मान्दै भन्नुहुन्छ ।

    एजेण्टको अर्को झुट
    विदेशमा काम र कमाइ नभएपछि उहाँहरूले आफूले तिरेको रकम भए पनि फिर्ता गर्न एजेण्टसँग माग गर्नुभयो । भान्जी निशामार्फत मुख्य एजेण्टहरुलाई सम्पर्क गर्नुभयो । एजेण्टले रकम दिन्न भनेन । तर ६ महिना बित्दा पनि दिएनन् पनि ।

    उनीहरू एजेण्टले नै पैसा दिन्छन् कि भन्ने आशमा १० पटकभन्दा धेरै काठमाण्डौ धाइसके । तर धादिङबाट काठमाण्डौ आइपुग्दा पैसा दिन्छु भन्ने एजेण्ट कि त फोन उठाउँदैनन् कि त मोबाइलको स्विच आफ गरिदिन्छन् ।

    ‘दिन्छु भन्छन्, यहाँबाट काठमाण्डौ जान्छौँ, यो ठाउँमा आइज भन्छन् त्यहाँ जान्छौँ तर एजेण्ट आउँदैनन् ’ साने भन्नुहुन्छ ‘फेरि भोलि आइज भन्छन् भोलि त फोन नै लाग्दैन ।’

    भन्छन् ‘हामी त मरेर पनि बाँचेका छौँ, तपाईँहरू जानीजानी भिजिट भिसामा काम गर्न भनेर विदेश नजानुहोस् ।’


    यता साना किसान कृषि सहकारीले ऋण तिर्नको लागि ताकेता गरिरहेको छ । भएको घर र जायजेथासमेत सहकारीमा राख्नुभएका सानेलाई अब बालबच्चा कसरी पाल्ने भन्ने अर्को चिन्ता थपिएको छ ।

    ‘काम त दिन सकेन, त्यो भुमरीमा मर्नका लागि छोडिदियो तर बाँचेर फर्किएका हामीलाई तिरेको रकम त दिए हुने नि,’ उनीहरू भन्छन् ।

    राम्रो काम र कमाइको प्रलोभनमा आफू ठगीमा परेको भन्दै उनीहरू एजेण्टबाट रकम फिर्ताको माग गर्दै आप्रवासी स्रोत केन्द्र धादिङमा निवेदन दिन आइपुगेका छन् । केन्द्रले निवेदन दिएको र आवश्यक समन्वय र सहजीकरण भइरहेको कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो ।

    उनीहरूलाई आजकाल भिजिट भिसामा विदेश जानुभन्दा साग र सिस्नु खान बेस जस्तो लाग्छ ।

    भन्छन् ‘हामी त मरेर पनि बाँचेका छौँ, तपाईँहरू जानीजानी भिजिट भिसामा काम गर्न भनेर विदेश नजानुहोस् ।’
    यो खबर ऊजयालो अनलाइनका लागी रामकुमार थापाले तयार पारेका हुन्।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, लोकप्रिय, विचारLeave a Comment on ‘भिजिट भिसामा दुबईमा अलपत्र परेपछि स्वदेश फर्किन भारतीय नागरिकको झोला बोक्न बाध्य भयौँ’

    बिजुवा – पाठकीय टिप्पणी

  • ९ पुष २०७८, शुक्रबार ०९:५२ मा प्रकाशित
  • पाठकीय टिप्पणी
    लघुकथा -: बिजुवा
    लघुकथाकार -:दिनेश निरौला

    लघुकथाकार दिनेश निरौलाले आज मिति २०७८/ ९/८ मा हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा
    ” बिजुवा” पढेपछि मेरो पाठक मनमा आएका भावनालाई लघुपाठकीय टिप्पणीको रुपमा प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

    अन्य लघुकथाकारहरुसँग झै उहासँग पनि मेरो साक्षात्कार भएको छैन तर लघुकथाको माध्यमबाट हामी परिचित छौ ।अगस्त ५, २०२० देखि हाम्रो लघुकथा पाठशालामा जोडिनु भई दैनिक लघुकथा प्रेषित गर्नुहुने लघुकथाकारका सय भन्दा बढी कथाहरु हाम्रो लघुकथा पाठशालाको भित्तोमा पढन सकिन्छ ।

    बि.सं.२०३७/७/ १२ मा पिता सुर्य प्रसाद र आमा जानुका निरौलाको कोखबाट पाँचौ संतानको रुपमा साहित्यकार दिनेश निरौला ओखलढुंगा साविक कुईभिर -९, हाल चिसंखुगढी -१ मा जन्मिनु भएको हो । हाल उहाँ नेपाल प्रहरीको हवल्दार पदमा दुहबी सुनसरीमा कार्यरत हुनुहुन्छ । लघुकथा बाहेक अन्य बिधामा पनि कलम चलाउनुहुने साहित्यकार दिनेश निरौलाको “आशाको त्यान्द्रो ” गजल संग्रह २०६४ प्रकाशित छ ।

