हरेक दिन २ अर्ब रेमिट्यान्ससँगै दुईभन्दा बढी शव भित्रन्छ । ५ वर्षमा ४ हजारभन्दा बढी नेपाली युवाले विदेशमा रोजगारी गर्न जाँदा ज्यान गुमाए, ५ सय ४५ अर्काको देशको जेलमा यातना भोगिरहेका छन्, तीमध्ये २५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
२५ कामदार विदेशकै अस्पतालको कोमामा मृत्युसँग लडिरहेका छन्, ३८८ कामदार कहाँ हराए कसैलाई पत्तो छैन। रेमिट्यान्सले देश चलाउन पल्केका राज्य सञ्चालकहरू युवालाई वैदेशिक रोजगारको भुंग्रोमा धकेलिरहेका छन् ।
पछिल्लो पाँच वर्षमा वैदेशिक रोजगारीमा गएका ४ हजार १ सय ५३ जना कामदारले विदेशी भूमिमा ज्यान गुमाएका छन् । पैसा कमाएर आफ्नो र परिवारको जीवन सुखमय बनाउने सपना बोकेर गएका उनीहरू शव बनेर फर्किएका हुन् ।
त्यसको बदलामा राज्यले भने पाँच वर्षमा ३६ खर्ब ११ अर्ब रेमिट्यान्स भित्र्याएको छ । यसलाई आधार मान्दा हरेक दिन वैदेशिक रोजगारमा गएका कम्तीमा दुई युवाको शव मुलुकमा भित्रन्छ । त्यसको बदलामा राज्यले दिनको औसत २ अर्ब रेमिट्यान्स भित्र्याइरहेको छ ।
५ वर्षको अवधिमा नेपालबाट २१ लाख ७२ हजार ५ सय १० युवा विभिन्न मुलुकमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आव ०७५/७६ मा मात्रै ५ लाख ८८ हजार ८२८ नेपाली काम गर्न विभिन्न मुलुक गएका छन् । सो अवधिमा ८ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रिँदा ७ सय ५३ कामदारले ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मलेसिया नेपाली कामदारको पहिलो गन्तव्य हो । र, वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढी युवाको मृत्यु हुने मुलुक पनि मलेसिया नै हो । विगत ५ वर्षमा मलेसियामा मात्रै १ हजार ५ सय ३७ कामदारले ज्यान गुमाएका छन् । यो अवधिमा ३ खर्ब ९२ अर्ब रुपैयाँ रेमिट्यान्स मलेसियाबाट आएको छ ।
त्यस्तै, साउदी अरेबियामा १ हजार १ सय ४७ जना, कतारमा ७ सय ७, युएईमा ३ सय ३७, कुवेतमा १ सय ४५, कोरियामा ७६, बहराईनमा ४८ र जापानमा १२ जनाले ज्यान गुमाएको तथ्यांक वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको छ ।
पाँच वर्षको अवधिमा यी ८ मुलकमा ४ हजार ९ जना कामदारले ज्यान गुमाएमा छन् । ती मुलुकबाट सरकारले २१ खर्ब ४६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याएको छ ।