
साप्ताहिक झिल्का लेखन अभ्यासको ३३ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३३ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
…
१,
प्रकोपले नागरिक बेपत्ता
कयौँ छन् घरबारविहीन
ठालुले ढुक्दैछ सत्ता ।
२,
रुखो बोल्नेको योगदानमा
मुसुक्क मुस्काउनेको मुस्कानभन्दा
शिर निहुराउॅंछु सम्मानमा ।
३,
बैँसालु भल बगिजाओस्
बगाउॅंदैन जोगिएर बसे
डराएर भाग्यो, नठानोस् ।
- म्यामराज राई
…
१,
रहेन कसैको भर
छन् केवल स्वार्थीहरू
स्वाभिमान मिट्ने डर ।
२,
मुलुक सतीको सरापमा
भलो हुँदैन गर्नेको
जिन्दगी पर्छ धरापमा । - वसन्त अनुभव, घोराही, दाङ
…
१,
डराएर घरमा बसेका
मौकामा चौका हान्नलाई
भाग्य आफैँ कसेका ।
२,
बुझ्ने गर कुरा
नबुझी हुन्न काम
नचलाउने मुखका छुरा ।
३,
बयोवृद्ध घुम्छन् सत्तामा
मौका हेरेर बसेका
ध्यान गएको भत्तामा । - बेदु न्यौपाने
…
१,
कसैको हुन्न भर
स्वार्थी दुनियाँ चिन्दाचिन्दै
किन मान्ने डर?
२,
जोगाऔँ आफ्नो मुलुक
चारैतिर छन् वैरी
आँखा लगाउँछन् पल्याकपुलुक।
३,
देश भएमा स्वाभिमान
सबैतिर फिॅंजिन्छ आफ्नो
बेग्लै खाले सान। - अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
हालः-क्यानडा,क्यालगरी।
…
१,
समाधिस्थ ध्यान धारणा
चित्तका वृत्तिहरूमा निरोध
गरौँ प्राणायाम साधना ।
२,
मन वचन कर्म
तन स्वस्थ रहेमा
गर्नसकिन्छ हामीले धर्म ।
३,
नगरौँ कसैको अपमान
बालबृद्ध नारी असहायको
सम्मान गर्नुपर्छ समान । - गुणनिधि घिमिरे, अमेरिका
…
१,
महत्त्व कस्तो बनाए
विकृति विसङ्गति बढ्यो
चाडपर्व मँहगो गराए ।
२,
कति दिन खाने
समय दरले बर्बाद
कता कता जाने ?
३,
मन राख्नै पर्ने
गर्मीले खाना माग्दैन
शरीरमा असर गर्ने । - भगवती दवाडी, झापा
…
१,
नहिडौँ प्रतिशोध पालेर
जीवित राखौँ अभिलाषा
इमानदारीको पोको सम्हालेर ।
२,
भरोसा गर्नै चर्को
बुझ्न सकिँदैन कहिले
मनको कालो धर्को।
३,
इच्छाहरू पर सारेर
नबसौँ रुँदै सधैँ
निधार गाँठो पारेर। - अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ
…
१,
कहिले बाढी पहिरो
कहिले कोभिड, डेङ्गु
चोट लाग्यो गहिरो।
२,
नजिकिन थाले चाडपर्व
चोट पर्यो नबिर्सिने
छैन मनमा गर्व।
३,
मनमा छैन हर्ष
थिलथिलो पार्यो प्रकोपले
रहेछ दशाको वर्ष। - सतीश पण्डित, भानु -६, चुँदी तनहूँ
हाल चनपा ६ मातातीर्थ
…
१,
दिनभरि काम गर्नुपर्छ
नित्य कर्म मेरो
सबेरै खेतमा झर्नुपर्छ।
२,
बालीमा बाँदरले दिक्क
केही कसैको राखेन
खेतीपाती चौपायालाई ठिक्क।
३,
आरक्षणको प्राय वरिपरि
जनावर दिनभरि लखेट्यो
आउॅंछन् घरी घरी । - चुडामणी देबकोटा, पुरानो नैकाप, काठमाडौँ
…
१,
देशमा मलिलो माटो
पसिनाले सिचौँ हामी
विदेश जानु साटो।
२,
हिमाल पहाड तराई
बलियो हुन्छ देश
एक ढिक्का गराई।
३,
सबैले मिठो बोलौँ
शान्ति स्थापना हुन्छ
आफ्नो प्रतिभा खोलौँ। - सुरेशकुमार पाण्डे, घोराही – १८, दाङ
…
१,
छैन स्वार्थीको भर
पार्छन् तिनले अफ्ट्यारो
सधैँ बस्नु पर।
२,
तिम्रो बोली मधुरो
भन्नप पनि कसरी
सम्बन्ध रह्यो अधुरो ।
