फ्रान्सेली नागरिक जुली चराहरुको अध्ययन गर्दै बिजौरीमा

  • ८ माघ २०७६, बुधबार १७:४७ मा प्रकाशित
  • दाङ, ८ माघ / चराहरुको अध्ययनका क्रममा म यहाँसम्म आईपुगेकी छु, त्यसमा पनि लोपोन्मुख गिद्धको बासस्थान र आनिबानीका विषयमा जानकारी लिने छु, त्यसमा तपाईहरुको साथ र सहयोगको अपेक्षा गरेकी छु’–तुलसीपुर उपमहानगरपालिका स्यालापानीमा भेटिएकी फ्रान्सेली नागरिक जुली सियाम्सले भन्नुभयो । उहाँ चराहरुको अध्ययन गर्ने क्रममा करिब एक महिना यही क्षेत्रमा रहनुहुन्छ ।

    विश्वमै गिद्ध लोपोन्मुख अवस्थामा छ, किन गिद्धहरु हराउँदै छन्, बासस्थानको समस्या हो वा अन्य प्राकृतिक उथल पुथलले हो, यो अध्ययन जुलीको टोलीले गर्ने छ । उहाँको अध्ययनको स्थानीय व्यवस्थापन पर्यावरणीय दिगो विकास मञ्चले मिलाएको छ । अध्ययनका क्रममा जुलीका अग्रज गुरुहरु पनि दाङ आउने छन्, केही दिनमै । नेपालमा पाइने चराहरुसँगै गिद्धको बासस्थानलाई उनीहरुले सूक्ष्म अध्ययन गर्ने छन् । अनि आनिबानी र आहार विहारका विषयमा पनि बुझ्ने छन् ।

    जुलीले यसका लागि एउटा अत्याधुनिक वाइनाकुलर ल्याउनु भएको छ, कम्मरमा वाइनाकुलर छ, झोलामा जुम क्यामेरा अनि उहाँ बस्नुहुन्छ हेमन्तपुरको एउटा घरमा पेइङ गेस्टका रुपमा । यसलाई नेपालमा होमस्टेका रुपमा पनि लिइन्छ । मैले तपाईको भाषा बुझ्दैन, तर पनि चराको भाषा बुझ्न सक्छु, त्यसैले चराहरुको अध्ययन गर्न नेपालको दाङ आएकी छु, मलाई तपाईहरुले सहयोग गर्नु हुनेछ भन्नेमा पूर्ण विश्वस्त छु, किनकी म पनि एक महिनाका लागि तपाईहरुकै छोरी हुँ–जुलीले भन्नुभयो ।

    अहिले भिजिट नेपाल २०२० पनि सुरु भएको रहेछ, नेपाल पर्यावरण र पर्यटकीय हिसाबले असाध्यै राम्रो देखें, म मेरो देश फ्रान्स फर्के भने मेरा साथीहरुलाई पनि नेपाल घुम्न जान आग्रह गर्नेछु’ – जुलीले उदार भएर भन्नुभयो, नेपाल भ्रमण वर्षलाई सफल पार्नु मेरो पनि दायित्व हो । उमेरले जुली २४ वर्ष हुनुभयो, अध्ययनका क्रममा उहाँले स्नातकोत्तर गर्नु भएको छ । आफ्नो घर फ्रान्समा भए पनि उहाँले कर्मथलो आयरल्याण्ड बनाउनु भएको छ, किनकी उहाँ त्यहाँको एउटा नीजि चिडियाखानामा भोलेन्टियरका रुपमा काम गर्नुहुन्छ । त्यही चिडियाघरले उहाँलाई नेपालमा चराहरुको अध्ययन गर्न पठाएको हो । त्यसमा पनि गिद्धको अध्ययन गर्न उहाँ स्यालापानीमा आउनु भयो ।

