सेनामा शुद्धिकरणको सुरुवात : पूर्व सेनापति क्षेत्रीको ‘भ्रष्टाचार’ खोतल्दै सांसद

  • २ फाल्गुन २०७६, शुक्रबार १८:२३ मा प्रकाशित
  • काठमाडौं – नेपाली सेना राष्ट्रिय सुरक्षाका मामिलामा संवेदनशील संगठन हो । त्यसैले सैनिक संगठनभित्रका कतिपय गतिविधिलाई गोप्य नै राखिन्छ । परिपक्व र संवेदनशील सैनिक संगठनभित्र गैरकानुनी कार्य नहुने विश्वास लिइन्छ ।सैनिक संगठनको संवेदनशीलतालाई दुरुपयोग गर्दै कतिपय सैनिक अधिकारीले व्यक्तिगत स्वार्थ र लाभका लागि भ्रष्टाचारजन्य गतिविधि गर्ने गरेका घटना समेत सार्वजनिक हुन्छन् । तल्लो दर्जाका सैनिक अधिकारीमाथि आन्तरिक कारवाही हुने गरेपनि उपल्लो दर्जाका सैनिक अधिकारीले उन्मुक्ति पाउने गरेको गुनासो सुनिँदै आएको छ ।

    पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सैनिक नेतृत्व सम्हाल्दा थुप्रै भ्रष्टाचार र अनियमितता भएका चर्चा चलेपनि त्यसमाथि छानबिन भएन । पूर्व सेनापति क्षेत्रीले उन्मुक्ति पाउने देखिएको अवस्थामा उनका भ्रष्टाचारका फाइल खोतल्ने अग्रसरता प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले देखाएको छ । पूर्व सेनापति क्षेत्रीमाथि सैनिक मुख्यालय बनाउँदा र राष्ट्रिय गौरवको आयोजना काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणमा घोटाला गरेको आरोप छ । सैनिक नेतृत्वमा रहँदा पदीय दुरुपयोग गर्दै अनियमितता गरेर अकूत सम्पत्ति आर्जन गरेको आरोप समेत क्षेत्रीमाथि छ ।

    क्षेत्रीविरुद्ध संसदको सुशासन समितिमा उजुरी परेको थियो । उजुरीमाथि प्रारम्भिक छानबिन गर्न गत असोजमा सांसद रेखा शर्माको संयोजकत्वमा गठित गुनासो तथा उजुरीहरूको संक्षिप्त विवरण र उजुरी सुनुवाइ कार्यदलले क्षेत्रीमाथि छानबिन हुनुपर्ने निष्कर्ष निकालेको छ । कार्यदलमा सांसद नवराज सिलवाल र कांग्रेस सांसद दिलेन्द्र बडू सदस्य थिए । कार्यदलले बुझाएको प्रतिवेदनमा समितिमा प्राप्त उजुरीलाई अगाडि बढाउँदै थप छलफल र छानबिन गर्नुपर्ने सुझाव दिइएको छ ।

    कार्यदलको प्रतिवेदनमाथि समितिमा थप छलफल भएर कारवाही प्रक्रिया अगाडि बढाउन सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखेर पठाइने स्रोतले जनाएको छ । समितिका सदस्य सांसदहरूले क्षेत्रीमाथि लागेको आरोपबारे रक्षा मन्त्रालय, नेपाली सेना, सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारसँग छलफल गर्नुपर्ने सुझाव दिएका छन् ।

    सैनिक नेतृत्वलाई लागेको आरोपमाथि छानबिन हुनु सही कदम भएको नेपाली सेनाका अवकाश प्राप्त एक अधिकारीले बताए । ‘संगठनको संवेदनशीलतालाई प्रयोग गरेर भ्रष्टाचार गर्ने छुट कसैलाई हुनु हुँदैन । गलत गर्ने जो कोही पनि छानबिनको दायरामा आउनुपर्छ,’ ती अधिकारीले भने, ‘आज सेनापतिलाई, भोलि अर्काेलाई उन्मुक्ति दिँदै जाने हो भने सैनिक संगठन नै बदनाम हुने अवस्था आउँछ । सैनिक संगठनलाई शुद्धीकरण गर्न छानबिन र कारवाही हुनुपर्छ ।’

    नेपाली सेनाभित्र समेत काठमाडौं–निजगढ द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणमा भएका अनियमितताको छानबिन भइरहेको छ । द्रूतमार्ग आयोजनाको प्रमुख हुँदा पूर्व प्राविधिक जर्नेल योगेन्द्र खाँणले आयोजनामा अनियमितता गरेको उजुरी सेनाभित्र छानबिनको विषय बनेको छ । तर खाँणले आफूले पूर्व सेनापति क्षेत्रीको निर्देशनमा काम गरेको बयान दिएपनि सैनिक नेतृत्वले क्षेत्रीमाथि छानबिन अगाडि बढाउन सकेको थिएन ।
    प्रधानसेनापति पूर्णचन्द्र थापाले द्रूतमार्ग छानबिनको जिम्मा बलाधिकृतरथी शरद् गिरीलाई दिएका छन् । आयोजनामा रहँदा खाँणले आफन्तलाई फाइदा पु¥याएको र करोडौं अनियमितता गरेको आरोपसहित जंगी अड्डामा उजुरी परेको थियो । तर, छानविन समितिले उनलाई सफाई दिइसकेको छ । द्रूतमार्गमा अग्लो पुल र सुरुङ बनाउने काममा अन्तर्राष्ट्रिय टेन्डर गर्ने प्रचलन विपरीत खाँणले तत्कालीन सेनापति राजेन्द्र क्षेत्रीको निर्देशन अनुसार मौखिक रुपमै आफ्ना मान्छेको डोजर, लोडर लगाएर जमिन मिलाउने काममा मात्रै करोडौं घोटाला गरेको गम्भीर आरोप लागेको थियो ।

    आयोजना प्रमुख रहँदा खाँणले विना योजना लाखौं वर्गफिट बाटो खन्न लगाउने, बिल बनाउने र पैसा दिने गरेको उजुरीमा उल्लेख गरिएको थियो। छानबिनमा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई तान्नुपर्ने चर्चा सेनाभित्र चलेको थियो । अनुसन्धानका क्रममा खाँणले समेत आफूले क्षेत्रीकै निर्देशनमा सबै काम गरेको भन्दै उनलाई पोलेका थिए । सेनापति क्षेत्रीले सेनाको खरिद र निर्माणमा अनियमितता गरेको भन्दै उजुरी परेको हो । सैनिक मुख्यालय बनाउंदा समेत उनले आर्थीक रुपमा लाभ लिएको बतांइन्छ ।

    सेनाको वर्तमान नेतृत्वले पूर्व सेनापति क्षेत्रीमाथि छानबिन र कारवाही प्रक्रिया अगाडि बढाउन नसकिरहेका बेला संसदीय समितिले छानबिन गर्न खोज्नु सुखद भएको चर्चा नेपाली सेनाभित्र सुरू भएको छ । ‘सेनाले क्षेत्रीमाथि आन्तरिक छानबिन गर्न सक्छ कि सक्दैन भन्ने अन्योल थियो,’ सेनाका एक उच्च अधिकारीले भने, ‘संसदीय समितिले छानबिन गरेर यथार्थ बाहिर ल्याउनुपर्छ । भ्रष्टाचार र अनियमितताका कुरा हल्लामै सीमित हुनु ठीक होइन । गलत गरेको भए कारवाही हुनुपर्छ र गलत नगरेको भए सफाइ दिनुपर्छ ।काठमाडौपाटिबाट

    Leave a Reply