३,
गर्न सिकौँ समान
उपल्लो जाति भन्दै
कति गर्छौ अपमान ? - राज कुमार राजभण्डारी खोटाङे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
…
१,
सुरक्षित महसुस हुन्न
मिठा भाषनले अब
जनताको मन छुन्न ।
२,
मनपरी बढ्यो महङ्गी
चासो छैन कसैलाई
गर्छन् कुरा सप्तरङ्गी । - पुष्पा राई, खोटाङ
…
१,
छरौँ चारैतिर उमङ्ग,
मोतिराम भट्ट जन्मजयन्तीमा,
साहित्यको विभिन्न रङ्ग ।
२,
चिन्नु पर्छ चिज,
संस्कृतिको गरौँ जगेर्ना ,
नबनाऔॅं भड्किलो तिज,
३,
हुँदैछ खोला धमिलो,
कता पहिरो गयो ,
मन भयो अमिलो । - भुपेन्द्र राना मगर, धादिङ
…
१,
मन हुन्छ उदास
उच्च विचार नपाए
दिव्यात्मामा प्रभुको बास ।
२,
आध्यात्मिकको जीवन खास
चिन्तनमा मात्र रहँदा
प्रभुले सुनिदिने आस ।
३,
दुःखमा सुखको आभास
भर छैन जीवनको
कहिले रोकिन्छ श्वास । - कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
…
१,
सबैतिर खुसी छायो
मुस्कान ल्याउॅंदै ओठमा
फेरि तिज आयो ।
२,
खुसी हुँदै रमाउँदै
सभ्य भएर मनाउनुपर्छ
आफ्नो संस्कार समाउँदै ।
३,
पुगोस् मनका भावना
सम्पुर्णमा हरितालिका तीजको
हार्दिक मङ्गलमय शुभकामना । - अनिता भण्डारी, ताप्लेजुङ
…
१,
मान्छेले खोज्छ मान
स्वार्थ देखियो मनमा
चाहन्छ ऊ गुणगान।
२,
मायामा ठुलो घात
जीवन बेहाल हुने
नसुतेर जान्छ रात। - नवराज भट्ट, कञ्चनपुर
…
१,
फुलाऊ फूल माटोमा
स्वार्थी यी नेताहरू
हिॅंड्दैछ गलत बाटोमा ।
२,
साम्राज्यवाद हैकम ढल्दैछ
होसियार संसारभरिका मानव
तेस्रो विश्वयुद्ध चल्दैछ ।
३,
पाइॅंदैन असत्य ढाक्नलाई
खोजिरहेछ वास्तविक नायक
अब देश हाँक्नलाई । - दीप गोले तामाङ, रौतहट
…
१,
संस्कृति जोगाउने काम
संस्कार पहिचान हाम्रो
सबैले राखौँ नाम ! - आर्त अकुलीन
…
१,
मरेको छैन आशा
आऔॅं सङ्घर्ष गरौँ
जानु पर्दैन खासा !
२,
नबोकौँ अर्काको भारी
विवेक स्वाभिमान बेचेर
बाँझो भए खेतबारी ।
३,
नबसौँ अन्याय खपेर
बन्दैन मुलुक यसरी
पुर्खाको नाम जपेर । - ऋजु दिल्पाली, इटहरी -१, सुनसरी
…
१,
बाँच्नुहुन्न कहिल्यै डरले
स्वार्थीको बिचमा पनि
हुँदैन कसैको भरले ।
२,
जुरमुराउॅंछन् यहाँ साँढे
प्रगतिको बाटो रहेन
देश जताततै भाँडे ।
३,
उर्लिएको बैँस सम्हाल
तीजको बेलामा फुरुकफुरुक
गीत नाच कमाल । - अम्बिका अधिकारी, झापा बिर्तामोड
…
१,
तिज आयो देशमा
शिरफूल लाएर जाउॅंला
डोरी बाटी केशमा । - इन्दिरा देवकोटा
…
१,
चौतारीमा बिसाएर भारी
थकाइ मारेर हजुर
पुग्नुपर्ने अब डाँडापारि ।
२,
तिजको नाममा विकार
लाग्दैछ रत्यौली जस्तो
नबनोस् विकृतिको सिकार ।
३,
दिदीबहिनी साथीको भेला
नितान्त भड्किलो नाचगान
तिजलाई बनाएका रेला । - पृथक प्रकृति, झापा
…
१,
आयो रमाइलो तिज
जोगाउ संस्कृति हाम्रो
नखाऔॅं नखाने चिज।
२,
स्वदेशमै फुल्छ फूल
विदेशीको गोठालो बन्ने
नगरौँ साथी भुल। - वि के मुखिया, दार्जिलिङ, भारत
…
१,
नगर कसैमा भर
जिन्दगी उसै चल्छ
हुँदैन तिमीलाई डर।
२,
गर असल काम
यो जीवनको यात्रामा
रहोस् अमर नाम।
३,
कति जान्छ पहिरो ?