    प्रस्तुत कथा “बिजुवा” मा मुख्य पात्रको रुपमा बिजुवा र अन्य सहायक पात्रहरुको रुपमा ढोलेहरु र दर्शकहरु रहेकाछन् ।कथाको शुरुवात यसरी भएको छ । ढोलेहरू ढ्याङ्ग्रो र थाल बजाउन थाले । बिजुवा सेउली र फुर्का लिएर कहिले बिरामीलाई त कहिले कालो बोकोलाई लिसो छर्किँदै बिभिन्न देवी देवताहरूको नाम पुकार्दै कामी रहेको थियो बाह्र बजे राती सम्म । ठिक बाह्र बजे कालो बोकोको भोग दियो बिरामीलाई वनको शिकारी लागेर दु:ख दिएको हो सँगै कसैले उठन गरेर लगाई पनि दिएको छ । यस्ता बिमारी पहिल्यै देखि उस्ले निको बनाएको छ बिजुवाको भनाई त्यस्तै थियो ।

    आज कसैले पनि जोखाना नराख्नू । मेरो गुरुदेउले जोखाना नहेर्न भनेको छ । उसले बिजुवा बस्नु भन्दा अगाडीनै भनेको थियो । रातभर बिजुवा बस्ने उसले आज यत्तिमै दियो थन्क्याएको थियो । बोको चाँडै पकाउन उस्ले ढोलेहरुलाई भनेको थियो । उज्यालो हुनै लाग्दा सबैले खाईवरी सके । अनि बिजुवाले भन्यो ।” यो वालाडाङ्ग्रे (बिमारीलाई) कालो जण्डिस पनि भएको छ । मेरो गुरुदेउले भनेको यो चै फुकेर निको हुँदैन, तपाईहरू चाँडै तयार गर्नोस् बिमारीलाई अब हामी सबै मिलेर अस्पताल लानुपर्छ ।” यसरी कथाको समापन गरिएको छ ।

    ग्रामीण समाजको यथार्थ र परम्परागत धामीझाँक्री बस्ने प्रचलनलाई उजागर गर्दै बिजुवाले अस्पताल लानुपर्ने र जन्डिस बोको चढाएर ठिक हुदैन भन्दै सचेत गराएको छ भने धामीझाँक्रीले बोको खाने दाउछोप्दै बोको खाईसकेपछि मात्रै अस्पताल लानुपर्छ भनेर भन्छन भन्ने तितोसत्य पनि उजागर गरिएको छ ।कथाको भाषा सरल छ । स्थानियपन झल्किएको छ । सेउली र फुर्को लिएर बसेको बिजुवाले बोको चढाएर सम्पूर्ण रोग निको पार्ने कोसिस गर्ला कि भन्ने पाठकीय अनुमान बिपरित अस्पताल लैजानु पर्छ भन्दै कथाको समापनले झट्का दिन सक्षम रहेको छ । १७३ शब्दमा लेखिएको कथा पाठकलाई खुलदुली जगाउदै अन्त्यमा अस्पतालमै लानुपर्ने गहकिलो र महत्त्वपूर्ण संन्देश दिन सफल भएको छ। कथा मन परेकोले होला मेरो पाठकीय मनले कथामा खोट लगाउने ठाउँ देखेन ।

    अन्त्यमा, साहित्यकार दिनेश निरौलाको साहित्यिक यात्रा सप्तकोसी नदी जस्तै अविरल बगिरहोस , सगरमाथाको शिखर चुमोस् । लघुकथाहरुको संग्रह यथाशीघ्र प्रकाशित होस् भन्दै अग्रिम बधाई तथा कोटी कोटी शुभकामना सहित सुस्वास्थ र दीर्घायुको शुभकामना व्यक्त गर्दछु ।

