–वसन्त अनुभव-
तुलसीपुर, २०७६ माघ २१
हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीहरुको लागि १ दिने तालीम कार्यक्रम आज तुलसीपुरमा सप्पन्न भएको छ । तालिममा विभिन्न स्वास्थ्य संस्थाका ३९ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
तालीम कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका, जनस्वास्थ्य प्रवर्द्धन महाशाखाका प्रमुख ओम पि. न्यौपानेले हात्तीपाइले रोगको एतिहासिक पृष्ठभुमि, नेपाल लगायत विश्वमा यस रोगको अवस्था, कार्यक्रमको जोखिम व्यवस्थापन लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।
त्यस्तै जनस्वास्थ्य प्रवर्द्धन महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल के.सी.ले हात्तिपाइले रोग निवारण कार्यक्रम अन्तर्गत तुलसीपुर उप-महानगरपालिकाको वडा अनुसार लक्षित जनसंख्या र परिचालन हुने स्वास्थ्यकर्मीहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
आयोजक संस्था तुलसीपुर उपमहानगरपालिका, जनस्वास्थ्य प्रवर्द्धन महाशाखाका अनुसार यस अघि र आज समेत गरि विभिन्न ४ चरणमा तुलसीपुर उ.म.न.पा.भित्रका संस्थामा कार्यरत १५० जना स्वास्थ्यकर्मीहरुलाई तालिम दिइसकिएको छ । साथै १० जना पत्रकारहरुलाई यस कार्यक्रम बारे अभिमुखिकरण गरिसकिएको छ । साथै महाशाखाले कार्यक्रमको सम्पुर्ण तयारी पूरा गरिसकेको समेत जनाएको छ।
तालिम कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रादेशिक आयुर्वेद चिकित्सालय, विजौरीका कविराज निरीक्षक वसन्त बहादुर के.सी.ले स्थानीय जनप्रतिनिधि, शिक्षक, समाजसेवी, महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहयोग लिई निर्धक्कका साथ हात्तीपाइले विरुद्धको औषधि खुवाउन सबै स्वास्थ्यकर्मीहरु लागिपर्नु पर्ने बताउनु भयो । साथै उक्त औषधिका बारेमा जनमानसमा रहेको भ्रम, अविश्वास, नकारात्मक धारणाहरुलाई चिर्दै सहि सूचना प्रवाह गरि कार्यक्रमलाई सफल बनाउन जिम्मेवारीपुर्ण ढंगले लाग्नुपर्ने बताउनु भयो । अन्तमा कार्यक्रमलाई प्रभावकारी ढंगले सम्पन्न गरि हात्तीपाईले रोग निवारण अभियानलाई सफल बनाउन सबैलाई शुभकामना दिदै तालिम कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो।
तुलसीपुर उपमहानगरपालिकाको वडानुसारको लक्षित जनसंख्या र परिचालन हुने स्वास्थ्यकर्मी संख्या
जनस्वास्थ्य प्रवर्द्धन महाशाखाका अनुसार उपमहानगरले १ लाख ४८ हजार ८ सय ३६ जना मानिसहरुलाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने लक्ष्य लिएको छ, जसका लागी ४ सय ९६ स्वास्थ्यकर्मी परिचालित गरिनेछ । जसमध्ये तुलसीपुर वडा नं. १ मा लक्षित जनसंख्या ४,५०८ र परिचालन हुने स्वा.क. १५ जना, वडा नं. २ मा लक्षित जनसंख्या ४,४९४ र परिचालन हुने स्वा.क. १५ जना, वडा नं. ३ मा लक्षित जनसंख्या ७,७०३ र परिचालन हुने स्वा.क. २६ जना, वडा नं. ४ मा लक्षित जनसंख्या ८,३४६ र परिचालन हुने स्वा.