सम्झनाभरि राखेर पनि
माया भयो गहिरो। - नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
…
१,
खाँदा तिजको दर
ख्याल गर्नु सबैले
हुन्छ ग्याष्ट्रिकको डर ।
२,
गर्नुहुँदैन फजुल खर्च
धनजनको हुन्छ क्षति
हुँदैन शरीरमा वर्च ।
३,
बनाउनुस् राम्रो सोच
चाडपर्व मनाउदा धेरै
नहुनुहोस् कोही लोच । - डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
…
१,
सबैको मनोकामना पुगोस्
पाटी प्यालेस धाउने
दिदीबहिनीको मन घुमोस्। - कला ढकाल, झापा
…
१,
समयले फर्केर पर्खॅंदैन
चाहेमा जनताबाट सम्भव
रोकेर छेकेर फर्कॅंदैन।
२,
कालसँग कुर्सी जिस्किरहेको
आउँछ विपत्तिको बबण्डर
हातहातबाट ज्वाला निस्किरहेको।
३,
क्रान्तिको आकार हुँदैन
कालसँग कहिल्यै नजिस्किनु
स्वार्थको सपनीले छुँदैन । - घनश्याम पन्त, हरिवन सर्लाही
…
१,
भ्रष्टाचारी डुङ्डुङ्ती गनाए
देश कङ्गाल पारेर
आफ्नै महल बनाए । - प्रेम थापा “मन”, बागलुङ
…
१,
आकाशको रङ्ग निलो
मायाको पीडा नभनौँ
दुखिरहने यो पिलो ।
२,
भदौरे झरी परेर
स्निग्ध देखियो पहाड
बादल यताउता सरेर ।
३,
चाडपर्वको मौसम आयो
गरिबलाई पर्छ मर्का
धनीले तडकभडक देखायो । - मोती योन्जन सुब्बा, दार्जिलिङ
…
१,
जननी खस भाषाको
छरपष्ट छन् सम्पदा
पलाएन किरण आशाको ।
२,
मार्सी फाँट झुलेका
मनमोहक हाम्रो सिन्जा
मनुष्य छन् भुलेका । - राज बहादुर बडुवाल, कनकासुन्दरि -५,जुम्ला
…
१,
देखेर के गर्नु ?
पावर उसैको छ
हावामा उडान भर्नु !
२,
संस्कृतिमा विकृति आयो
छाडा तिज गीत
पुरानोले दु:ख पायो !
३,
लज्जाहीनता समाज पार्दै
आधा शरीर छोपी
छाडा संस्कृतिमा सिॅंगार्दै ! - रबि पौडेल, दक्षिण भारत पाण्डेचरी
…
१,
कृषिप्रधान नेपाल विशाल
प्राकृतिक विपत्तिले गर्दा
खाँदैछ किसानको कपाल l
२,
फलिफाप भएन कृष्टि
उपेक्षित छन् किसानहरू
सरकारको पर्दा वक्रदृष्टि l
३,
चहर्याइरहेछ किसानको घाउ
स्थलगत अनुगमन गरी
शीघ्र मल्हमपट्टी लगाऊ l - बाबुराम गौतम, गुल्मी
…
१,
प्रकोपले सत्यनाश गर्यो
तीजपर्व आएको बेला
विरहमा रुन पर्यो ।
२,
हर्यो सुख चैन
के लाउनु पिरती ?
