बिजुवा – पाठकीय टिप्पणी

  • ९ पुष २०७८, शुक्रबार ०९:५२ मा प्रकाशित
  • पाठकीय टिप्पणी
    लघुकथा -: बिजुवा
    लघुकथाकार -:दिनेश निरौला

    लघुकथाकार दिनेश निरौलाले आज मिति २०७८/ ९/८ मा हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा
    ” बिजुवा” पढेपछि मेरो पाठक मनमा आएका भावनालाई लघुपाठकीय टिप्पणीको रुपमा प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

    अन्य लघुकथाकारहरुसँग झै उहासँग पनि मेरो साक्षात्कार भएको छैन तर लघुकथाको माध्यमबाट हामी परिचित छौ ।अगस्त ५, २०२० देखि हाम्रो लघुकथा पाठशालामा जोडिनु भई दैनिक लघुकथा प्रेषित गर्नुहुने लघुकथाकारका सय भन्दा बढी कथाहरु हाम्रो लघुकथा पाठशालाको भित्तोमा पढन सकिन्छ ।

    बि.सं.२०३७/७/ १२ मा पिता सुर्य प्रसाद र आमा जानुका निरौलाको कोखबाट पाँचौ संतानको रुपमा साहित्यकार दिनेश निरौला ओखलढुंगा साविक कुईभिर -९, हाल चिसंखुगढी -१ मा जन्मिनु भएको हो । हाल उहाँ नेपाल प्रहरीको हवल्दार पदमा दुहबी सुनसरीमा कार्यरत हुनुहुन्छ । लघुकथा बाहेक अन्य बिधामा पनि कलम चलाउनुहुने साहित्यकार दिनेश निरौलाको “आशाको त्यान्द्रो ” गजल संग्रह २०६४ प्रकाशित छ ।

    प्रस्तुत कथा “बिजुवा” मा मुख्य पात्रको रुपमा बिजुवा र अन्य सहायक पात्रहरुको रुपमा ढोलेहरु र दर्शकहरु रहेकाछन् ।कथाको शुरुवात यसरी भएको छ । ढोलेहरू ढ्याङ्ग्रो र थाल बजाउन थाले । बिजुवा सेउली र फुर्का लिएर कहिले बिरामीलाई त कहिले कालो बोकोलाई लिसो छर्किँदै बिभिन्न देवी देवताहरूको नाम पुकार्दै कामी रहेको थियो बाह्र बजे राती सम्म । ठिक बाह्र बजे कालो बोकोको भोग दियो बिरामीलाई वनको शिकारी लागेर दु:ख दिएको हो सँगै कसैले उठन गरेर लगाई पनि दिएको छ । यस्ता बिमारी पहिल्यै देखि उस्ले निको बनाएको छ बिजुवाको भनाई त्यस्तै थियो ।

    आज कसैले पनि जोखाना नराख्नू । मेरो गुरुदेउले जोखाना नहेर्न भनेको छ । उसले बिजुवा बस्नु भन्दा अगाडीनै भनेको थियो । रातभर बिजुवा बस्ने उसले आज यत्तिमै दियो थन्क्याएको थियो । बोको चाँडै पकाउन उस्ले ढोलेहरुलाई भनेको थियो । उज्यालो हुनै लाग्दा सबैले खाईवरी सके । अनि बिजुवाले भन्यो ।” यो वालाडाङ्ग्रे (बिमारीलाई) कालो जण्डिस पनि भएको छ । मेरो गुरुदेउले भनेको यो चै फुकेर निको हुँदैन, तपाईहरू चाँडै तयार गर्नोस् बिमारीलाई अब हामी सबै मिलेर अस्पताल लानुपर्छ ।” यसरी कथाको समापन गरिएको छ ।

    ग्रामीण समाजको यथार्थ र परम्परागत धामीझाँक्री बस्ने प्रचलनलाई उजागर गर्दै बिजुवाले अस्पताल लानुपर्ने र जन्डिस बोको चढाएर ठिक हुदैन भन्दै सचेत गराएको छ भने धामीझाँक्रीले बोको खाने दाउछोप्दै बोको खाईसकेपछि मात्रै अस्पताल लानुपर्छ भनेर भन्छन भन्ने तितोसत्य पनि उजागर गरिएको छ ।कथाको भाषा सरल छ । स्थानियपन झल्किएको छ । सेउली र फुर्को लिएर बसेको बिजुवाले बोको चढाएर सम्पूर्ण रोग निको पार्ने कोसिस गर्ला कि भन्ने पाठकीय अनुमान बिपरित अस्पताल लैजानु पर्छ भन्दै कथाको समापनले झट्का दिन सक्षम रहेको छ । १७३ शब्दमा लेखिएको कथा पाठकलाई खुलदुली जगाउदै अन्त्यमा अस्पतालमै लानुपर्ने गहकिलो र महत्त्वपूर्ण संन्देश दिन सफल भएको छ। कथा मन परेकोले होला मेरो पाठकीय मनले कथामा खोट लगाउने ठाउँ देखेन ।

    अन्त्यमा, साहित्यकार दिनेश निरौलाको साहित्यिक यात्रा सप्तकोसी नदी जस्तै अविरल बगिरहोस , सगरमाथाको शिखर चुमोस् । लघुकथाहरुको संग्रह यथाशीघ्र प्रकाशित होस् भन्दै अग्रिम बधाई तथा कोटी कोटी शुभकामना सहित सुस्वास्थ र दीर्घायुको शुभकामना व्यक्त गर्दछु ।

    बन्दना घिमिरे गठ्ठाघर, भक्तपुर

    लघुकथा -: बिजुवा ,
    दिनेश निरौला
    ढोलेहरू ढ्याङ्ग्रो र थाल बजाउन थाले । बिजुवा सेउली र फुर्का लिएर कहिले बिमारीलाई त कहिले कालो बोकोलाई ।लिसो छर्किँदै काम्न थाल्यो । उ बिभिन्न देवी देवताहरूको नाम पुकारी रहेको थियो । यो क्रम बाह्र बजे राती सम्म निरन्तर चलेको थियो ।
    ठिक बाह्र बजे कालो बोकोको भोग दियो ।बिमारीलाई वनको शिकारी लागेर दु:ख दिएको हो ।सँगै कसैले उठन गरेर लगाई पनि दिएको छ । यस्ता बिमारी पहिल्यै देखि उस्ले निको बनाएको छ । बिजुवाको भनाई त्यस्तै थियो ।
    आज कसैले पनि जोखाना नराख्नू । मेरो गुरुदेउले जोखाना नहेर्न भनेको छ ।उस्ले बिजुवा बस्नु भन्दा अगाडीनै भनेको थियो ।र रातभर बिजुवा बस्ने उस्ले आज यत्तिमै दियो थन्क्याएको थियो ।
    बोको चाँडै पकाउन उस्ले ढोलेहरुलाई भनेको थियो । उज्यालो हुनै लाग्दा सबैले खाईवरी सके । अनि बिजुवाले भन्यो ।” यो वालाडाङ्ग्रे (बिमारीलाई) कालो जण्डिस पनि भएको छ । मेरो गुरुदेउले भनेको यो चै फुकेर निको हुँदैन । तपाईहरू चाँडै तयार गर्नोस् । बिमारीलाई अब हामी सबै मिलेर अस्पताल लानुपर्छ “

    २०७८।०९।८ गते
    ओखलढुंगा , हाल – दुहबी सुनसरी

    Leave a Reply