दाङ,चौघेरा, ०५ माघ / सामान्यतया एउटा इनार(कुवा)को आयु कति हुन्छ ? बढीमा एक सय दुई सय वर्ष । कति त एक दुई वर्षमा नै इनारहरु सुकेका इतिहास पनि भेटिन्छ । तर दाङमा एउटा यस्तो कुवा छ । झण्डै १३ सय वर्ष पुरानो । त्यो पनि अहिले निरन्तर रुपमा पानी आइरहेको इनार ।
दाङको घोराही उपमहानगरपालिका वडा नं.१७ चौघेरास्थित गोरक्ष रत्ननाथ मन्दिर परिसरमा विक्रम सम्वत ८ सय सालतिर निर्माण गरिएको एउटा इनार छ । त्यहीँ इनारको पानीले मन्दिरमा पूजाआजा देखि पिउन र अन्य प्रयोजनका लागि प्रयोग गरिँदै आएको छ ।
यो जिल्लाकै सबभन्दा पुरानो र गहिरो भएको दावी समेत गरिएको छ । पातालबाट भाले बासेको सुनिएपछि इनार खन्ने क्रम रोकिएको भन्ने किम्बदन्ती छ । इनारबाट घिर्नीको सहयोगमा पानी निकालेर देवीदेवताको पूजा हुँदैआएको छ । पहिले त गाउँभरीले पानी त्यही कुवाबाट खान्थे । अहिले सबैका घरमा धारा आएपछि मन्दिर मात्रै प्रयोग गर्दैआएको छ ।
पुरानो इनार भएका कारण त्यसको संरक्षण र व्यवस्थापन पनि राम्रो तरिकाले गरिँदै आएको छ । सुरक्षाका लागि वरिपरि फलामे बार लगाइएको छ । चारैतिर बाक्लिएको घाँस र झाडी छिचोलेर नियाल्दा पनि इनारको गहिराइ पत्ता लगाउन कठिन छ । अहिलेसम्म गहिराइको बास्तविकता पनि पहिचान गर्न सकिएको छैन ।
यही इनारबाट दिनहुँ पानी निकालिन्छ र गोरक्षरत्ननाथ मन्दिरमा विशेष पूजा आराधनासँगै यही इनारको जल चढाइने गरेको गोरक्ष रत्ननाथका मठाधीश (प्रमुख) योगी देवनाथले बताए । उनले कुवाको पानी १२ महिना प्रयोग हुने भन्दै १३ सय वर्ष पुरानो भएको दावी गरे । निर्माण र स्थापनाको कुनै लिखोट नभए पनि मन्दिरसंगै स्थापना भएको हुदा यसको इतिहास लामो भएको उनको तर्क छ ।
मन्दिर परिसरमा रहेको इनारसँगै फूलको लागि रोपिएको रुख पनि छ । त्यो रुख पनि १३ वर्ष पुरानो छ । अहिले त्यो रुखमा विभिन्न आकृतिहरु समेत देखिने गरेका छन् । त्यो पनि भगवानकै शक्ति रहेको स्थानीयहरुको जिकिर छ । इनारनजिकै गलैंचीको रूख छ । रत्ननाथले पानीका लागि इनार र फूलका लागि गलैंची रोपेका जनविश्वास छ । गलैंचीसँगै मन्दिर परिसरबाहिरका केही वरपिपलका रूख पनि इनारजत्तिकै पुराना मानिन्छ ।
के छ मन्दिरको किम्बदन्ती ?
रत्ननाथबारे किम्बदन्तीअनुसार हालको चौघेरा त्यति बेला घना जंगल थियो। थारू राजा रत्नपारखु एकदिन जंगलमा शिकार खेल्न गए। एउटा बँदेललाई वाण हाने । घाइते बँदेल भाग्यो। रत्नपारखु घोडा चढेर बँदेलको रगतको डोब पछ्याउँदै हिँडे।
जंगलका बीचमा एकजना योगी धुनी बालेर बसेका थिए। उनको छेउमै घाइते बँदेल पनि । बँदेलको शरीरमा लागेको तीर धुनीमा गाडिएको थियो। रगत बगिरहेकै थियो । रत्नपारखु घोडाबाट ओर्लिएर आफ्नो शिकार बँदेल दिन जोगीलाई आग्रह गरे । जोगीले मानेनन्। बरू सम्झाइ बुझाइ गरे । कुनै पनि राजा मान्छे र सबै जीवजन्तुको पालक तथा संरक्षक बन्न सक्नुपर्छ’ भने । तर राजा रत्नपारखुले शिकार गर्ने र जनावरको मासु खाने छुट धर्मले दिएको धारणा राखे । ती योगीले उसो भए छाती, खुट्टा, मुख, पखेटा, र रगत मासु नभएको जनावरको शिकार गर’ भने । रत्नपारखु अक्कमक्क परे । काम, क्रोध, लोभ, मोह,अहंकार यी पाँच चिजको राजाले शिकार गर्न सक्नुपर्ने योगीले बताएपछि रत्नपारखुले ‘तिमी को हौ ?’ भनेर सोधे । योगीले भने, म गोरखनाथ हुँ। शिव भगवानको अवतार ।’
आफूसँग कुरा गरिरहेका जोगी गुरू गोरखनाथ भएको थाहा पाएपछि रत्नपारखु अचम्म परे । उनी गोरखनाथका चेला बने र दीक्षा पाएपछि सम्पूर्ण राजकाज र सम्पत्ति जनतालाई दिए । राजा रत्नपारखु रत्ननाथ योगी बने । गोरखनाथले रत्ननाथलाई एउटा अमृत पात्र (भाँडो) दिएर त्यसको नित्य पूजा गर्न सुझाए । त्यही समयमा शुद्ध जल जोहो गर्न रत्ननाथले यो इनार खन्न लगाएको विश्वास गरिँदैआएको छ ।
गाेपाल शर्मा
साभार : annapurna post