मनमा शान्ति छैन।
३,
सारा मन्छे घुमाएर
पर्यो रुन कठैबरी
आज शक्ति गुमाएर ! - विवश पारदर्शी, झापा
…
१,
गरगहना सारी लाउँछु
सभ्य संस्कृति झल्काउने
तीज धुमधामले मनाउँछु।
२,
भीडभाड होहल्ला सहरको
कसले मान्ने सरसल्लाह
अनुशासन अभाव पालनको ।
३,
महँगी अभावको सामना
देश विकासमा अधोगति
लाचार गरिबको भावना ।
- कृष्ण बजगाई, भक्तपुर
…
१,
आफ्ना आफ्नै रहर
लक्ष्य शिखर चुम्ने
सङ्घर्षमय हर प्रहर।
२,
दैवको आफ्नै लीला
प्रकृतिको आफ्नै दुनियाँ
फुट्दछन् कठोर शिला।
३,
देहको अनेक यात्रा
अविरल छ पाइला
देखिन्छन् अनेक जात्रा। - तोया नाथ चापागाईं, दमक, झापा
…
१,
छातीमा हात राखेर
उन्नति गरौँ देशमा
दलाल सबै मासेर!
२,
भ्रष्टाचार बढेर गयो
भ्रष्ट मिलेर यहाँ
कङ्गाल बनाउने भयो!
३,
जुटेर अब देशभरि
प्रगति गरौँ यहाँ
सधैँ अगाडि सरी । - कमल प्रसाद बगाले रेग्मी, वालिङ्ग बजार, स्याङ्जा
…
१,
नउडाउ आकाशमा मन
सम्हाल कठोर दुखलाई
साध्य नसम्झ धन ।
२,
दुखाउछ कसैले मन
अर्कोलाई त्यस्तै हुने
बिज्ने काँडा नबन ।
३,
खुराक सम्झ आलोचना
आफ्नैले भन्छ सच्याउन
गल्तीको गर समालोचना । - हिरालाल न्यौपाने, बानपा ८, काेटमाैला, सल्यान
…
१,
सत्ताको आशले झुटो,
चिनेर बोल्यो प्रजातन्त्रले,
चुनाव चिन्हको बुटो। - लोकबहादुर क्षेत्री लामिछाने
…
१,
चेलीबेटी भेटघाट घरको
गरेर महिनौ अगाडिदेखि
नदिनु नाम दरको!
२,
पीडामा छ माइतीघर
आफै पकाउँछौँ यसपालि
रातीमा खाने दर! - मन्दिरा सेढाई, मलेखु, धादिङ
…
१,
ठेलमठेल गरी नाच्ने
लाजको भकारो देखाइ
तीजको मियो भाँच्ने ।
२,
दरमा रक्सी लिएर
नाच्छन् अचेलका चेली
खोया बोतल पिएर । - कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
…
१,
भिटामिन ज्यादा पाइने
बनाउन तरकारी मिठो ,
हरपल गोलभेडा चाहिने ।
२,
लोचनको रोग भगाऔॅं
गोलभेडाको बनाएर जुस,
बिरामीलाई जहिल्यै खुवाऔॅं ।
३,
रोग हुँदैन साझा
अल्सरलाई राम्रो हुन्छ ,
खाएमा गोलभेडा ताजा। - सीमा कार्की समर्पण, मेलचोक पर्सा
…
१,
कर्मशील हात जोडेर
बाँच्न सिकौँ धर्तीमा
विकृति सबै तोडेर ।
२,
नसोध हाल मलाई
बुझ्नै नसकी चरित्र
गइन् मन जलाई ।
३,
बुझेर तिजको मर्म
मनाऔॅं पर्व गर्वले
नछोडौँ कसैले धर्म । - त्रिलोचन भण्डारी, मेचीनगर, झापा
…
१,
चरीको पालो आयो
वेदना पोख्ने समय
तीजले लहर ल्यायो ।
२,
हिन्दु नारीको चाड
मनाऔॅं सबै उमङ्गले
मुखमा पुगोस् माड।
३,
संस्कृति जोगाउन मनाऔॅं
नभित्र्याऔॅं विकृति विसङ्गति,
गरिबको दुरी घटाऔॅं । - धनमाया चौधरी, कैलाली
…
१,
यति कुरा जान्नुपर्छ
जगत् चित्तको रूप
स्वप्नतुल्य भनी मान्नुपर्छ !! - सुरेश कार्की
…
१,
छ गर्मी बढेको
पसिनाले भिजेको शरीर
छ पुरै डढेको ।
२,
माहोल बनाएर हेर
पुछुताउनु पर्ला पछि
टुट्न लाग्दैन बेर।
३,
जीवन सङ्घर्ष रहेछ,
बुझ्दै बिते दिनहरू
अब ढिलो भएछ। - दुर्गा आचार्य, मोरङ
…
१,
समयको साक्षी हुँदैन
टारेर केही नटरेपछि
एकान्तमा किन रुदैँन !