    बन्दना घिमिरे गठ्ठाघर, भक्तपुर

    लघुकथा -: बिजुवा ,
    दिनेश निरौला
    ढोलेहरू ढ्याङ्ग्रो र थाल बजाउन थाले । बिजुवा सेउली र फुर्का लिएर कहिले बिमारीलाई त कहिले कालो बोकोलाई ।लिसो छर्किँदै काम्न थाल्यो । उ बिभिन्न देवी देवताहरूको नाम पुकारी रहेको थियो । यो क्रम बाह्र बजे राती सम्म निरन्तर चलेको थियो ।
    ठिक बाह्र बजे कालो बोकोको भोग दियो ।बिमारीलाई वनको शिकारी लागेर दु:ख दिएको हो ।सँगै कसैले उठन गरेर लगाई पनि दिएको छ । यस्ता बिमारी पहिल्यै देखि उस्ले निको बनाएको छ । बिजुवाको भनाई त्यस्तै थियो ।
    आज कसैले पनि जोखाना नराख्नू । मेरो गुरुदेउले जोखाना नहेर्न भनेको छ ।उस्ले बिजुवा बस्नु भन्दा अगाडीनै भनेको थियो ।र रातभर बिजुवा बस्ने उस्ले आज यत्तिमै दियो थन्क्याएको थियो ।
    बोको चाँडै पकाउन उस्ले ढोलेहरुलाई भनेको थियो । उज्यालो हुनै लाग्दा सबैले खाईवरी सके । अनि बिजुवाले भन्यो ।” यो वालाडाङ्ग्रे (बिमारीलाई) कालो जण्डिस पनि भएको छ । मेरो गुरुदेउले भनेको यो चै फुकेर निको हुँदैन । तपाईहरू चाँडै तयार गर्नोस् । बिमारीलाई अब हामी सबै मिलेर अस्पताल लानुपर्छ “

    २०७८।०९।८ गते
    ओखलढुंगा , हाल – दुहबी सुनसरी

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, विचार, साहित्यLeave a Comment on बिजुवा – पाठकीय टिप्पणी

    उत्तरी गोरखालाई छुट्टै जिल्ला बनाउनुपर्छ : बाबुराम भट्टराई

  • २७ कार्तिक २०७८, शनिबार १३:४४ मा प्रकाशित
  • गोरखा पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गोरखाको उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउनुपर्ने बताएका छन् ।

    संगठन सुदृढिकरण तथा जनभेटघाट(सुज) अभियान अन्तर्गत गोरखामा रहेका भट्टराइले शुक्रबार साँझ लाप्राकमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै धार्चे, चुमनुव्री र बारपाक क्षेत्रलाई समेटेर अर्को जिल्ला बनाउनुपर्ने बताएका हुन् ।

    ‘उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन अभियान चलाउनुपर्छ, संविधान त विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर लेखिएको छ,’ उनले भने, ‘अर्को जिल्ला, विशेष वा स्वायत्त क्षेत्र जे बनाउँदा पनि हुन्छ, जनताले बुझ्ने भनेको जिल्ला हो ।’ गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सासंद समेत रहेका भट्टराईले यसका लागि आवाज उठाउन स्थानीयबासीलाई आग्रह गरे । ‘आफ्नो सक्दा आफ्नो हातमा नआएसम्म, जनप्रतिनिधि आफैंले नचुनेसम्म, तपाईंहरुले विकास र समृद्धि जतिसुकै चिच्याएर पनि पाउनुहुन्न,’ उनले भने ।

    कांग्रेस, माओवादी, एमाले सबै पार्टी यस अभियानमा आउनुपर्ने भट्टराइले बताए । ‘आउनुस् उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन साझा मुद्दा बनाएर अभियान चलाऔं,’ उनले भने,‘सबैले आन्दोलन गर्‍यौं संघर्ष गर्‍यौं भने यो सम्भव छ ।’ जसपाले यो संविधान मिलेको छैन, जनताको पहिचान र अधिकार सहितको हुनुपर्छ भनेर पहिलेदेखि नै भन्दै आएको उनले बताए ।

    सुज अभियान अन्तर्गत भट्टराई यतिबेला जिल्लाको ग्रामिण भेगमा छन् । गत सोमबार घ्याल्चोकबाट अभियान सुरु गरेका भट्टराई गण्डकी, शहिद लखन, भिमसेन थापा, आरुघाट, धार्चे गाउँपालिकाको विभिन्‍न गाउँ पुगिसकेका छन् । ११ दिने सुज अभियान मंसिर ३ सम्म चल्ने जसपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र कुमालले बताए ।

    सडक नपुगेको ठाउँमा लौरो टेकेर भट्टराईले घरदैलो गरेका छन् । धार्चे गाउँपालिकाको लप्सीबोट, एमगाउँ क्षेत्रमा भट्टराई पैदल नै पुगेका थिए । किसानसँगै धान झाँट्ने, पार्टी नेता/कार्यकर्ता, स्थानीय तथा फरक पार्टीका नेता कार्यकर्तासँग उनी भलाकुसारी गर्दै जिल्ला घुमिरहेका छन् ।

    Posted in विचारLeave a Comment on उत्तरी गोरखालाई छुट्टै जिल्ला बनाउनुपर्छ : बाबुराम भट्टराई

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2022 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P