साताका तीन लघुकथा- ५९

  • २६ जेष्ठ २०८१, शनिबार १८:२८ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (५९औँ) शृङ्खलाका लागि लघुकथाकार बासुदेव तिमल्सिनाको लघुकथा ‘सेता दारी’, लघुकथाकार श्रीप्रसाद पोखरेलको लघुकथा ‘छोइछिटो’ र लघुकथाकार सविता भट्टराईको लघुकथा ‘प्रतीक्षा’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~
    ——————-<•>——————

    [१]
    लघुकथा: सेता दारी

    ✍️ बासुदेव तिमल्सिना
    “ल ! अब यो सिक्री तानौँ र ऊ त्यो बुढालाई दोष लगाऔँ ।”
    ट्रेनको एउटा कोचमा एउटा बुढो मानिस र केही उदण्ड केटाहरू यात्रा गरिरहेका बेला एउटा उदण्ड केटाले साथीहरूसँग प्रस्ताव राख्यो । सबै केटाहरू हाँसे र सही थापे ।

    अर्को उदण्डले सावधान गरायो- “विनाकारण चेन तान्नेलाई रु.पाँचसय जरिवाना र ६ महिनाको कैद हुन्छ नि ।”
    अर्कोले जुक्ती निकाल्यो- “हामी सबैजनाले पचास/पचास निकालौँ पाँचसय पुगिहाल्छ नि । त्यसमाथि पनि दोष त त्यो बुढालाई लाउने हो नि ! इनकेस तिर्नुपर्यो भने तिरौँला ।”
    बुढाले हात जोडेर धेरै बिन्ती गर्यो तर कसैले एक सुनेनन् ।

    सबैजनाले पचास/पचास उठाए, पाँचसय भयो । त्यसमध्येको एउटाले सबै रुपैयाँ जम्मा गरेर गोजीमा हाल्यो । चेन खिचियो । ट्रेन रोकियो । एकैछिनपछि टी.टी. र केही प्रहरी आएर सोधखोज गरे । ती बदमास केटाहरूले एकै स्वरमा बुढालाई देखाए ।
    “ए बुढा ! तँलाई यो उमेरमा यस्तो हरकत गर्न लाज, डर केही लागेन ?” टी.टी. ले सोध्यो ।
    “साहेब ! चेन खिँच्नु मेरो बाध्यता थियो । मसँग भएको सबै पाँचसय रुपैयाँ यिनीहरूले लुटेर लगे । त्यो पेैसा ऊ त्यो केटाको त्यो चैँ खल्तीमा राखेको छ । मेरा नोटहरू सबै पचासका छन् ।”

    प्रहरीले खल्ती चेक गर्यो । नभन्दै बुढाले भनेझैँ नोटहरू भेटिए । अर्को स्टेसनमा सबै केटालाई कारबाहीको लागि पुलिसले ओराल्यो । ओर्लदै गर्दा सबै केटाले बुढालाई खाउँलाझैँ गरेर हेरे ।

    उनीहरूको हेराइको जवाफमा बुढाले आफ्नो दारीमा हातले मुसार्दै भन्यो- “केटा हो ! मेरा यी दारी घामले डढेर मात्रै सेता भएका होइनन्, बुझ्यौ ?”
    लालबन्दी, सर्लाही
    ——————-<•>——————

    [२]
    लघुकथा: छोइछिटो

    ✍ श्रीप्रसाद पोखरेल
    आज आफ्नै हातले पकाएर मीठो पारेर खाने सोचेर म मसला पिस्न बाहिर निस्किएँ । सिलौटो दुखी मुद्रामा देखेर ठिङ्ग उभिएँ ।
    “के भद्रो हेरेको ? मनमोजी दल ।” सिलौटोले भन्यो । मसला त पिस्नै थियो । छेउमा बसेँ ।
    टिठलाग्दो हेराइले हेर्दै सिलौटोले भन्यो- “सँगैका साथीहरू खोलामा रमाएर बसेका छन्; आफूभने रातोदिन पिसिनुपरेको छ ।”

    मसला पिस्न मेरा हातै लागेनन् । सिलौटो भन्दै थियो- “तिमी मानिसहरू कसैलाई शालिग्राम भनेर पुज्छौ, कसैलाई सिलौटो बनाएर दल्छौ । आखिर हामी एकै आमाका सन्तान त हौँ नि !” सिलौटोले मानिसले गरेको विभेद प्रस्ट्याउन खोज्यो ।

    म एकोहोरो भएर सुनिरहेको थिएँ । त्यसै समयमा लोहोरोले भन्यो- “हुन्देऊ आमा ! यी आफैँ कुजात हुन् । आफ्नै सजातीयलाई त छोइछिटो गर्छन्; हामीलाई के बाँकी राखुन् ?”
    ——————-<•>——————

    [३]
    लघुकथा: प्रतीक्षा

    ✍️ सविता भट्टराई
    “डाक्टर साप ! म कहाँ छु। म किन मरिनँ ? कसरी बाँचेँ ?” अस्पतालको बेडबाट चिच्याउँदै शर्मिलाले भनिन् ।
    “तपाईँको दुवै मृगौला फेलको रिपोर्ट आएदेखि तपाईँको बुढाले छोडेर जानुभयो; फर्केर पनि आउनुभएन l तर हाम्रो अस्पतालको सिक्युरिटी गार्ड जगते बि.क. दाइले आफ्नो एउटा मृगौला दिएर तपाईँलाई बचाउनुभयो ।” डाक्टरले भन्नुभयो ।
    “मलाई किन बचाएको ? मलाई मेरो बुढाले पनि छोडिदिनु भयो । अब म कहाँ जाउँ ?” शर्मिलाले बिलौना गरिन् ।

    “हेर सरु ! जातीय भेदभावका कारण तिमी र म छुट्टिएको आज तीस वर्ष भएछ । तर हाम्रो निश्चल मायाको शक्तिले आज हामी फेरि भेट भयौँ । प्रतीक्षा पनि कहिलेकाहीँ यति सुखद हुँदोरहेछ ।” जगते दाइ भित्र पस्दै भन्नुभयो ।
    “आज प्रणय दिवसको दिन हजुरले आफ्नो अङ्ग, मलाई दिएर अर्धाङ्गिनी बनाउनुभयो । मायामा जातपात ठूलो हुँदोरहेनछ ।” भन्दै शर्मिला भावविह्वल भइन्।
    जनकपुरधाम
    ——————-<•>——————-

    One thought on “साताका तीन लघुकथा- ५९

    1. I loved as much as youll receive carried out right here The sketch is attractive your authored material stylish nonetheless you command get bought an nervousness over that you wish be delivering the following unwell unquestionably come more formerly again as exactly the same nearly a lot often inside case you shield this hike

    Leave a Reply