क. २८ जना, वडा नं. ५ मा लक्षित जनसंख्या १२,८४५ र परिचालन हुने स्वा.क. ४२ जना, वडा नं. ६ मा लक्षित जनसंख्या १३,७७८ र परिचालन हुने स्वा.क. ४६ जना, वडा नं. ७ मा लक्षित जनसंख्या ११,६१३ र परिचालन हुने स्वा.क. ३९ जना, वडा नं. ८ मा लक्षित जनसंख्या ५,८८० र परिचालन हुने स्वा.क. २० जना, वडा नं. ९ मा लक्षित जनसंख्या ५,१०४ र परिचालन हुने स्वा.क. १७ जना, वडा नं. १० मा लक्षित जनसंख्या ६,७७६ र परिचालन हुने स्वा.क. २३ जना, वडा नं. ११ मा लक्षित जनसंख्या ८,९६७ र परिचालन हुने स्वा.क. ३० जना, वडा नं. १२ मा लक्षित जनसंख्या ९,२४६ र परिचालन हुने स्वा.क. ३१ जना, वडा नं. १३ मा लक्षित जनसंख्या ५,६४८ र परिचालन हुने स्वा.क. १८ जना, वडा नं. १४ मा लक्षित जनसंख्या ६,२१५ र परिचालन हुने स्वा.क. २१ जना, वडा नं. १५ मा लक्षित जनसंख्या ७,२०३ र परिचालन हुने स्वा.क. २४ जना, वडा नं. १६ मा लक्षित जनसंख्या ७,८७१ र परिचालन हुने स्वा.क. २६ जना, वडा नं. १७ मा लक्षित जनसंख्या ७,५५३ र परिचालन हुने स्वा.क. २५ जना, वडा नं. १८ मा लक्षित जनसंख्या ८,०६६ र परिचालन हुने स्वा.क. २६ जना र वडा नं. १९ मा लक्षित जनसंख्या ७,०२९ र परिचालन हुने स्वा.क. २४ जना रहेका छन ।
हात्तीपाइले रोग निवारण कार्यक्रम
हात्तीपाइले रोग खास गरि ३ प्रजातीको परजीवी जस्तो विचेरिया ब्यान्क्रोफ्टी, बुर्जिया मालायी र वि. टिमोरी बाट हुने गर्दछ, जुन संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यस रोगबाट संक्रमित मध्ये विश्वमा बहुसंख्यक मानिस २ करोड ५० लाख अण्डकोष सुन्निएको र १ करोड ५० लाख हातगोडा सुन्निएको रहेको अनुमान गरिएको छ ।
हात्तीपाइले रोग निवारण कार्यक्रम विश्वका ७० भन्दा धेरै मुलुकमा संचालन भइरहेको छ । यो एक विश्वब्यापी कार्यक्रम हो । हाल ५० देशका ८५.६ करोड मानिस यस रोगको जोखिममा रहेका छन । दक्षिण पुर्व एसियाका ११ मुलुक (ब्रुनाई, म्यानमार, कम्बोडिया आदि) मध्ये ९ देशमा यो रोगको उच्च जोखिम रहेको छ, जहाँ जोखिममा रहेका मध्य ६५% मानिस बस्ने गर्दछन । ती देशहरु मध्ये नेपाल पनि एक हो ।
सन २०२० भित्र विश्वबाटै यो रोगको निवारण गर्ने भन्ने विश्व स्वास्थ्य संगठनको लक्ष्य अनुरुप विगत ९/१० बर्ष देखि नै निरन्तर रुपमा नेपालमा हात्तीपाइले रोग विरुद्ध औषधि सेवन कार्यक्रम संचालन गरिदै आएको छ । सन २००१ मा नेपालमा यस रोगको प्रिभ्यालेन्स १३ रहेकोमा हाल घटेर १.४७ हुन पुगेको छ । रोग निवारण हुनका लागि प्रिभ्यालेन्स दर १ भन्दा कम हुनु पर्दछ ।
विगत वर्ष झै यस वर्ष पनि हामी हात्तीपाइले रोग निवारणका लागि हात्तीपाइले रोग विरुद्ध औषधि सेवन कार्यक्रमको अभियानमा छौ । नेपालको दाङ लगायत १३ जिल्लामा हात्तीपाइले विरुद्ध औषधि खुवाउने कार्यक्रम रहेको छ । जसको लक्षित जनसंख्या ७४ लाख ६१ हजार रहेको छ । दाङ जिल्लाको लक्षित जनसंख्या ६ लाख ४४ हजार ५ सय ६३ रहेको छ ।