काठमाडौं- १७ वर्ष लामो हेलिकोप्टर उडानको अनुभवसहित सन् २०१७, अगस्टबाट निजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्स ‘फिक्स्ड विङ’ उडानमा प्रवेश गर्यो। जसको प्रत्यक्ष फाइदा यात्रुलाई हुन पुग्यो। श्रीको प्रवेशसँगै आन्तरिक उडानमा ‘प्राइस वार’समेत सुरु हुन पुग्यो। जसको फाइदा एयरलाइन्स कम्पनीभन्दा आन्तरिक हवाई यात्रीलाई भयो। आन्तरिक उडानमा प्रवेश गरेको श्रीले सुरुवाती चरणमा ‘सिआरेजे टु हन्ड्रेड’ र ‘सेभेन हन्ड्रेन’ जहाजमार्फत् उडान सुरु गरेको थियो।
श्रीको प्रवेशसँगै सबैभन्दा पहिला काठमाडौं–धनगढी–काठमाडौं यात्रा गर्ने हवाई यात्रीलाई प्रत्यक्ष फाइदा भयो। श्रीले उडान गर्नुभन्दा पहिलो धनगढीको हवाई भाडा ११ हजार रुपैयाँसम्म थियो। धनगढी उडानमा बुद्धको एकछत्र राज थियो।
नेपाल एयरलाइन्सले धनगढी उडान गर्ने भए पनि टिकट पाउन सक्ने अवस्था थिएन। नेपाल एयरलाइन्सका कर्मचारीले पनि बुद्धको जहाज फुल नुहँदासम्म टिकट नै छैनन् भन्दै ग्राहकलाई फर्काउने गर्दथे। त्यसको प्रत्यक्ष फाइदा बुद्ध एयरलाइन्सलाई नै थियो।
जब श्रीले ‘सिआरेजे सेभेन हन्ड्रेड’ जहाजमार्फत् धनगढी उडान सुरु गरेपछि हवाई भाडामा प्रतिस्पर्धा सुरु भयो। सुरुवाती चरणमै श्रीले ६ हजारको हाराहारी धनगढी–काठमाडौं र काठमाडौं–धनगढीको उडान सुरु गरेको थियो। त्यसको प्रत्यक्ष मारमा बुद्ध एयरलाइन्स पर्यो। बुद्ध भाडा घटाउन बाध्य भयो। हवाई भाडामा प्रतिस्पर्धा सुरु भएसँग दैनिक दुई उडान गर्दै आएको बुद्धले एउटा उडान कटौती गर्यो। जसको प्रत्यक्ष फाइदा यात्रुले पाए। पछिल्लो समय श्रीले ८० सिट क्षमताको जहाजबाट उडान सुरु गरेसँगै बुद्धले पुनः दैनिक २ उडान गर्ने गरी नयाँ तालिका सार्वजनिक गरिसकेको छ।
बुद्ध, यती र सिम्रिक एयरलाइन्सबीच प्रतिस्पर्धा चलिरहेको भैरहवामा पनि श्रीको प्रेवशसँगै हवाई भाडा ४० देखि ४५ प्रतिशत कम भइसकेको छ। भैरहवाको हवाई भाडा २ वर्ष अगाडिसम्म सरदर ५ हजार ५ सय रुपैयाँ थियो। तर, अहिले भैरहवा–काठमाडौं र काठमाडा–भैरहवा भाडा सरदर २८ सयदेखि ३८ सयको बीचमा रहेको छ। ४ वटा एयरलाइन्सको हवाई भाडामा प्रतिस्पर्धा सुरु भएसँगै उक्त रेसबाट सिम्रिक एयरलाइन्स बाहिरिसकेको छ।
धनगढी र भैरहवामा जस्तै ‘प्राइस वार’ नेपालगञ्जमा पनि सुरु भएको छ। नेपालगञ्जको हवाई भाडामा बुद्ध र यतीको सिन्डिकेट जस्तै थियो। अहिले दुई एयरलाइन्ससँगै श्री एयरलाइन्सले प्रतिस्पर्धा गरिरहेको छ। नेपालगञ्जको हवाई भाडामा अहिले ४५ सय देखि ५ हजारको रेटमा आइपुगेको छ। दुई वर्षअगाडिसम्म नेपालगञ्जको हवाई भाडा ७ हजारको हाराहारीमा थियो।