२,
टिप्स दिँदै सान
उचालेर टुप्पामा पुर्याई
तिजलाई बढायो सम्मान !
३,
जिउँदो लास जिउनेहरू
पैतालामा घाम नलाग्ला
निसासिन रक्सी पिउनेहरू ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
…
१,
आमाको हातले पाकेको
दर खान आऊ
चेलिबेटी तिम्रैलाई राखेको ।
२,
विशेष चलिरहेको पर्व
नाच्दै रमाउने तिज
साथीहरू बाँड्ने हर्ष ।
३,
सुखको पल त्यहाँ !
कस्तो रमाइलो थियो
मिलिजुली खेल्थ्यौँ जहाँ । - ईश्वर साउद(भिक्षु), रामारोशन – ६, सदुरपश्चिम, अछाम
…
१,
दर खाने दिन
अब नजिक आयो
भाइ आउँछ लिन |
२,
तीजका गीत गाएर
गरिन्छ है रमाईलो
ताली मादल बजाएर |
३,
अचेल एक महिनादेखि
दर खाँदै हिॅंड्नेको
झार्नुपर्छ लौ ! सेखी । - सरिता सेढाई, धादिङ
…
१,
बनियो भने लेखक
एकदिन पक्कै मैले ,
निकाल्ने छु पुस्तक ।
२,
घामले के गर्यो ?
शितल छैन आज
ज्यानबाट पसिना झर्यो ।
३,
पानी पर्ने भयो
भन्दाभन्दै मैले यहाँ
बत्ती पनि गयो । - अमृत कोइराला, पोखरा -१८, चंखपुर
…
१,
तिजको बहार आयो
भड्किलो नहुनु कोही
चेलीको लहड पलायो ।
२,
मिलेर आगनमा दामी
नाच्नु गाउनु खुलेर
माइतीको नाक थामी । - हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार
…
१,
आँखा भएका अन्धा
स्वार्थमा गर्ने लुटपुट
फैलिएको लुटको धन्दा ।
२,
कालीगण्डकी त्रिशूली दायाँबायाँ
बिचमा मेरो बास
ठुल्ठुलो रूखको छाया ।
३,
सम्पूर्णमा शुभ गोधूलि
आआफ्ना भावको झिल्का
लेखौँ सबैले मिलिजुली । - प्रद्युम्न चालिसे, भक्तपुर कठुञ्जे
…
१,
नपर्नु कसैको भर
विश्वास गर्दै पाखुरीको
कर्म गर्न सर।
२,
बचाई राख धन
भविष्यमा काम लाग्छ
सहयोगी हुँदैन जन।
३,
हेर्दा मात्रै राम्रो
कलियुगमा मान्छेको मन
डुङ्गाझैँ हुन्छ चाम्रो। - अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ,भारत
…
१,
आफ्नैको छैन विश्वास
स्वार्थमा अडेको दुनिया
दिलाउॅंछन् नमिठो आभास ।
२,
मनमा खुसी छायो
भेटघाट हुने माध्यम
तीज पर्व आयो ।
-कोपिला अधिकारी, गोरखा
…
१,
बाटोमा पैरो गइदियो
जनताको सेवा नगर्नेलाई
प्रकृति बहाना भइदियो।
२,
असत्यले जितेको देख्दा
रिस उठ्छ इमानीलाई ,
अपराधीले उपदेश लेख्दा।
३,
गाउॅंले सम्झना मनभरिको
दुःखमा सहयोग गर्ने ,
याद आयो दौँतरीको। - सुस्मिता अधिकारी ,काठमाडौँ
…
१,
तिजको दिन्छु शुभकामना
दिदीबहिनी मिलेर मनाऔॅं
साटौँ सुखद भावना। - शोभा आचार्य गौतम, काठमाडौँ
…
१,
निराशामा डुब्यो मन
सकिएन गर्न केही
व्यर्थै बित्यो जीवन।
२,
सुन्दैनन् उपदेश गाली
बहिरा नेताहरूको छ
देशको ढुकुटीमा हालिमुहाली । - पुष्पा सुवेदी, नेपालगन्ज, बॅाके
…
१,
मायालुको बोली रसिलो
सबैलाई मख्ख बनाउने
जिउ छ कसिलो ।
२,
नेता भए शाकाहारी
देश रित्तो बनाए
बन्छन् अनि ब्रह्मचारी । - बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ), कनकाई – ४, झापा
…
१,
म खाँदिनॅं दर,
दर खाने दिन,
खाउला माइती घर!