    मैले गिद्ध लगायत यहाँ पाईने धेरै चराहरुका विषयमा अध्ययन गर्न यो वाइनाकुलरले सहयोग लिनेछु, अनि तपाईहरुले पनि सहयोग गर्नुहुने छ भन्ने आशा गरेकी छु, किनकी हामीले पनि आयरल्याण्डमा एउटा नीजि चिडियाखानालाई चरा पर्यटनका रुपमा विस्तार गर्दैछौं’–जुलीले भन्नुभयो । त्यसो त जलवायु परिवर्तनको असरसँगै विश्वमा धेरै चराहरुको विलय पनि भईसकेको छ । नेपालमै पनि देखिने ताल्चरीहरु कम हुँदै गएका छन् । गर्मीमा हिमाली क्षेत्रमा रहने र जाडोमा तराई झर्ने ताल्चरीका विषयमा पनि उनीहरुको अध्ययन हुने छ । चरा शिकार बन्द गराउने उहाँको अभियान हो । त्यसैले उनीहरु चरा संरक्षणमा लागिरहेका छन् ।

    एउटा भर्खरैको तथ्यांकले नेपालमा ८ सय ८६ प्रजातिका चराहरु रहेको देखाएको छ । ती मध्ये दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका १८ र १९ मा मात्रै १ सय १२ प्रजातिका चराहरु पाइएका छन् । पर्यावरणीय दिगो विकास मञ्चले केही समयपछि ती चराहरुको तस्बीर सहित प्रदर्शन गर्ने तयारी समेत गरेको संस्थाका अध्यक्ष डिल्लीबहादुर रावतले बताउनु भयो । रावतकाअनुसार चरालाई पनि पर्यटनका रुपमा लिन सकिन्छ, त्यसैले आफुहरुले दशक अघि गिद्धे रेस्टुरेन्ट सञ्चालन गरेको बताउनु भयो । तुलसीपुर उपमहानगर पालिका–१९ को स्यालापानीमा गिद्ध रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

    मुख्यगरी लोपोन्मुख चरा गिद्धको संरक्षणका लागि यो अभियान चलाइएको हो । त्यसका लागि गिद्धको आहाराका लागि बृद्ध पशुहरुलाई त्यहाँ पालिएको छ । ती पशुहरुको मृत्यु भएपछि आहाराका रुपमा एउटा स्पटमा राखिन्छ, गिद्ध आएर खान्छन् । गिद्ध लोपोन्मुख हुनुको पनि एउटा कारण छ, पशुहरुलाई पेनकिलर औषधीका रुपमा डाइक्लोफेनेक अत्यधिक प्रयोग गरियो । त्यही पशुलाई आहाराका रुपमा ग्रहण गर्दा गिद्धको मृगौला ड्यामेज हुने समस्या देखियो । यही विषयलाई अभियानका रुपमा चलाइयो । दाङ जिल्लालाई डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा समेत गरियो, तर यो अवधिमा धेरै गिद्धहरु मृगौला ड्यामेज भएर मरीसकेका थिए ।

    संस्थाले अहिले फेरी पुर्नजीवन पाउने आशामा छ, किनकि प्रकृतिको कुचिकारका रुपमा रहेको गिद्धलाई जोगाउनका लागि पहल सुरु भएको छ । त्यसैले दाङ जिल्लामा स्यालापानी र देउखुरीको सिसहनियामा गिद्ध रेष्टुरेन्ट सञ्चालनमा आएका छन् । तर अहिले संस्थालाई गाई गोरुसंगै उनीहरुलाई खुवाउने परालको समेत समस्या भएको छ । संस्थाका अध्यक्ष रावत भन्नुहुन्छ, स्थानीय सरकारले पराल र पशु ढुवानीका लागि वार्षिक एक लाख मात्रै सहयोग गरे पनि हामीले यो अभियानलाई सार्थक बनाउन सक्ने थियौं । चरा पर्यटनको विकास गर्न सक्ने थियौं ।

    नेपाल भ्रमण वर्ष चलिरहेकै अवस्थामा चरा अध्ययन गर्न आउने करिव आधा दर्जन फ्रान्सेली नागरिकको टोलीलाई थारु संग्राहलय चखौरा, ज्यामिरे दह, चरिंगे दह, चमेरे गुफालगायतका स्थानमा घुमाइने कार्यक्रम पनि रहेको रावतले बताउनु भयो । नेपाल भ्रमण वर्षलाई टेवा दिन चरा पर्यटनलाई पनि जोडिने उहाँको अभिव्यक्ति थियो ।
    साभार : साक्षी खबर

    Leave a Reply