यसैगरी, पूर्वी नेपालका दुई गन्तव्यको भाडा पनि दुई वर्षकै अवधिमा ४० देखि ४५ प्रतिशतले घटिसकेको छ। भद्रपुर उडानमा श्रीको प्रवेश हुनअघि एकतर्फी हवाई भाडा ७ हजार ५ सयसम्म थियो। अहिले यो गन्तव्यको भाडामा पनि ४ हजारदेखि ४५ सयमा झरिसकेको छ।
यस्तै, गरी विराटनगरको हवाई भाडामा पनि अहिले ३ हजारदेखि ४ हजारको बीचमा छ। श्रीले उडान सुरु गर्नुअघि विराटनगर-काठमाडौंको भाडा ६ हजारदेखि ७ हजारको बीचमा थियो। अहिले विराटनगर उडानमा पनि ३ पक्षीय प्रतिस्पर्धा देखिएको छ। जसको प्रत्यक्ष फाइदा यात्रुले पाइरहेका छन्।
केही दिन अगाडिसम्म जनकपुर-काठमाडौं र काठमाडौं-जनकपुरको उडान भाडा ३ हजारको हाराहारीमा थियो। जनकपुरमा बुद्ध र यती नियमित उडान गर्दै आएका छन्। माघ ६ गतेदेखि श्रीले उडान गरेसँगै जनकपुरको भाडामा ५० प्रतिशतले घटेको छ। श्रीले २ हजार रुपैयाँमा उडान गर्ने उद्घोषसँग अन्य दुई एयरलाइन्सले १८ सय भाडा ताकेका थियो। तर, श्रीले १७ सयमै जनकपुर-काठमाडौं उडान गर्ने भएसँगै अहिले जनकपुरको भाडा पनि सरदर २ हजारमा झरिसकेको छ। यी त भए श्रीको उडानसँगै आन्तरिक हवाई उडानमा ‘प्राइस वार’ रहेका गन्तव्य।
यसबाहेक पनि थप दुई गन्तव्यमा ‘प्राइस वार’ हुने निश्चित भएको छ। श्रीले सिमरा र पोखराका पनि परीक्षण उडान सम्पन्न गरी नियमति उडानको अनुमति पाइसकेको छ। सिमरा उडानमा एत्रछत्र राज गर्दै आएको बुद्ध एयरले अब श्री एयरलाइन्ससँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। अहिले सिमराको हवाई भाडा २८ सयदेखि ३ हजार रुपैयाँसम्म छ। यो भाडा पनि श्रीको प्रवेशसँगै २ हजारको हाराहारीमा झर्ने आँकलन गरिएको छ।
काठमाडौं–पोखराको उडानमा पनि श्रीको प्रवेशले पुरानो हवाई भाडा उथलपुथल बनाउने निश्चित छ। अहिले पनि बिहानको उडानमा पोखराको हवाई भाडा सरदर २ हजारमा झरिसकेको छ। तर, पोखराबाट काठमाडौं आउने भाडा भने ४ हजारको हाराहारीमा छ। श्रीको प्रवेशसँगै काठमाडौं–पोखरा उडानको भाडामा खासै असर नगरे पनि पोखरा–काठमाडौं उडानमा भने हवाई भाडा घट्ने आँकलन गरिएको छ। अहिले बुद्ध, यती र सिम्रिकले पोखरामा उडान गर्दै आएका छन्। आन्तरिक उडानमा बुद्धसँग १४ वटा, यतीसँग १७ वटा (तारा एयरसहित) र श्रीसँग ६ वटा जहाज छन्। बुद्धसँग दुई साना जहाज छन् भने यतीसँग ४ साना जहाज छन्। श्रीसँग भने २ वटा ४२ सिट क्षमताका, २ वटा ७२ सिट क्षमताका र २ वटा ८० सिट क्षमताको जहाज छन्।
अहिले आन्तरिक वायुसेवा कम्पनीबीच विमान थपेर सेवा विस्तार गर्ने तीव्र प्रतिस्पर्धा देखिएको वायुसेवा कम्पनीहरूको भनाइ छ। धमाधम आधुनिक सुविधासम्पन्न ठूला जहाज भित्र्याउने प्रतिस्पर्धा जस्तै देखिएको श्री एयरलाइन्सका बजार व्यवस्थापक अनिल मानन्धर बताउँछन्। आन्तरिक उडानका जहाजकोको संख्या ५० भन्दा बढी पुगिसकेको छ। अझै केही जहाज थपिने क्रममा छन्। अबका दिनमा आन्तरिक उडान प्रतिस्पर्धी बन्न लागेको विमान सञ्चालक बताउँछन्।
