इटहरी उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठले तरहरामा रहेको बहुभाषी आधारभूत विद्यालयलाई २ थान कम्प्युटर वितरण गरेका छन् ।
उनले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयको उन्नति, प्रगति सँगै प्राविधिक शिक्षालाई अगाडि बढाउँनका लागि कम्प्युटर वितरण गरेको जानकारी दिए ।
‘यसअघि विद्यालयमा राजनीतिक खिचातानीका कारण यहाँको शिक्षाको अवस्था सुध्रन सकेन,’ उनले भने, ‘आगामी दिनमा यहाँको शिक्षाको अवस्था सुधार गर्नका लागि मेरो योगदान रहनेछ ।’
उनले विद्यालयमा आगामी दिनमा अाँफूले महत्वपूर्ण योगदान गर्नेमा जोड दिए ।
साथै सोही कार्यक्रममा तरहरा आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले समृद्धिको केन्द्रमा शिक्षालाई राख्नुपर्ने बताएका छन् ।
‘समृद्धि भन्ने बित्तिकै धेरै भौतिक पूर्वाधारका कुरा आउँछ, तर यो समृद्धि पाँच बर्ष पछि गर्दा पनि हुन्छ,’ थापाले सम्बोधनको क्रममा भने, ‘हामी समृद्धिको बहस गरिरहेका छौँ, अहिले हाम्रो बच्चाहरु विद्यालयमा छन्, तर हाम्रो बच्चाहरुको सिकाई अत्यन्त कमजोर छ । सुरुमा शिक्षाको अवस्था सुध्रनु आवश्यक छ ।’ उनले बर्तमान केपी ओली नेतृत्वको सरकारलाई व्यङ्ग्य गर्दै भने, ‘नेपाली मातृभाषा भएको देशमा ४५ प्रतिसत मात्र बच्चाले नेपाली बुझ्छन्, अर्थात् हाम्रो बच्चाहरुको सिकाई एकदमै कमजोर छ ।
शिक्षाको अवस्था कमजोर रहेको र यसको अवस्था सुध्रिए मात्र नेपाली जनताले चाहेको समृद्धि सम्भव हुने बताउँदै नेता थापाले भने, ‘हाम्रो शिक्षाको अवस्था यस्तै रह्यो भने अलिक पछाडि हवाइ अड्डा पनि बन्ला, रेल पनि आउला, पानीजहाज पनि आउला, तर हाम्रो बच्चाहरुको पढाईको आधार कमजोर भएपछि त्यसपछि रेल पनि खाली हुन्छ, पानीजहाज पनि खाली हुन्छ । त्यसैले हाम्रो समृद्धिको केन्द्रमा शिक्षालाई केन्द्रमा राख्नुपर्छ ।’
उनले शिक्षा क्षेत्रमा नीजि स्रोतको लगानी भएको भएपनि बच्चाहरुको अवस्था नबद्लिएको बताए । सिकाईलाई बदल्न सकेमा मात्र मानिसले खोजेको समृद्धि आउँने उनको तर्क थियो । केही समय अगाडि नेपाल सरकारले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार ५ कक्षामा अध्ययन गर्ने १ सय जना विद्यार्थी मध्ये ७२ जना विद्यार्थीले २५ नम्बरको विज्ञान नबुझ्ने, २२ नम्बरको गणित र २० नम्बरको अंगे्रजी पनि नबुझ्ने गरेको उनको तर्क थियो । थापाले नेपाली मातृभाषाको अवस्था पनि कमजोर रहेकाले यसको अवस्था सुधार्न लागि पर्नुपर्नेमा जोड दिए । साथै जन्मदिनको अवसरमा श्रेष्ठले विद्यालयलाई कम्प्युटर प्रदान गर्नु सराहनीय रहेको भन्दै प्रसंसा गरेका थिए ।
विद्यालयको इतिहाँस यस्तो छ –
२०५१ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्धघाटन गरेको बहुभाषी आधारभूत विद्यालयमा राई, लिम्बु र तामाङ भाषाको अध्ययन हुँदै आएको थियो । विद्यालयकी प्रधानाध्यापक विद्या राईका अनुसार सरकारको असहयोगका कारण बीचमा मातृभाषा अध्यापन हुन सकेन । अहिले विद्यालयमा १ सय १० जना विद्यार्थी रहेका छन् भने १० जना शिक्षक र कर्मचारी रहेका छन् । जसमध्ये तीन जना शिक्षकलाई मासिक दश हजारका दरले नीजि स्रोतबाट सहयोग उठाएर पारिश्रमिक दिईँदै आएको छ । ‘हामीले कक्षा ६ सम्म अध्ययन गराउँदै आएका छौँ,’ प्रधानाध्यापक राईले टाकुरा न्यूजसँग भनिन्, ‘हामीलाई अभिभावकहरुले अंग्रेजी माध्यमबाट अध्यापन गराउँनु भन्ने माग आएकाले अहिले अंग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएका छौँ ।’ उनले विद्यार्थीहरुले पुर्ण रुपमा निःशुल्क अध्ययन गर्दै आएको बताईन् । ‘यहाँ निम्न बर्गका विद्यार्थीहरु पढ्छन्, धेरैको त बाबुआमा पनि नभएको अवस्था छ,’ उनी भन्छिन्, ‘नेपाल सरकारबाट आर्थिक सहयोग नभएका कारण मातृभाषालाई अगाडि बढाउँन सकिएन ।’
पछिल्लो समय मातृभाषा लोप हुँदै गईरहेको अवस्थामा यो विद्यालयमा मातृभाषा अध्यापन भएमा भावी पुस्ताले आफ्नो संस्कृति बिर्सन नसक्ने स्थानीय सरोकारवालाको भनाई रहेको छ ।