नारायण गाउँले
के कहिल्यै सोच्नुभएको छ ? हरेक गाउँ र वडामा नेकपा र कांग्रेसका दर्जनौं यस्ता नेता-कार्यकर्ता छन् जसले न जागिर खान्छन् न कुनै व्यवसाय गर्छन् । तर तिनको जीवनशैली आम जनताको भन्दा धेरै माथि छ । ती हरेक कार्यक्रम र भेलामा पुग्छन्, भाषण गर्छन्, देशविदेश डुल्छन् र सधैँ महँगा होटल या रेस्टुरेन्टमा भेटिन्छन् । तपाईं एक कट्ठा जग्गा जोड्न बर्सौँ मिहिनेत गर्नुहुन्छ, अरब पस्नुहुन्छ तर ती हेर्दा हेर्दै अग्लो घर ठड्याउँछन् र गाड़ी चढ्छन् । तपाइँ गाड़ीभाड़ा बढेकोमा चिन्तित हुनुहोला, ती प्लेनमा यात्रा गर्छन् । मन्त्री, सांसद या मेयर भेट्न तपाईंलाई गाह्रो होला तर ती ‘बड़ीगार्ड’ झैँ जहाँ पनि साथ हुन्छन् । तपाईंकहाँ भोट माग्ने बेला पनि मुश्किलले आउने ‘भिभिआईपी’हरू तिनको बिहेवर्तबन्धदेखि सटर उद्घाटनसम्म भ्याउँछन् । तपाईंलाई फीस तिर्न साह्रो होला, तर तिनका सन्तान वरपरको सबैभन्दा महँगो स्कुल जान्छन् ।
के तपाईंले कुनै ठेकेदारको फोटो गाड़ीको शीसामा टाँस्नुअघि ती ‘नेता’को आयस्रोत र जहिले उकालो लाग्ने सम्पत्तिबारे औँला उठाउनुभएको छ ? द्वन्द्व, लोडसेडिंग, भ्रष्टाचार, कमिशनतन्त्रजस्तो कठीन परिस्थितिमा समेत उद्योगधन्दा चलाएर रोजगारीसहित देशको अर्थतन्त्र धराशायी हुन नदिने उद्योगव्यवसायीलाई करछलुवा भनेर गाली गर्न सजिलो छ तर सांसद् हुँदा तलबले खान र गाउँ जान पुग्दैन भनेर संसदमैं रुनेहरू पूर्वसांसद बनेर पनि कसरी लग्जरियस जीवन बिताउँदै छन् भनेर सोध्नुभएको छ ? सम्पत्ति विवरणमा एक कट्ठा जग्गा र दुई तोला सुन देखाउनेहरू सामान्य रोगको उपचार गर्न अमेरिकादेखि स्विट्जरलैंडसम्म सपरिवार कसरी पुग्न सक्छन् भनेर सोध्नुभएको छ ?
सधैँ ठेक्का कसले पारिरहन्छ भन्ने पनि हामी धेरैलाई राम्ररी थाहा छ । एनसेलजस्ता कम्पनीले हाम्रा नेताको फोटो पत्रिकाका फ्रन्ट पेजदेखि सड़कका पोलपोल सम्म टाँगिदिनुपर्ने, चुनाब खर्चदेखि जो सत्तामा आउँछ उसलाई ठूलो नजराना बुझाउनुपर्ने कुरो ‘ओपन सिक्रेट’ भएको हामीलाई थाहै छ । कर तिरेन भनेर आज बम पड्काउने र निर्दोष नागरिकको ज्यान लिने कुनै दलले भोलिपल्ट करोडौं चन्दा मागेर रसिद पठाउँछ भन्ने पनि हामीलाई थाहा नै छ । बारम्बार ब्ल्याक लिस्टमा परे पनि फेरि ठूलो ठेक्का पप्पू कन्स्ट्रक्शनले नै पाउँछ भन्ने पनि हामी धेरैलाई थाहा छ । खासमा देशको ढुकुटी पुग्नुपर्ने रकम तिनै नेता कार्यकर्ता पाल्न खर्च भइरहेछ ।
विश्वभर राम्रो ख्याति कमाएका कम्पनी र ठेकेदार पनि हाम्रोमा कमिशनको भारले गर्दा काम सकिनै लाग्दासमेत छोडेर हिँड्नुपर्ने बाध्यता छ ।
उद्योगी या ठेकेदारलाई दोष दिन सजिलो छ । तर, एउटा ठेक्का पाउनेदेखि सम्पन्न गर्दासम्म उसले खरदारदेखि पार्टीका सरदारसम्मलाई बुझाउनुपर्ने कमिसनबारे सोच्ने फुर्सत हामीलाई छैन । असी हजार तलब बुझ्ने प्रचण्डले एक लाखको घरभाड़ा कसरी तिर्छन् भन्ने प्रश्न गर्नुभन्दा शारदाप्रसाद अधिकारीको फोटो टाँस्न सजिलो पनि छ । क्रिकेट खेलेर कमाए स्रोत देखाउनुपर्ने तर राजनीति गरेर कमाए छुट हुने अवस्था रहेसम्म देशको उन्नति यस्तै त होला नि !