तर, विमान सञ्चालक विमान थपिए पनि ९० प्रतिशत अकुपेन्सी रहेको दाबी गर्छन्। आन्तरिक उडानका यात्रु बढ्दै गएपछि विमान थपेको उनीहरूको तर्क छ। पछिल्लो समय हवाई यात्री बढिरहेका छन्। सन् २०१५ देखि निरन्तररुपमा हवाई यात्रु बढी रहेका छन्, सन् २०१९ मा पनि सन् २०१८ को तुलामा आन्तरिक हवाई यात्रा गर्ने यात्रुको संख्या ११ प्रतिशतले बढेको छ।
हवाई यात्रुको संख्या बढेपछि विमान कम्पनी सेवा विस्तारको होडबाजीमा उत्रिएका हुन्। साना विमानबाट उडान भरिरहेका कम्पनीले ठूला (धेरै सिट क्षमताका) विमान भित्र्याइरहेका छन्। यसले सिट संख्या अझ बढाएको छ। ‘केही वर्ष अघिसम्म सिजनमा १५ दिन अगाडि नै टिकट बुक गर्न पर्दथ्यो, पछि टिकट पाइँदैनथ्यो,’ मानन्धर भन्छन्, ‘अहिले त्यस्तो अवस्था अन्त्य भएको छ, प्रतिस्पर्धा बढेपछि सिजनमा पनि टिकट पाइन थालेको छ।’
हवाई भाडा घटाउने प्रतिस्पर्धा बढ्नु यात्रुका लागि राम्रो हो। यात्रु बढ्नासाथ महँगो र यात्रु घट्नासाथ सस्तोमा टिकट बिक्री गर्ने प्रवृत्ति प्रतिस्पर्धाले केही घटाएको छ। तर, ‘फेयर वार’ चलेमा कम्पनी समस्यामा पर्ने देखिन्छ। आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओगट्न सफल बुद्ध एयरको बजार हिस्सा ३ वर्षको बीचमा ६५ प्रतिशतबाट घटेर ५०.९ प्रतिशतमा झरेको छ।
तर, सन् २०१८ को तुलनामा सन् २०१९ मा भने बुद्धको बजार हिस्सा साढे ३ प्रतिशत बढेको छ। सन् २०१८ मा बुद्ध एयरको बजार हिस्सा ५६ प्रतिशतबाट घटेर ४६ प्रतिशतमा झरेको थियो। तर, बुद्ध एयरले वार्षिक औसत ९० प्रतिशत अकुपेन्सीमा आफ्ना उडिरहेका विमानमा यात्रु घट्दै जाने अवस्था देखिएको बताएको छ। हवाई भाडा घटेमा यात्रु संख्या बढ्ने सम्भावना पनि उत्तिकै देखिने बुद्ध एयरको भनाइ छ।
आन्तरिक उडानका विमान थपिएका छन्। तर, गन्तव्य थपि भएका छैनन्। सरकारले विभिन्न ठाउँमा विमानस्थल निर्माण गर्ने बताए पनि प्रगति देखिएको छैन। आन्तरिक उडानमा सबैभन्दा बढी यात्रु चाप भैरहवा, विराटनगर, धनगढी, नेपालगञ्ज, पोखरा, सिमरा, भद्रपुर र लुक्लामा छ। यसबाहेक नेपालगञ्ज विमानस्थललाई आधार बनाएर रारा, सिमिकोटलगायत कर्णाली अञ्चलमा केही सीमित कम्पनीले उडान भरिरहेका छन्। विमान कम्पनीका लागि माउन्टेन फ्लाइट पनि राम्रो आम्दानी हुने उडान बनेको छ।
ठूला विमान कम्पनीबीच विमान थप्ने प्रतिस्पर्धाले बजारमा अस्वस्था प्रतिस्पर्धा बढ्न सक्ने समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए। ‘ठूला कम्पनीले विमान थप्दा यात्रुलाई त फाइदा हुन सक्छ,’ उनले भने, ‘तर ठूला विमान कम्पनीले प्रतिस्पर्धाको नाममा बजार कब्जा गरेमा साना कम्पनी विस्थापित हुन सक्छन्।’