२,
भड्किलो भयो रहर,
मौलिकता बेचेर व्यापक,
बिग्रिए सबका नजर।
३,
केवल खान लाउन,
बङ्ग्याई आज रीतिरिवाज ,
सकिन्न सुख पाउन । - मनोहरी पौडेल, गैडाकोट १
…
१,
आयो तिज पर्व
माइती चेलीको मिलन
हो हाम्रो गर्व ।
२,
पिताले गरेका योगदान
कुसे औॅंसीमा जस्तै
गर्नुपर्छ सधैँ सम्मान ।
३,
आयो हरितालिका तिज
श्रीमान् श्रीमती सम्बन्धमा
राखोस् समानताको बीज । - जयनारायण नेपाल, इलाम ,हाल सूर्य विनायक २, बालकोट भक्तपुर
…
१,
हाँसो खुसीको कथा
यहाँ रचना गर्नुपर्छ
छोपेर पिर व्यथा ।
२,
गर्छन् मान्छे अभिमान
दुई दिने जीवनको
केही छैन ठेगान ।
३,
दुःख मनभित्र लुकेको
चाहना सबको खुसी
कहाँ हुन्छ पुगेको ? - रुना कर्माचार्य दाहाल, चितवन
…
१,
झुपडीको होला बास
खुसीले बिताउॅंला जीवन
खाएर दुई गाँस ।
२,
ऐेस, आराम नहोस्
सानो स्वार्थ छ
जीवन धान्न पुगोस् । - नन्दा धामी, नौगाड दार्चुला
…
१,
आफ्नो संस्कृति अपनाऔॅं
पर्वको नाममा तडकभडक
कहिल्यै विकृति नचलाऔॅं । - सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
…
१,
कसैको भर गर्दिनॅं
लक्ष्य पूरा नगरी
सायद म मर्दिनॅं ।
२,
पीडाले जेलिएर जिउन
साह्रै गाह्रो हुन्छ
टुक्रिएको मुटु सिउन।
३,
बोझ घटाएर जान्छु
म मरेपछि तिमी
मोटाउँदै जानू, कान्छु। - ललिता गिरी, सिन्धुली
…
१,
म गर्व गर्छु
नेपाली हुनुमा यहाँ
आशाका भाव भर्छु ।
२,
अथाह प्रकृतिको धनी
मेरो देश नेपाल
माया छ नि ।
३,
मलाई मेरै पारा
मन पर्छ हजुर
हामी नेपाली सारा - शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं
…
१,
सधैँ बाढीको डर
गरिबको कारणले हो
बस्न पाइएन घर ।
२,
आशाको दियो बालेर
अझै जिउँदैछु म
मनमा पिर पालेर ।
३,
यो नदेखिने काल
भेटे यही धर्तीमा
मैले बिच्छ्याउॅंथेँ जाल। - लक्ष्मण देउवा डोटी
…
१,
छैन कसैको भर
आफ्नै मान्छे हत्यारा
मनमा सधैँ डर ।
२,
हाम्रो सुन्दर संस्कृतिलाई
छाडा गीत गाउनेले
विकृत बनाए बाइ !
३,
सकिएन माइत जान
एकमहिना अघिदेखि ठिक
होइन दर खान । - शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
…
१,
इज्जत पाउन साह्रो
पाए पछि हामीलाई
जोगाउन कति गाह्रो।
२,
बैगुनीलाई गुणले मार्नु
आफ्नो सिद्धान्तको अघि
आफू कहिले नहार्नु। - विनोद खाती, मिरिक
…
१,
शिखा भई जल्यो
कोऱ्यौ बा भविष्य
सन्तानका लागि फल्यो ।
२,
बा जिउँदा देवता
ल्याउँछन् खुसी झोलामा
सन्तान प्रेममा एकता । - ममता पौडेल, बुढीगङ्गा -२, मोरङ
::::::::जय झिल्का साहित्य ! ::::::::::
Simply Sseven I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.