आयो ‘गोल्डन ब्रिक ब्याट्री’, ३ मिनेट चार्जगर्दा ३०० किमि रेन्ज

  • २९ मंसिर २०८०, शुक्रबार ११:४० मा प्रकाशित
  • काठमाडौं । विभिन्न निर्माताले ब्याट्री इनोभेसनमा ठूलो लगानी गर्दै आएका छन् । यहि क्रममा जिली मोटर्सको इलेक्ट्रीक ब्राण्ड जिकरले ‘गोल्डन ब्रिक ब्याट्री’ उत्पादन सुरु गरेको छ ।

    कम्पनीले उक्त ब्याट्रीको सुरक्षा र पर्फमेन्स परिक्षण समेत भइसकेको जनाएको छ । कम्पनीका अनुसार नयाँ ‘गोल्डन ब्रिक ब्याट्री’ माइनस ४५ डिग्री सेल्सियस तापक्रममा ८ घन्टा राखेर परिक्षण गरेको जनाएको छ । साथै १००० डिग्री तातो आगोमा राखेर पनि यसलाई परिक्षण गरिएको जिकरको दावी छ ।

    सुरक्षाको हिसावले निकै उत्कृष्ट रहेको यो ब्याट्री गोल्डन प्याकमा उपलब्ध हुनेछ । यसमा लिथियम आइरन फस्फेट (एलएफपी) सेलहरु रहने छन् । कम्पनीले यसको मास प्रोडक्सन पनि सुरु गरिसकेको जनाएको छ । यसको प्रयोग डिसेम्बर २७ तारिखमा सार्वजनिक हुने ‘जिकर-००७’ सेडान कारमा हुनेछ ।

    यो ब्याट्री ८३.७ प्रतिशत उपभोग हुने बताइएको छ । आजको दिनमा अन्य कम्पनीले उत्पादन गरेको एलएफपी ब्याट्री अधिकतम ६६ प्रतिशत मात्रै उपयोग हुँदै आएको छ ।

    जिकरले ‘गोल्डन ब्रिक ब्याट्री’लाई ८०० भोल्ट आर्किटेक्चरमा बन्ने गाडीमा प्रयोग गर्दा केबल १५ मिनेटमा ५०० किलोमिटर रेन्ज दिनेगरी चार्ज गर्न सकिने दावी गरेको छ ।

    त्यसका लागि कम्पनीले भी-३ ८०० किलोवाट क्षमताको डिसी फास्ट र भी-२ ६०० किलोवाट लिक्वीड कुल्ड फास्ट चार्जर पनि सार्वजनिक गरेको छ । भी-२ चार्जरले केबल ३ मिनेटमा ३०० किलोमिटर गुड्न पुग्ने रिचार्ज गर्ने जिकरको दावी छ ।

    Leave a Reply